विदेशबाट एकैपटक १७ शव आइपुग्यो नेपाल, पूर्वप्रधानमन्त्री डा.भट्टराई पुगे विमानस्थल

डिसी नेपाल
२२ चैत २०७७ १५:११

काठमाडौं। वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा ज्यान गुमाएका नेपालीहरूमध्ये १७ जनाको शव एकैदिन नेपाल आइपुगेको छ। आइतबार बिहान एकै दिन मलेसियामा ज्यान गुमाएका १२ जना श्रमिकको शव नेपाल एयरलाइन्समार्फत स्वदेश ल्याइएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार आइतबार मलेसियाबाट मात्रै १२ जना, कतारबाट दुई, टर्कीबाट तीन जनाको शव आइपुगेको हो। आइतबार ल्याइएका शव मध्ये महोत्तरीका देवेन्द्र कुमार यादव, नवलपरासीका नुम बहादुर लुङ्गेली मगर, सर्लाहीका चन्द्र कुमार साह, गोर्खाका मेघबहादुर कुँवर तथा सूर्य विकको रहेको छ ।

त्यसैगरी भोजपुरका भुपाल पाण्डे, पाँचथरका सूर्य बहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्र प्रसाद मेहता, बाग्लुङका चन्द्र बहादुर विक, बाँकेका विनय कहर तथा झापाका उज्वल भुजेलको शव आइतवार मलेसियाबाट आउने गरी क्वालालम्पुरस्थित नेपाली दूतावासबाट सूचि प्राप्त भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

विमानस्थलमा आइपुगेका शवहरूमध्ये गोरखा २ सिरानचोक ५ का २८ वर्षीय सूर्य विक, गोरखा नगरपालिका १२ का २७ वर्षीय मेघबहादुर कुँवरको पनि शव आएको थियो । शब बुझ्न उनीहरूको आफन्तसँगै पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पनि पुगेका थिए ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘कस्तो दुःखद अवस्था! वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली युवाहरुमध्ये १२ जनाको शव एकैदिन त्रिभुवन विानस्थल आइपुग्यो ! तीमध्ये गोरखा–२ सिरानचोक–५ का सूर्य विक (२८बर्ष) र गोरखा नपा–१२ का मेघबहादुर कुककवर(२७ बर्ष)को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आककसु थामिन्थ्यो र !’

यसअघि माघ ९ गते एकै पटक मलेसियाबाट रोजगारीमा गएका १७ नेपालीको शव नेपाल ल्याइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *