विभागद्वारा झापाका म्यानपावरहरुमा छापा, व्यवसायीको भागाभाग

डिसी नेपाल
१९ चैत २०७७ १४:५८

काठमाडौं। वैदेशिक रोजगार विभागको अनुगमन टोलीले झापाका विभिन्न ठाउँमा रहेका म्यानपावरहरुको अनुगमनलाई तिब्र पारेको छ। अनुगमन गर्ने क्रममा टोली पुग्नासाथ त्यहाँका अधिकांश म्यानपावरका सञ्चालकहरु कार्यालय बन्द गरी भागेका थिए।

टोलीले अनुगमनका क्रममा अवैधानिक तरिकाले सञ्चालित केही म्यानपावर सिल गरेको छ भने केहीमा छापा मारेको छ।

विभागले ह्युमर ओभरसिज प्रालिले बिर्तामोडमा दुई शाखा सञ्चालन गरी काम गरेको फेला पारेको छ। बिर्तामोडस्थित अतिथिसदन रोडमा अनिलकुमार बिहानीको नामबाट सञ्चालित शाखा भने विभागमा दर्ता भएको फेला परेको छ।
ह्युमरको उक्त शाखा आधिकारिक देखिएको छ भने अर्को बिर्तामोडको शनिश्चरे रोडस्थित ग्लोबल आइएमई बैंकको अपोजिटमा रहेको शाखा भने अवैध रहेको देखिएको छ।

ह्युमरको शनिश्चरे रोडमा रहेको अवैध शाखामा केहिदिन अघिसम्म राखिएको बोर्ड भने हटाइएको अनुगमन टोलीका प्रमुख मातृका सापकोटाले बताए। उनले विभागले अनुगमनलाई तिब्रता दिएका कारण कार्यालय शाखामा राखिएको बोर्ड हटाएको हुनसक्ने बताए।

उक्त अवैध शाखा संचालनको लागि ह्युमरका सञ्चालक सुरज महर्जन र थुमप्रसाद थापा बीच २०७६ साउन २ गते सम्झौता भएको टोलीले फेला पारेको छ। सम्झौतामा शाखा संचालनको लागि थुमप्रसाद थापाले सात लाख धरौटी बुझाउनुपर्ने र प्रति महिना एक लाख ५० हजार ह्युमर ओभरसिजलाई तिर्नुपर्ने शर्त उल्लेख छ।

साथै उक्त सम्झौतामा ह्युमर बाहेक अन्य म्यानपावरको डिमाण्डमा समेत काम गर्न पाउने सर्त उल्लेख छ। सर्त अनुसार ह्युमर बाहेक अन्य म्यानपावरको डिमाण्डमा काम गर्दा कामको सम्पूर्ण जिम्मा थापा आफैले जिम्मेवारी लिनुपर्ने उल्लेख छ।

म्यानपावरको शाखा कार्यालयले आफ्नो म्यानपावरको डिमाण्डमा बाहेक काम गर्न पाउँदैन। तर म्यानपावरका संचालकले नै शाखा कार्यालयको दुरूपयोग हुने गरी सम्झौता सर्त उल्लेख गरिदिएको भेटिएको छ। अवैध भेटिएपछि विभागले उक्त शाखा सिल गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *