विराजको सन्यास (फोटो फिचर)

डिसी नेपाल
१६ चैत २०७७ २०:४१

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सफल कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । दशरथ रंगशालामा सोमबार भएको थ्री नेसन्स कपको फाइनलपछि विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका हुन् । अन्तिम खेलमा उपाधि जित्दै उनी अन्तर्राष्ट्रिय खेलबाट बिदा भएका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कपको फाइनलमा बंगलादेशविरुद्ध खेलको ८९ औं मिनेटमा मैदान प्रवेश गरेका ३० बर्षीय विराजले घरेलु दर्शकमाझ अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् । उनी त्रिदेभ गुरुङको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले निर्धारित समयको १ मिनेट र थप गरिएको समयको अन्तिम ६ मिनेट नेपाली टोलीको कप्तानी गरे । खेल सकिएपछि उनलाई टिमका अन्य खेलाडीले काँधमा बोकेर मैदान परिक्रमा गराएका थिए ।

एक वर्षभन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय फुटबलबाट टाढा रहेका विराजले घरेलु मैदानमा विश्वकप छनोटको खेलमार्फत सन्न्यास लिने सोच बनाएका थिए । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ब्लेजर लगाएर राष्ट्रिय टोलीबाट स–सम्मान बिदाई गरे ।

विराजले राष्ट्रिय टोलीबाट ७३ क्याप जितेका छन् । उनी नेपालका लागि सर्बाधिक खेल खेल्ने खेलाडी समेत हुन् । उनले गत सागमा ६८ क्याप पुरा गर्दै पूर्व कप्तान राजुकाजी शाक्यको नाममा रहेको सर्बाधिक क्यापको किर्तिमानी भंग गरेका थिए ।

नेपालका सफल कप्तानमध्ये एक विराजले सन् २००८ मा पाकिस्तानविरुद्ध पोखरा रंगशालामा खेल्दै राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । विराजको कप्तानीमा नेपालले २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको थियो । सन् २०१६ (विस २०७२) मा बंगलादेशको ढाकामा भएको बंगबन्धु गोल्डकपको उपाधि नेपालले विराजकै कप्तानीमा जितेको थियो । सोहि वर्ष नेपालले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जितेको थियो । यस्तै मलेसियामा भएको सोलिडारिटी कपको उपाधि जित्दा पनि विराज कप्तान थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *