ओलीलाई नमान्ने, प्रचण्डलाई नछाड्ने मनसायमा माधव नेपाल

डिसी नेपाल
१९ चैत २०७७ ६:४९

काठमाडौं। पुस ५, २०७७ यता बिचलित हाउभाउ र बोलीमा सार्वजनिक मञ्चमा देखिने माधव नेपाल फागुन २३ पछि झनै कमजोर सुनिन थालेका छन्।

‘अदालतले मलाई घुच्चुकमै हान्यो, बदला नै लियो, म त यता न उता अब कता जस्तो अबस्था पुगेँ’ भनेर आफैले भन्दै हिँड्नुको पछाडि अहिले उनको मनमा चलिरहेको हुण्डरीको ताप कति छ भनेर सजिलै अनुमान लाउन सकिन्छ।

हुन पनि हो। १६ वर्ष शक्तिशाली महासचिव भएको आफ्नै पार्टीको साधारण सदस्यसमेत छैनन् अहिले नेपाल। एमालेका अध्यक्ष केपी ओलीले सोधेको स्पष्टिकरणमा नेपालले उल्टै ओलीलाई नै प्रतिस्पष्टीकरण बुझाएपछि उनी थप र अहिलेसम्मकै कडा कार्वाहीमा परेका हुन्। हाल माधव नेपाल छ महिने निलम्बनमा परेका छन्।

एमालेको साधारण सदस्य समेत नरहने गरी कार्वाहीमा परेपनि नेता नेपालका अभिव्यक्ति र कार्यशैलीले भने उनी गलेको जस्तो छनक दिइरहेका छैनन्। उनी साँच्चै गलेका छैनन् वा आफू नगलेको जस्तो देखाइरहेका छन् अनुमान लगाउन सहज छैन।

तथापि सार्वजनिक मञ्चमा उनले भन्ने गरेका, ‘केपी ओलीले एमाले छोडेर गए हुन्छ, एमाले हाम्रो हो’ जस्ता अभिव्यक्तिले मात्र नेतृत्वमा रहिरहन सकिन्छ भन्नेमा उनी विश्वस्त छैनन्।

नेपालसामु बाँकी रहेको ओलीलाई एक्ल्याउने अर्को अस्त्र हो माओवादी केन्द्रको नाम परिवर्तन गर्ने। आफू नयाँ नामको पार्टीमा समाहित हुने। त्यसो गर्न सजिलो छ। तर नेपालसँगै उनका समर्थक नेता र कार्यकर्ताले यो विकल्प सहजै स्वीकार्लान् भन्ने नेपाललाई बिश्वास छैन।

इतिहासकै शक्तिशाली र सरकारी कम्युनिष्ट पार्टीका नेता नेपालका अभिव्यक्ति सुन्दा शक्तिशाली जति सुनिन्छन् तर यथार्थमा उनी अहिले आफ्ना अभिव्यक्तिभन्दा धेरै कमजोर छन्। विश्वासिला र नजिकका समर्थकबीच उनले बोल्ने भाषा र हाउभाउले बुझाउँछ ‘एमाले छोड्न सक्दिन माओवादी हुन सक्दिन। तत्काललाई कार्वाही सहँदै र प्रतिवाद गर्दै बस्नुको बिकल्प छैन।’

तर पछिल्लो समय नेपालका भनाइ र गराइमा बिरोधाभाष प्रष्टै देखिन थालेको छ। माओवादी केन्द्रका नेता प्रचण्डसँगको बाक्लै उठबसले उनलाई एमालेबृत्तमा आफ्नै विश्वासपात्र कार्यकर्ताले समेत ससंकित नजरले हेर्ने क्रम बढेको छ।

केपी ओलीको बुझाइमा सुधारिनका लागि निलम्बन गरिएका नेपाल अहिले ओलीलाई देखाइदिन प्रचण्डसँग नजिकिएका छन्। उनका बोली र व्यवहारले प्रष्ट गर्छन्, नेपाल ओलीसँग मिल्दैनन् प्रचण्डलाई छोड्दैनन्।

नेपालको यस्तो भावभंगीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ भने ओलीलाई गलाउने र एमाले फुटाउने अस्त्रको रुपमा उपयोग गरिरहेका छन्। दाहालको रणनीति नेपालले नबुझेका भने हैनन्।

तथापि अहिले नेपालको लागि प्रचण्ड नै कम्फर्टेवल छन् जसलाई प्रयोग गरेर केपी ओलीलाई पार्टी र सरकार दुबैबाट हटाउन सकिन्छ भन्नेमा ढुक्कजस्ता देखिन्छन् नेपाल।

व्यापारी टपेन्द्र तिमल्सिनाको घरमा हुने भेटघाटले पनि संकेत गर्छन् कि ओलीलाई घेराबन्दीमा नपारेसम्म आफू सत्तामा पुगिन्न र सत्तामा नपुगेसम्म एमालेको नेतृत्वमा टिकिरहन सकिन्न भन्ने नेपालले बुझेका छन्। यसका लागि प्रचण्डको उपयोग आफ्ना लागि रहर कम बाध्यता धेरै हो भन्ने पनि उनलाइ थाहा छ।

प्रचण्रडले आफ्नो बारेमा वुटवल र सिन्धुलीमा बोलेका कुराले झस्किएपनि तत्काल केपी भन्दा प्रचण्डकै साथबाट गुमेको सत्ता फिर्ता आउला भन्ने आशा रहुञ्जेल उनले प्रचण्डलाई छोड्दैनन्।

एमाले नेतृत्वमा नेपालको पुनरागमनका लागि केपी ओलीको बहिर्गमन एकमात्र उपाय हो। जुन तत्कालका लागि सजिलो छैन। ओली इतरका एमाले समेटेर पार्टी कार्यालय र समानान्तर कमिटीहरु बनाएपनि यसो गर्दा उनीमाथि थप र अझ कडा कार्वाहीको संभावना जिवितै छ।

ओलीसँग टकराव बढिरहँदा उनीमात्र हैन उनीसँग उनका धेरै नेता कार्यकर्ता कार्वाहीमा पर्न सक्छन्। त्यस्तो अबस्थामा नेताभन्दा पार्टीलाई माया गर्नेहरु अन्तत एमालैमा रहन्छन्। त्यो भनेको माधव नेपालको साथ छोड्ने अबस्थामा धेरै नेता कार्यकर्ता पुग्न सक्छन्।

नेताभन्दा पार्टी प्यारो ठान्नेहरुका लागि केही समय जति नै कठिन भएपनि ओली र नेपाल दुबैलाई झेल्ने र कालान्तरमा दुबैलाई हटाएर नयाँ नेतृत्व बनाउने सोच बिस्तारै बलियो बन्दैछ। यसका लागि महाधिवेशन सम्म कुर्ने वा तत्काल भएपनि बिशेष महाधिवेशन बोलाउने समेत बिकल्प हुनसक्छ जुन अहिलेभन्दा उत्तम विकल्प पनि हो।

तर माधव नेपाल यो बिकल्पलाई सहजै स्वीकार्न तयार छैनन्। महाधिवेशन नै गर्नका लागि पनि उनले एमालेमा आफ्नो पकड बलियो भएको अबस्था हुनुपर्छ। अहिले नै त्यस्तो अबस्था सजिलै आउदैन भन्ने कुरा नेपालले नै बुझेका छन् र उनी महाधिवेशनको पक्षमा बोलेका समेत छैनन्।

नेपालसामु बाँकी रहेको ओलीलाई एक्ल्याउने अर्को अस्त्र हो माओवादी केन्द्रको नाम परिवर्तन गर्ने। आफू नयाँ नामको पार्टीमा समाहित हुने। त्यसो गर्न सजिलो छ। तर नेपालसँगै उनका समर्थक नेता र कार्यकर्ताले यो विकल्प सहजै स्वीकार्लान् भन्ने नेपाललाई बिश्वास छैन।

किनकि नेपाल महासचिव भएकोबेला एमालेको बैकल्पिक शक्तिको बनाउँछु भनेर बामदेव गौतमले माले त बनाए तर चुनावमा जमानत जोगाउन नसकेको यथार्थ स्वयं नेपाललाई जति अरुलाई थाहा नहुनसक्छ।

यस्तो अबस्थामा माधव नेपालका लागि जसरी हुन्छ ओली इतरका शक्तिसँग मिल्नु र ओलीलाई कार्वाही गर्नुमात्र बिकल्प हो। र यो बिकल्पमा सबभन्दा भरपर्दा साथी अहिलेलाई प्रचण्ड नै हुन्। प्रचण्डले पनि साथ छोडे भने नेपालको अबस्था अहिलेभन्दा धेरै बिग्रन सक्छ। जुन कुरा स्वयं नेपालले बुझेका छन्। र नै उनी ओलीसँग जाँदैनन्, प्रचण्डलाई छोड्दैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *