स्वीकृति कन्सल्टेन्सीको धन्दा म्यानपावरको, विभागद्वारा दुई कन्सल्टेन्सीमा छापा

डिसी नेपाल
११ चैत २०७७ २१:५१

काठमाडौं। वैदेशिक रोजगार विभागले एकैदिन पुरानो बानेश्वर चोकस्थित ग्लोबल इन्फो एजुकेशन एण्ड भिसा सर्भिस प्रालि र डिल्लीबजारस्थित नेक्स्टहब फरदरिङ्ग एजुकेशन अब्रोड गरी दुई वटा एजुकेशनल कन्सल्टेन्सीमा छापा मारेको छ।

वैदेशिक रोजगारीका लागि विभागबाट अनुमतिपत्र नलिइकन खोलिएका एजुकेशनल कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारसम्बन्ध क्रियाकलापहरु गरिराखेको अर्थात् रोजगारीमा पठाइदिन्छु भनेर रकम उठाइराखेको भन्ने सूचनाका आधारमा विभागले बुधबार ग्लोबललाई सिल गर्यो भने नेक्स्टहबमा छापा मारेको हो।

विभागका मातृका सापकोटा, कपिलनाथ पौडेल, हेमराज पाण्डे, नरेश रोकाय, सुवर्ण शाक्यलगायतको अनुगमन टोलीले अवैधानिक गतिविधि गरेका उक्त दुबै एजुकेशनल कन्सल्टेन्सीलाई कारवाहीको प्रक्रिया अगाडि बढाएको छ।

विभागको टोली ग्लोबलमा पुग्दा त्यहाँका संचालकलगायत एकछिन अघि ताला लगाई फरार भएका थिए। टोलीले फोन गरी आउन आग्रह गर्दा उनीहरुले विभागमा नै आउछौं भने। टोलीसँग क्यामरा भएकाले नआउने उनीहरुले फोनमार्फत जानकारी गराए।

ग्लोबलले वैदेशिक रोजगारमा विदेश मुलुक पठाउने भनि सर्वसाधारण व्यक्तिहरुबाट मोटा रकम असुल गरी अवैध तरिकाले गैर कानुनी कार्य गरेको भेटिएको छ। विभागले ग्लोबललाई सिल गर्नुभन्दा अगाडि मुचुल्का बनाउँदै गर्दा त्यहाँ वैदेशिक रोजगारीमा जानको लागि कोही पैसा बुझाउन त कोही डकुमेन्ट बुझाउन धमाधम आइराखेका थिए।

त्यसक्रममा कामदार भिसामा क्रोएसिया जानको लागि चारजनाको समुह पासपोर्ट र ५० हजार रुपैयाँ बुझाउन त्यहाँ आएका थिए। उनीहरुका अनुसार ग्लोबलले पहिले पोखरामा थियौं, अहिले यहाँ९काठमाडौं० आयौं भनेर फोन गरेर उनीहरुलाई अफिसको ठेगाना दिएको रहेछ। उनीहरुले भने, ‘यो कन्सल्टेन्सीमा वर्किङ भिसामा पनि पठाउने भनेर खुलाएकोले पनि हामी यहाँ आएको हो।’

एकैछिन पछि कैलालीका दिपेन्द्र गौतम पनि कैलालीकै उनका साथीले कामदार भिसामा पोल्याण्ड जानको लागि ५० हजार बुझाइसकेको र बाँकी डकुमेन्ट पठाएकोले बुझाउन त्यहाँ आए। उनका अनुसार पोल्याण्डको लागि एकजना बराबर सात लाख लिने गरेको र ग्रुपमा आएमा २५ देखि ३० हजारसम्म डिस्काउन्ट गरिदिने कुरा भएको रहेछ। उनले भने, ‘यिनीहरुले तलब ७५० यूरो हुन्छ भनेका थिए। त्यसमा ५० यूरो ट्याक्स काट्छ रे। अनि हप्ताको दुई दिन बिदा र ओभरटाइम काम गर्न पाइन्छ भनेका छन्। र, साथीले फेसबुकमा हालेको सूचनाको आधारमा अप्लाई गरेको हो।’

त्यसैसमयमा दोलखाबाट दाईको डकुमेन्ट बुझाउन अर्का एक युवा आए। क्रोएसियाका लागि दुई जना दाईले ५०–५० हजार रुपैयाँ बुझाइसकेको उनले बताए। उनका अनुसार एक जनाले ६ लाख बुझाउनु पर्ने रहेछ। उनले भने, ‘बिहेदर्ता, आमा बुबाको नागरिकताको फोटोकपी मगाएका थिए, त्यही बुझाउन आएको हो। यिनीहरुले सबैभन्दा राम्रो कम्पनी यही हो भनेका थिए त।’

त्यसैगरी, डिल्लीबजारको नेक्स्टहबमा पनि अनुगमन गर्ने क्रममा कामदार भिसामा विदेश पठादिने एक युवासँग परामर्श गर्दै गरेको भेटिएको थियो। बाग्लुङका दुर्गा नारायण छन्त्याललाई यूरोपियन मुलक लिथुनिया पठाइदिन उक्त कम्पनीले ७० हजार रुपैयाँ भने लिइसकेको रहेछ। बाँकी सात लाख ३० हजार भने भिसा आएपछि बुझाउने कुरा भएको छन्त्यालले बताए।

विभागका शाखा अधिकृत तथा टोलीका प्रमुख मातृका सापकोटाले विभागको निर्देशन अनुसार ग्लोबललाई सिल गरेको बताए। उनले भने, ‘थप अनुसन्धान गर्छौ। उहाँहरु विभागमा आएपछि मात्र सिल खोल्ने र त्यहाँ प्रमाणहरु केके छन्, उहाँको गतिविधिहरु हेर्ने छौं। त्यसपछि अनुसन्धानबाट जे भेटिन्छ त्यहीनुसार कारवाही प्रक्रिया अगाडि बढ्छ।’ उनले नेक्स्टहबले पनि कामदार भिसामा विदेश पठाउने काम गरेकोले कारवाही गरिने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *