पत्रकार महासंघ चुनावः मतपरिणाम आउन शुरु, शुरुआती रुझानमा युनियनको अग्रता

डिसी नेपाल
२५ चैत २०७७ २१:१३

काठमाडौं। नेपाल पत्रकार महासंघको तीनै तहका लागि बिहीबार भएको मतदानको मतगणना शुरु भएको छ। अपरान्ह ५ बजे मतदान सकिएसँगै मतगणना शुरु भएको हो। देशका विभिन्न जिल्लाबाट जिल्ला शाखाको अन्तिम मत परिणाम आएको छ।

ईलाममा प्रेस युनियनका विप्लव भट्टराई, रौतहटमा प्रेस चौतारीका प्रेमचन्द्र झा, तेह्रथुममा प्रेस युनियनका अमृत बाँस्तोला, जाजरकोटमा प्रेस युनियनका बालकुमार शर्मा, गोरखामा प्रेस युनियनकै नरहरि सापकोटा अध्यक्षमा विजयी भएका छन्।

यस्तै एसोसिएट प्रदेशको पनि चुनावी परिणाम आएको छ। एसोसिएट प्रदेशको अध्यक्षमा प्रेस युनियनकै बैकुण्ठराज पराजुली विजयी भएका छन्। प्रदेश समिति र केन्द्रीय समितिको भने जिल्ला जिल्लामा मत गणना भए पनि सबै मत जोड्न नसक्दा कुन उम्मेदवारले कति मत ल्याए भन्ने यकिन हुन सकेको छैन। जिल्ला शाखामा आएको परिणामले प्रेस युयिनले अग्रता लिइरहेको छ।

प्रेस युनियन, प्रेस सेन्टर र माधव नेपाल समूह निकट प्रेस चौतारी,लगायत ११ संगठनको एक प्यानल चुनावी मैदानमा होमिएको छ भने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली निकट प्रेस चौतारी अर्को प्यानल बनाएर चुनावी मैदानमा होमिएको छ। देशभर यी दुई प्यानलका उम्मेदवारबीच तिब्र प्रतिस्पर्धा देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *