कांग्रेसलाई किन छैन सत्ताको हतारो ?

डिसी नेपाल
२० चैत २०७७ ९:१८

पछिल्लो संसदीय निर्वाचनमा नेपालको राजनीतिक इतिहासमा नै पहिलोपल्ट नेपाली जनताले बामपन्थीहरुलाई बहुमतको सरकार संचालन गर्ने अवसर प्रदान गरेका थिए। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले लगभग दुई तिहाई मत ल्याएको थियो।

जनताले स्थायित्व र समृद्धिका लागि दिएको जनमतलाई नेपालका कम्युनिस्ट पार्टीले कदर गर्न सकेनन् जसले गर्दा तीन वर्ष नपुग्दै मुलुक राजनीतिक अस्थिरताबाट गुज्रिरहेको छ। र, नेपाली जनता प्रत्यक्ष मारमा परिरहेको अवस्था आजको यथार्थ हो।

नेपाली जनतालाई सुशासन र समृद्धिकाे सपना बाँडेर पुन धोका दिइएको छ। खासगरी गत पौष ५ गते बहुमतका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि मुलुक राजनीतिक संकटमा परेको छ। सत्ताका लागि गरिएको कम्युनिष्ट एकता छताछुल्ल मात्र नभई आन्तरिक विवाद र संघर्षको मोर्चाबन्दी अव दुश्मनीमा परिणत भइसकेको छ।

प्रतिनिधिसभा विघटनको लगत्तै नेपाली कांग्रेसले ‘विघटन’को निर्णय असंबैधानिक ठाहर गर्दै देशब्यापी बिरोध कार्यक्रम संचालन गरिरहँदा तत्कालीन नेकपाका नेतृत्व तहबाट भए, गरेका क्रियाकलापले नेपालका कम्युनिष्टहरुको चरित्र उदांगिएको छ।

विगत निर्वाचनमा नेपाली जनताले दिएको प्रतिपक्षको भूमिका निर्वाहका क्रममा आलोचित हुँदै गर्दा वर्तमान राजनीतिक परिदृष्यमा नेपाली कांग्रेसले विगतका ऐतिहासिक भूमिकालाई पुनर्जीवित गर्दै जिम्मेवार राजनीतिक दल एवं प्रतिपक्षको रुपमा आफूलाई अब्बल सावित गरेको छ। मौका पर्नासाथ सत्ता लिप्सा होइन, राजनीतिक समस्याको दिगो सामाधान अनिमात्र सत्ता भन्ने धारणा राखेर मुलुकलाई आफ्नो शिरमा राख्ने काममा कांग्रेसले यसपटक सफलता हासिल गरेको छ।

महामारीका बेला कार्यकर्ता सडकमा उतारेर एकअर्काप्रति सत्तोसराप गर्ने र मुलुकमा राजनीतिक उत्तेजना बढाई कतिबेला के हुने हो भन्ने त्रास फैलाइएको थियो। यो परिस्थितिमा संयमताका साथ प्रतिनिधिसभा विघटनका मुद्दामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सिंगो पार्टीबाट निर्वाह भएको भूमिकालाई नेपाली जनता र पार्टीपंक्तिमा समेत सराहना एवं समर्थन प्राप्त भएको छ।

जनताप्रतिको जिम्मेवारीबोध कांग्रेसले गरेको छ भन्ने त प्रष्ट भयो नै, कानुनी शासन, शक्ति पृथकीकरणको सिद्धान्तसहितका लोकतन्त्रका मानिएका विधिप्रति नेपाली कांग्रेसको निष्ठाले पनि नेपाली कांग्रेसप्रति जनताको भरोसा फेरि बढ्न थाल्नु अस्वाभाविक होइन।

यति भैरहँदा गत फाल्गुन ११ गते सर्बोच्च अदालतको निर्णयबाट प्रतिनिधि सभा ब्युँतिदै गर्दा गरिएका अनुमानहरुलाई सर्बोच्चकै फाल्गुन २३ गतेको फैसलाले फरक दिशातर्फ निर्देशित गरेको छ र मुलुक थप राजनीतिक जटिलताबाट प्रभावित भैरहेको देखिन्छ।

अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् र बहुमतको सरकार नैतिकरुपले असफल भैसकेको छ। सत्तालिप्सामा लिप्त र सत्तासुविधाले मैमत्त बनेको देखिएको यो सरकार यति असहिण्णु बनेको छ कि विरोधका स्वरहरु दवाउन उद्यतसमेत छ।

पार्टीभित्रका विरोधीहरुको दमन हेर्दा कम्युनिष्टहरु आफू आफूभित्र पनि कति निर्दयी हुन सक्छन् एकअर्कालाई लखेट्न तयार हुन्छन् भन्ने कुराको प्रमाण दिइरहेको देखिन्छ। एकअर्काका बीचको हिलो छ्यापाछ्यापले एकअर्काको असली अनुहार चिन्न जनतालाई सजिलो भएको छ।

बिगतमा सरकार संचालनमा देखिएका घटनाक्रमको विश्लेषण गर्दा नै मुलुकमा अधिनायकवादी शासनको थालनीको आभास भएको सत्य हाम्रा सम्मुने नै छ। तत्कालीन नेकपा सरकारको कार्यशैलीबाट आत्तिएका नेपाली जनताले सो दौरानमा कैयौं पटक सरकारको निरंकुश कार्य शैलीका बिरुद्ध लड्नु परेको वास्तविकता हाम्रा सामुन्ने छर्लंग छ।

त्यतिमात्र नभई बिगत केही समयदेखि मुलुकका आन्तरिक मुद्दाहरुमा बाह्य हस्तछेपको बढ्दो प्रभावसमेत वर्तमान परिस्थितिको कारक तत्वको रुपमा देखिन्छ। यसमा पुष्पकमल दाहाल, केपी ओली, माधव नेपाल आदि सबै नेताहरु कहीँ न कहीँबाट परिचालित भएको जनतालाई बुझ्न गाह्रो भएको छैन।

संसद ब्युँतिएको अवस्थामा समेत वर्तमान राजनीतिक अन्योलको निकास प्रक्रिया सुरु हुन सकिरहेको देखिन्न। प्रधानमन्त्रीको पदलोलुपता र कम्युनिष्टहरुको आन्तरिक कचिंगलका कारण संसदीय प्रक्रिया अवरुद्ध भएको छ। जनताका सरोकारका बिषयहरु ओझेलमा परिरहेका छन्।

संसदको चालु अधिवेशन त श्रद्धाञ्जलि, समवेदनमा नै सकाउने प्रपञ्चमा सरकार र सभामुख लागेको देखिएका छन्। जनप्रतिनिधिको थलो संसदलाई यसरी निकम्मा बनाएर जनमतप्रति अपमान भएको कुराको हिसाव जनताले राख्दैनन् भन्ने ठान्नु नेपालका कम्युनिष्टहरुको मुर्खतासिवाय अरु केही होइन।

नेपालको राजनीतिक इतिहासको बिभिन्न कालखण्डमा नेतृत्वदायी भूमिकामा रहेको नेपाली कांग्रेसलाई पुन यसपटक नेपाली जनताले बडो बिश्वासका साथ निगरानी गरिरहेका छन्। विगत निर्वाचनमा नेपाली जनताले दिएको प्रतिपक्षको भूमिका निर्वाहका क्रममा आलोचित हुँदै गर्दा वर्तमान राजनीतिक परिदृष्यमा नेपाली कांग्रेसले विगतका ऐतिहासिक भूमिकालाई पुनर्जीवित गर्दै जिम्मेवार राजनीतिक दल एवं प्रतिपक्षको रुपमा आफूलाई अब्बल सावित गरेको छ।

मौका पर्नासाथ सत्ता लिप्सा होइन, राजनीतिक समस्याको दिगो सामाधान अनिमात्र सत्ता भन्ने धारणा राखेर मुलुकलाई आफ्नो शिरमा राख्ने काममा कांग्रेसले यसपटक सफलता हासिल गरेको छ। पछिल्ला राजनीतिक घटनाक्रममा बिगतमा झैँ विधिको शासन, संविधानको पालना र न्यायालयको सर्बोच्चताको पक्षमा कटिबद्ध रहेको आफूलाई प्रमाणित गरेको छ। निश्चय पनि प्रजातन्त्रबादीहरुका लागि यो सुखद हो।

हाल देखिएको सत्ता टिकाउने खेलबाट पृथक रही जिम्मेवार प्रतिपक्षको भूमिकाको निरन्तरता नै नेपाली कांग्रेसका निमित्त अवसर देखिन्छ। यथार्थमा देश बिदेशमा रहेका नेपाली कांग्रेसका सदस्यहरु, समर्थकहरु र शुभेच्छुहरुले समेत पार्टीको १४ औं महाधिवेशनलाई बडो उत्सुकता एवं उत्साहका साथ हेरिराहेका छन्।

तसर्थ हालको राजनीतिक निकासका लागि सहयोगीको भूमिका निर्वाह गर्दै सांगठानिक शक्तिलाई सक्षम र सुदृढ बनाउनेतर्फ अग्रसर हुनु नै कांग्रेसका लागि अहिलेको उचित नीति हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *