अब तालिमबिनै विदेश उड्न खोज्नेलाई विमानस्थलबाटै फर्काइने

डिसी नेपाल
१८ चैत २०७७ १६:४३

काठमाडौं। अबदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अभिमुखीकरण तालिमबिनै विदेश उड्न खोजेमा अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षबाटै फर्काइने भएको छ। विदेश जाने श्रमिकको बायोमेट्रिक हाजिरी परीक्षण गर्दा नमिले विमानस्थलबाटै फर्काइने नियम आगामी बैशाख १ गतेबाट लागू हुने भएको हो।

वैदेशिक रोजगारमा जानुभन्दा अगाडि अनिवार्य अभिमुखीकरण तालिम लिनैपर्ने व्यवस्थाको उल्लङ्घन गर्दै श्रमिकको हातमा तालिम बिनाकै प्रमाणपत्र दिने व्यवस्थालाई निर्मूल पार्न सो नियम लागू गरिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए।

महानिर्देशक दाहालले नयाँ वर्ष सुरु भएसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकले वैदेशिक रोजगारमा जानु पूर्व तोकिए बमोजिमको अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र लिए अर्थात् नक्कली बायोमेट्रिक लिई विदेश जान खोजेमा श्रम कक्षबाटै फर्किनुपर्ने बताए।

त्यस्तै, वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले तालिम प्रयादक संस्थाहरुलाई जिम्मेवार बनाउनको लागि सो नियम लागू गरेको बताए।

उनले भने, ‘वास्तवमा कुन देशमा जाने हो त्यस देशको नीति, नियम, कानुन, वातावरण, काम आदिको विषयमा जानकारी वा तालिम लिनै पर्ने नियम भएपनि कतिपय संस्थाहरुले कक्षा नै नदिई प्रमाणपत्र मात्र दिने गरेकाले विभागले सूचना निकालेको हो।’ उनका अनुसार विभागले हालसम्म त्यस्ता तालिम प्रदायक १० वटा संस्थालाई कारवाही गरेको छ।

तालिम प्रदायक संस्थाहरुले श्रमिकलाई तालिमबिनै प्रमाणपत्र थम्याउनेविरुद्ध पछिल्लो समय वैदेशिक रोजगार विभागले छापा मारी कारवाहीको दायरामा ल्याएको थियो।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा (२७) र वैदेशिक रोजगार नियमावली, २०६४ उपनियम (२०)मा वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगारमा जानु पूर्व तोकिए बमोजिमको अभिमुखीकरण तालिम लिनुपर्ने स्पष्ट व्यवस्था गरेको छ।

अभिमुखीकरण तालिम दिने संस्थाले तोकिएको समयमा सम्बन्धित व्यक्तिको बायोमेट्रिक हाजिरी गराई वैदेशिक रोजगार बोर्डले स्वीकृत गरेको पाठ्यक्रम अनुसारको तालिम दिई हाजिरी विवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालि (एफईआईएमएस)मार्फत उपलब्ध गराउने व्यवस्था छ।

तर पछिल्लो समयमा विभागले गरेको अनुगमनमा समेत अनिवार्य रुपमा लिनुपर्ने अभिमुखीकरण तालिम नलिई तालिमको प्रमाणपत्र मात्र लिने/दिने गरिएको, तोकिएको समयभित्र तालिम नलिएको तथा अर्कै व्यक्तिको बायोमेट्रिक हाजिरी विवरण रेकर्ड गराई तालिम गराएको/लिएको पाइएको थियो ।

त्यस्तै विमानस्थलको श्रम कक्षवाट वैदेशिक रोजगारीमा जाने कामदारहरुको बायोमेट्रिक हाजिरी विवरण व्यक्ती स्वयंको उपस्थितीमा Match गराउँदा आधिकारिक नभएको पाइएको थियो।

नक्कली बायोमेट्रिक प्रयोग गर्दा इन्स्योरेन्स तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट बन्चित हुनसक्ने, बायोमेट्रिक नमिल्दा विदेशबाट पुनःश्रम स्वीकृती प्राप्त गर्न कठिन हुने र गन्तव्य मुलुक सम्बन्धी जानकारी, वैदेशिक रोजगार सम्बन्धी कानून तथा अन्य आवश्यक कानून सम्बन्धी जानकारी, सुरक्षित रोजगारी तथा अन्य हक अधिकारका विषयवाट समेत बच्चित हुन जाने भएकोले सचेत हुन विभागले सूचनामार्फत अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *