बीरगञ्ज–जीतपुर –सिमरा कोरिडोर परियोजनामा अपनत्व खोज्दै स्थानीय तह

डिसी नेपाल
३ चैत २०७७ १९:२७

काठमाडौं। सरकारले एसियाली विकास बैंक (एडीबी)को सहयोगमा मुलुककै प्रमुख व्यापारिक केन्द्र बीरगञ्जमा महत्वपुर्ण कोरिडोर परियोजना संचालनको तयारी गरेको छ। बीरगञ्ज–जीतपुर–सिमरा कोरिडोर नाम दिइएको उक्त परियोजना सफल भए त्यस क्षेत्रको आर्थिक विकासमा कायापलट हुने सरोकारवालाहरुको भनाइ छ।

‘कोरिडोर योजनाको पहिचान र विकास’ सम्बन्धमा काठमाडौंमा आयोजित एक दिने कार्यशाला गोष्ठीमा सरोकारवाला निकायका प्रतिनिधिहरुले तीन तहकै सरकारबीच समन्वय गरेर उक्त परियोजनालाई सफल बनाउनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय सहरी नीति २०६४ ले लिएको उद्देश्यलाई आधार मानी तयार गरिएको राष्ट्रिय सहरी विकास रणनीतिमा प्राथमिकता साथ राखिएको कोरिडोर रणनीतिक कार्यक्रमलाई नेपाल सरकारले समावेश गरेको छ।

पन्ध्र्रौ योजनामा समेत सरकारले यो परियोजनालाई रुपान्तरकारी योजनाको रुपमा प्राथमिकताका साथ अघि सारेको छ।

कार्यक्रममा बोल्दै सहरी विकास मन्त्री प्रभु साहले बीरगञ्ज मुलुककै प्रमुख आर्थिक केन्द्र भएकाले त्यस क्षेत्रको विकासलाई अघि बढाउन सके मात्र समग्र मुलुकको विकासमा थप टेवा पुगी सम्बृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुने बताए।

बीरगञ्ज–जीतपुर–सिमरा कोरिडोर परियोजनालाई योजनावद्ध ढंगले अघि बढाउन जरुरी रहेको भन्दै उनले त्यसका लागि केन्द्र सरकार आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताए।

मन्त्री साहले भने, ‘योजना सही भयो भने मात्र परिणाम पनि सही हुन्छ त्यसैले बस्तुवादी भएर कार्यक्रम कार्यान्वयनमा लैजान म सवैलाई सुझाव दिन्छु।’
कार्यक्रममा बीरगञ्ज महानगरपालिकाका मेयर बिजय सरावगीले उक्त कोरिडोरको विकासले नै मुलुकको समग्र आर्थिक बिकासलाई प्रोत्साहित गर्ने भएकाले यसको सफलताका लागि सवै पक्षको सहयोग र समन्वय महत्वपुर्ण हुने धारणा राखे।

स्थानीय सरकारसँग साझेदारी नगरेसम्म कुनैपनि परियोजना सफल हुन नसक्ने भन्दै उनले तीन तहकै सरकारबीच समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए।
पोखरिया नगरपालिकाका मेयर दीप नारायण रौनियारले सडक पूर्वाधारको विकाससँगै नागरिकको सामाजिक र आर्थिक विकासमा पनि ठोस कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालले कोरिडोरको सिमांकन गर्दा स्थानीय तहहरुबीच समन्वय गर्नुपर्ने बताए।

जीतपुर सिमराकी उपप्रमुख सरस्वती देवी चौधरीले भविष्यमा हुने सक्ने सवारी चापलाई मध्यनजर गरी कोरिडोर निर्माणको योजना बनाउन सुझाव दिइन्।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले सवैको अपनत्व हुने गरी परियोजना संचालनको खाकालाई मूर्तरुप दिइने बताए। महानिर्देशक प्याकुरेलले सरोकारवाला निकायबाट आएका सुझावलाई समेटेर कार्ययोजना तयार पारिने जानकारी दिए।

सहरी विकास तथा भवन निर्माण विभागका उप–महानिर्देशक कुमार घिमिरेले परियोजना सफलताको शुभकामना दिँदै सवै पक्षको सहयोगले मात्र कार्यक्रम कार्यान्वयनमा लैजान सकिने धारणा राखे।

सहरी विकास तथा भवन निर्माण विभाग, क्षेत्रीय आयोजना समन्वय कार्यालयले गरेको उक्त कार्यक्रममा आयोजनाका निर्देशक सुरेन्द्रमोहन श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *