अयोध्यापुरी निर्माणमा किन भइरहेकाे छ ढिलाइ ?

तर्कबहादुर थापा
१८ चैत २०७७ ७:२७

काठमाडौं। चितवनको माडीमा रहेको ठोरीस्थित अयोध्या पुरीमा बन्ने भनेको राममन्दिको काम अझै सुरुवात हुन सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले राममन्दिर र अयोध्यापुरी निर्माण गर्ने घोषणा गरेको १० महिना बित्दासमेत कुनै पनि कामको थालनी हुन नसकेको हो।

जग्गा अधिग्रहण गर्ने काम हुन नसकेपछि भौतिक संरचना निर्माणका कुनै पनि काम अगाडि बढ्न नसकेको माडी नगरपालिकाका प्रशासकीय अधिकृत पुष्पराज ढकालले जानकारी दिए।

प्रशासकीय  अधिकृत पुष्पराज ढकालले अहिलेसम्म सफ्टवेयरको काममात्र भएको र हार्डवेयरको काम अगाडि नबढेको बताए। ‘सफ्टवेयरको काम मात्र भएको छ। हार्डवेयरको काम भएको छैन,’ अधिकृत ढकालले डिसी नेपालसँग भने, ‘हामीले कुरा मात्र गरेका छौं। अहिलेसम्म भौतिक संरचना बनाउने काम भएको छैन।’

ढकालले जग्गा अधिग्रहण गर्ने कार्य नभएकाले भौतिक संरचना हुन नसकेको बताए। उनले भने, ‘हामीले जग्गा अधिग्रहणका लागि सरकारसँग अनुरोध गरेको करिव ३/४ महिना भयो। मन्त्री परिषदबाट पास भएर आउनुपर्ने उक्त निर्णको प्रतिक्षामा छौं।’

उनले हालसम्म अध्ययन अनुसन्धानको काम मात्र अगाडि बढेको जानकारी दिए। नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत भूमि व्यस्थामन्त्रालय र त्यो निर्णय मन्त्रिपरिषदको निर्णय भएपछि भूमि अधिग्रहण गर्ने प्रक्रिया हुने प्रमुख कार्यकारी अधिकृत ढकालले जानकारी दिए।

प्रधानमन्त्री ओलीले राम र सीताको मूर्ति बनाएको कुरा पनि आफूले सुनेको मात्र प्रमुख कार्यकारी अधिकृतको भनाइ छ। उनले भने, ‘बालुवाटारमा मूर्ति बनाउनु भएको भन्ने सुन्नमा आएको छ। हामीले त यहाँको जग्गा अधिग्रहण नगरेसम्म कुनै पनि भौतिक संरचना बनाउन नमिल्ने भएकाले त्यो प्रक्रिया पर्खेर बसेका छौं।’

के हो अयोध्यापुरी निर्माणको कुरा ?

गएको असार २९ गते रामायणका नेपाली अनुवादक तथा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तिका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा घोषणा गरे।

भारतको अयोध्यामा राम जन्मेको भन्ने कुरा भारतले नेपालको सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताए। भारतले नक्कली अयोध्या खडा गरेको भन्दै रामको जन्म माडी नगरपालिकाको ठोरीमा भएको बताए।

‘हामी अहिले पनि ठानिरहेका छौँ, हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ। भारतका होइन अयोध्याकालाई दिएका हौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन। अयोध्यामा भीषण विवाद छ है त्यहाँ। हाम्रोमा विवाद नै गर्नुपर्दैन।’

प्रधानमन्त्रीको उक्त कुराले राजनीतिमात्र नभएर इतिहास र संस्कृति  जगतमा एक प्रकारको भूकम्प ल्यायो। राजनीतिकर्मी मात्र नभएर इतिहासकर्मी र संस्कृतिविद् पनि वैचारिक विवादमा परे। कसैले प्रधानमन्त्रीको खुलेर आलोचना गरे भने कतिले समर्थत पनि।

प्रक्रिया बढ्दै गएपछि २०७७ सालको श्रावण २४ गते माडी नगरपालिकाका जनप्रतिनिहरुसँग प्रधानमन्त्रीले भेटघाट गरे। यो रामनवमीका दिन ठोरीमा मेला लगाउन र अर्को राम नवमीका दिन राम सिता र लक्ष्मणको शालिक स्थापना गर्न निर्देशन दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किएका माडी नगरपालिकाका जनप्रतिनिधिहरुले उत्साहित हुँदै तत्कालै काम सुरु गर्ने बताए। उनीहरुले केहीसमयभित्र काम थालनि गर्ने बताए पनि अहिलेसम्म कुनै पनि काम हुन सकेको छैन।

अयोध्यापुरीलाई आवश्य पर्ने जग्गाका बारेमा पनि प्रधानमन्त्रीले वन मन्त्रालय र चितवन राष्ट्रिय निकुञ्जसँग आवश्यक समन्वय गरिदिने आश्वासन समेत दिएका थिए। प्रधानमन्त्रीलाई भेटेर फकिएपछि प्रवक्ता शिवहरि सुवेदीले डिसी नेपालसँग प्रतिक्रिया दिदैँ प्रधानमन्त्री आफै पनि राममन्दिर बनाउन आतुर रहेको जानकारी गराएका थिए।

उनले भनेका थिए, ‘प्रधानमन्त्री ज्यूले राममन्दिर निर्माण र्गन आवश्यक जग्गाको लागि सम्बन्धित मन्त्रालय, राष्ट्रिय निकुञ्ज र सरोकारवालासँग समन्वय र सहजिकरण गरिदिने विशवास दिलाउनु भएको छ।’

भारतको अयोध्यामा रामको जन्मलाई लिएर हिन्दु र मुस्लिम समुदायबीच भएको लडाईमा सर्वोच्च अदालतले हिन्दुको पक्षमा फैसला गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत साउनमै राम मन्दीर निर्माणका लागि शिलान्यास समेत गरिसकेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *