चैतको हाहाकारमा मेलम्चीकाे पानी १६ देखि काठमाडाैंबासीकाे धाराधारामा

उपेन्द्र शाही
९ चैत २०७७ ६:२०

काठमाडौं। थोरै यस्ता विषय हुन्छन् जसमा सबै उमेर समूहका मानिसहरुको चासो हुन्छ। अहिले बच्चादेखि वृद्धसम्म मेलम्चीको पानीको विषयमा जानकार छन्। केही महिनाअघिसम्म कसैले मेलम्ची आउँदै छ भन्दा मानिसहरु गफै त हो भनेर उडाउँने गर्दथे। मेलम्चीको पानी काठमाडौं आएपछि भने पत्याउन नसक्ने तिनै मानिसहरु पानी धारामा आउने दिन गन्दै बसेका छन्।

मेलम्चीले पानीको काकाकुल भोगिरहेका काठमाडौंवासीमात्रै होइन सिंगो देशलाई हर्षित बनाइरहेको छ। बहुप्रतिक्षित मेलम्चीको पानी २२ वर्षपछि गत फागुन २२ गते काठमाडौं आइपुगेको थियो। काठमाडौं पुगेको २४ दिनपछि अर्थात चैत १६ गतेदेखि मेलम्चीको पानी धारा धारामा पुग्दै छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले थोरै परिमाणमा भएपनि दैनिकरुपमा पानी वितरण गर्नेगरी काम भइरहेको बताएको छ। केयूकेएलका प्रवक्ता प्रकाश राईले चैत १६ गतेदेखि मेलम्चीको पानी धारा धारामा आउने जानकारी दिए।

‘चैत १६ गतेदेखि पिउन मिल्ने गरी पानी सबैका घर घरमा उपलब्ध हुने छ। अहिले हामी पुरानो वितरण प्रणालीमार्फत नै पानी धारा धारामा पठाउने रणनीतिमा छौं। धेरै ठाउँमा पाइपहरु बिछ्याउने र पुरानो वितरण प्रणालीलाई चुस्त दुरुस्त बनाउने काम भइरहेको छ’, उनले भने।

उनले काठमाडौं उपत्यकामा विच्छ्याइएका पाइपहरु पुराना भएकोले पानी चुहावट समस्याको रुपमा रहेको बताए। उनले भने, ‘काठमाडौं उपत्यकामा विच्छ्याईएका खानेपानीका पाइपहरुमा अहिले पनि चुहावटको समस्या विद्यमान छ। सम्भावित समस्यालाई ध्यानमा राखी निर्माण व्यवसायीहरुलाई तयार अवस्थामा राखेका छौं। पाइप जोड्ने र य्रापिड रेस्पोन्स टीम अहिले तयार अवस्थामा छ।’

सुरुमा सबै १७ करोड लिटर पानी धारामा आउने छैन। कतै पुराना पाइप त कतै पुराना वितरण प्रणाली भएकोले चुहावटको सम्भावना छ। त्यसैले समस्याको समाधान गर्दै विस्तारै मात्रै सबै १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा बाँडिने छ। थोरै परिमाणमा पानी आए पनि सबैतिर पानी वितरण गर्ने योजना छ

पहिलो चरणको मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आएको आयोजना निर्देशनालय कार्यलयले जनाएको छ। तर, सुरुवातमा भने थोरै परिमाणमा मात्र पानी वितरण केन्द्रहरुमा पठाइने तयारी गरिएको आयोजनाका उपनिर्देशक उज्जवल प्रजापतिले जानकारी दिए।

‘सुरुमा सबै १७ करोड लिटर पानी धारामा आउने छैन। कतै पुराना पाइप त कतै पुराना वितरण प्रणाली भएकोले चुहावटको सम्भावना छ। त्यसैले समस्याको समाधान गर्दै विस्तारै मात्रै सबै १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा बाँडिने छ। थोरै परिमाणमा पानी आए पनि सबैतिर पानी वितरण गर्ने योजना छ’, उनले भने।

नयाँ बनाइएको वितरण केन्द्र एउटा मात्रै

खुमलटार बाहेक अरु सबै पुराना वितरण केन्द्रबाट पानी वितरण गरिने छ। बानेश्वर, मिनभवन, बाँसबारी, महाँकाल, बालाजु, लगाएत १० वटा वितरण केन्द्रबाट पानी एकसाथ धारामा आउने छ। एक घण्टामात्रै भए पनि सबैलाई पुग्ने गरी सबैतिर पानी समानरुपमा वितरण गरिने आयोजनाले जनाएको छ। थोरै परिमाणमा भएपनि पानी दैनिक हिसाबमा आउने छ।

हाल दैनिक आठ करोड लिटर पानी वितरण गर्दै आएको केयूकेएलले बताएको छ। जबकी उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ। मेलम्चीको पानी उपभोक्ताका धारामा पुगेपछि पानीको समस्या समाधान हुने विश्वास गरिएको छ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आएको छ। त्यही अनुरुप सुन्दरीजलमा निर्माण सम्पन्न साढे ८ करोड लिटर क्षमताका दुई पानी प्रशोधन केन्द्र (रिजर्भवायर) बाट पानी प्रशोधन गरी वितरण गर्न लागिएको छ।

त्यहाँबाट पानी वितरण केन्द्र ट्याकींहरु हुँदै उपभोक्ताका धारामा पुग्ने छ। यो आयोजनाबाट झन्डै १३ लाख बासिन्दा अर्थात् एक लाख ५८ हजार घर परिवार प्रत्यक्ष लाभान्वित हुने अनुमान छ।

दशकौंदेखि पानीको हाहाकार खेप्दै आएका मानिसहरुको खानेपानी समस्या समाधान गर्ने मेलम्ची आयोजनाको उद्देश्य हो। मेलम्ची खानेपानी आयोजनाको कार्यान्वयन तीन चरणमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। यसका लागि मेलम्ची नदी डाइभर्सन सुरुङ तथा १७ करोड लिटर दैनिक क्षमता भएको सुन्दरीजल पानी प्रशोधन केन्द्र पहिलो चरणमा सम्पन्न भएर सञ्चालनमा आउने क्रममा छ।

राष्ट्रिय गौरवको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको मेलम्ची आयोजना प्रस्तावित छ। दोस्रो चरणमा याङ्ग्री र लार्के अन्य खोलाको पानी पनि मिसाएर राजधानीमा वितरण गर्ने योजना रहेको छ।

मेलम्ची खानेपानी आयोजना एक बृहत अन्तर जलाधार भएको खानेपानी आयोजना हो। सिन्धुपाल्चोक जिल्ला भई बग्ने इन्द्रावती नदीका सहायक नदीहरू (मेलम्ची, याङ्ग्री तथा लार्के) को पानीलाई सुरुङका माध्यमबाट काठमाडौँ उपत्यका ल्याई वितरण गर्ने उद्देश्य छ। सुरुमा विद्युत पनि उत्पादन गर्ने भनिएता पनि काम अगाडि बढेको छैन।

यस्तै अन्य दईुवटा नदीहरूलाई डाइभर्सन गरी मेलम्ची नदीको हेडवर्कस भन्दा केही माथी जोड्नका लागी थप दईुवटा हेडवर्कस तथा सरूङ निमार्ण गरिने छ। सुन्दरीजलमा ३ सय ४० करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्रको निर्माण क्रमशः दोस्रो र तेस्रो चरणमा हुने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *