साउदीसँग निहुँ खोज्नु भारतलाई भारी पर्‍यो, नेपाललाई समेत धक्का लाग्ने

डिसी नेपाल
२३ चैत २०७७ १७:४३

काठमाडौं। साउदी अरेबियासँग निहुँ खोज्नु भारतलाई भारी परेको छ । साउदी अरेबियालाई झुकाउने उद्देश्यसहित भारतले एउटा नीति लिँदा साउदीले उल्टै भारतलाई अप्ठ्यारो पार्ने निर्णय गरिदिएको हो । भारतले साउदी अरेबियालाई पेट्रोलियम पदार्थको मूल्य नबढाउन अनुरोध गरेको थियो । तर, भारतको अनुरोध अस्वीकार गर्दै साउदी अरेबियाले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

साउदीले मूल्य बढाएपछि भारतले साउदीलाई झुकाउने उद्देश्यसहित साउदीबाट तेलको आयातमा कटौती गरेको थियो । तर, साउदीले भारतको कटौतीले आफूलाई कुनै फरक नपर्ने संकेत गर्दै मे महिनाबाट लागू हुने गरी एसियाली देशहरुमा निर्यात गरिने कच्चा तेलको मूल्य बढाएको छ । जबकि उसले युरोपमा पठाउने तेलको मूल्य भने यथावत राखेको छ । साउदीले आइतबार मूल्य वृद्धिको आधिकारिक घोषणा गरेको हो ।

साउदीको यो निर्णयले भारतसँगै नेपाललाई पनि धक्का लाग्नेछ । नेपालले कुनै पनि कच्चा तेल उत्पादकबाट सिधै कच्चा तेल (क्रुड) किन्दैन । नेपालमा क्रुडलाई प्रशोधन गरिसकिएपछिको पेट्रोलियम मात्र आयात हुन्छ । नेपाल आयात हुने इन्धन भारतमा प्रशोधन भएर आउँछ । भारतमा आउने तेलको मूल्य बढ्दा यसको सोझो असर नेपालमा पनि पर्नेछ र नेपालमा पनि मूल्य बढ्नेछ ।

ब्लुमबर्गको एक रिपोर्टअनुसार साउदी अरामकोले कच्चा तेलको मूल्यमा २० देखि ३० प्रतिशत वृद्धि गरेको छ । साउदी अरेबियाको सरकारी कम्पनी अरामकोले हरेक महिना तेलको मूल्य निर्धारण गर्छ । यद्यपि पश्चिम एसियाका अन्य तेल उत्पादक देशले भने तेलको मूल्य घटाउने संकेत गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *