कोरोना बीमामा आर्कषण घट्दो, ५३ हजार बढीले पाए भुक्तानी

उपेन्द्र शाही
१२ चैत २०७७ ६:२७

काठमाडौं। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणदर बढे पनि कोरोना बीमा गर्नेको संख्या भने दिन प्रतिदिन घट्दो अवस्थामा छ। कोभिड १९ संक्रमण बढ्न सुरु भएपछि गत बैशाख ४ गते कोरोना बीमा सम्बन्धी नीति ल्याइएको थियो।

त्यसपछि लगत्तै हप्ता दिन भित्रै हजारौँको संख्यामा बीमा आवेदन पर्यो। त्यसपछि एक्कासी भाइरसको संक्रमण दर तिव्र विस्तार भएपछि बीमा कम्पनीहरू आत्तिएपश्चात उक्त बीमासम्बन्धी नीतिलाई भदौ २८ गते परिमार्जन गरियो। त्यसपछि भने कोरोना बीमा गर्ने मान्छेहरुको संख्या निरन्तर ओरालो लागेको देखिन्छ।

त्यतिखेर ६ सय रुपैयाँ प्रिमियम बुझाएर संक्रमित पुष्टि भएको कागजात देखाएमा एकमुष्ट १ लाख पाउने सर्तसहित थुप्रैले बीमा गराएका थिए। तर, साउनदेखि देशमा संक्रमितहरूको चाप बढ्न थालेपछि कोरोना बीमाका सर्तहरू कडा बनाइए। त्यसपछि भने कोरोना बीमा गर्ने मान्छेहरुको संख्या निरन्तर ओरालो लागेको देखिन्छ। सर्तहरू परिवर्तन गरिएपछि बीमा गराउनेहरूले सुरुको २५ हजार एकमुष्ट पाए पनि बाँकी चाहिँ औषधाेपचारका बिल भर्पाइ बमोजिम हुने बताइएको छ।

सुरुमा बीमा गर्न झन्झट हुने, त्यसको भुक्तानी पाउन कठिन र लामो समय लाग्ने भएकोले बीमा गर्नेको संख्या उल्लेख्य घटेको हो।
कोरोना बीमाको दावी भुक्तानीका लागि प्रक्रिया भन्झटिलो भएकोले मान्छेहरुको आर्कषण सोचे अनुसार देखिँदैन।

झन्झटिलो प्रक्रिया र बीमा कम्पनीहरुमा आवेदन दिएपनि लामो समयसम्म दावी भुक्तानी लिन नसकेर नयाँ मानिसहरुको कोरोना बीमा प्रतिको आर्कषण घट्दो रहेको बीमा समिति पनि स्वीकार्छ।

नेपालमा हालसम्म एक लाख ७० हजारभन्दा बढीले कोरोना बीमा गरेका छन्। ती मध्ये कोरोना बीमा पोलिसी बिक्री गरेका नेपालका २० वटा निर्जिवन बीमा कम्पनीमा ८६ हजार ६ सय १२ जनाले बीमा माग दावी गरेका छन्। ती मध्ये हालसम्म ५३ हजार ३ सय २४ जनाले ५ अर्ब १४ करोड भन्दा बढी रकम भुक्तानी पाएका छन्।

यसमध्येका बाँकी ३३ हजार २ सय ८८ जनाको बीमा भुक्तानी बाँकी रहेको बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए। यो संख्यामा केहीको भुक्तानी प्रक्रिया चलिरहेको छ भने केहीको आवेदन नै रद्द भएको अवस्था छ।

यस्तो छ कोरोना बीमाको दावी भुक्तानी प्रक्रिया

१) सबैभन्दा पहिले कोरोना संक्रमण भएको शंका लग्नासाथ नेपाल सरकारद्वारा मान्यताप्राप्त ल्याबमा कोरोना भाइरस पुष्टि हुने पिसिआर टेष्ट गराउने।

२)  कोरोना भाइरस पोजेटिभ भएको पिसिआर रिपोर्ट प्राप्त हुने वित्तिकै आफूले बीमा गरेको सम्बन्धित कम्पनीमा जानकारी गराउने ।

३)  घरैमा आईसोलेशनमा बस्ने वा गाह्रो, अप्ठेरो भएको अवस्थामा अस्पताल जाने ।

४)  घरैमा आईसोलेशनमा बसेको अवस्थामा स्थानीय निकाय, वडा कार्यालय, गाउँपालिका कार्यालयमा टेलिफोन गरी आफ्नो अवस्थाबारे जानकारी गराउने ।

५)  कोरोना नेगेगटिभ रिपोर्ट आएपछि अस्पताल नगई घरैमा बसेर निको भएमा स्थानीय तहबाट होम आईसोलेशनमा बसेको प्रमाणित गराई एउटा पत्र लिने ।

६) अस्पतालमा बसेको भए, अस्पतालको डिस्चार्ज पेपर लिने ।

७)  कोरोना बीमा गरिएको बीमा कम्पनीमा सम्पर्क गरी कोरोना बीमा दावी फारम भर्नुपर्दछ।

८)  कोरोना बीमाको दावी फारामका साथ कोरोना पोजेटि भएको प्रमाणित हुने पिसिआर रिपोर्ट र स्थानीय निकायबाट होम आईसोलेशनमा बसेको सक्कल कागजात, अस्पतालमा बसेको भए डिस्चार्ज पेपरको फोटोकपी, नागरिकताको फोटोकपी र कोरोना बीमा पोलिसीको फोटोकपी सहित बुझाउनु पर्दछ ।

९)  उल्लेखित सम्पूर्ण कागजात बुझाएपछि बीमा कम्पनीको दावी भुक्तानी शाखामा नियमित सम्पर्कमा रहने।

उल्लेखित कागजात बुझाएको पाँच दिनमा बीमा कम्पनीले सम्पूर्ण विवरण बीमा पुलमा पठाउनेछ। बीमा पुलले पाँच दिनभित्र प्रमाणिकरण गरी सम्बन्धित कम्पनीलाई भुक्तानीको लागि निर्देशन दिनेछ र कम्पनीले त्यसरी निर्देशन पाएको दुई कार्यदिनभित्र डिस्चार्ज भौचरमा हस्ताक्षर गराई चेक वा बैंक खातामार्फत भुक्तानी गर्ने व्यवस्था मिलाइएको बीमक संघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *