रास्वपा अब ‘भ्रष्टाचार विरोधी आन्दोलन’ मात्र रहेन, समृद्धि निर्माण गर्ने संस्था बन्नुपर्छ: डा. जितेन्द्र जिसी

डिसी नेपाल
११ असार २०८३ १३:३२

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक महाधिवेशनमा केन्द्रीय सदस्य (खुला) पदका लागि उम्मेदवारी दिएका डा. जितेन्द्र जिसीसँग गरिएको कुराकानीको सम्पादित अंश :

रास्वपाको अबको बाटो के हो? तपाईंले केन्द्रीय सदस्यमा किन उम्मेदवारी दिनुभयो?

हामीले बुझ्नुपर्ने मुख्य कुरा के हो भने-रास्वपा अब ‘भ्रष्टाचार विरोधी आन्दोलन’ मात्र रहेन; यो अब ‘समृद्धि निर्माण गर्ने संस्था’ मा रूपान्तरण हुनैपर्छ। जनताले पुराना दलहरूलाई गाली गरेको हेर्न मात्र हामीलाई भोट दिएका होइनन्, आफ्ना सन्तानले नेपालमै भविष्य देखेको हेर्नका लागि भोट दिएका हुन्। मेरो उम्मेदवारी यही वैचारिक ‘डिपार्चर’ (प्रस्थान) का लागि हो।

पार्टी अब कुनै एक व्यक्तिको जादु वा पपुलिजममा होइन, ‘नीति र विधि’ को कठोर प्रणालीमा चल्नुपर्छ। म नीतिको ‘आर्किटेक्ट’ बन्न र पार्टीभित्र निर्मम ‘चेक एन्ड ब्यालेन्स’ कायम गर्न केन्द्रीय समितिमा जान लागेको हुँ।

हाम्रो लागि समृद्धि भनेको डाँडामा भ्यूटावर ठड्याउनु होइन। यो त ‘स्टार्टअप नेसन’, स्थानीय उत्पादनको ब्रान्डिङ, र ज्ञान-आधारित अर्थतन्त्रको निर्माण हो। हामीले सन् २०९० सम्ममा नेपाललाई ‘थर्ड-वर्ल्ड’ बाट ‘फर्स्ट-वर्ल्ड’ मा लैजाने स्पष्ट ‘ब्लुप्रिन्ट’ तयार गरेका छौँ र यसका लागि हामी अहोरात्र काम गर्नेछौँ।

रास्वपा सरकारमा जाँदा पनि जनअपेक्षा पूरा भएन नि भन्ने गुनासो छ। पुराना दलभन्दा तपाईंहरू कसरी फरक हुनुहुन्छ?

जनताको अपेक्षा अथाह छ, र त्यो स्वाभाविक पनि हो। तर, त्यो ठूलो अपेक्षालाई केवल ‘लोकप्रियतावाद’ ले थेग्न सक्दैन, त्यसका लागि ‘पोलिसी’ (नीति) नै चाहिन्छ। हामीले मन्त्रालय सञ्चालनको परम्परागत ढाँचा नै बदल्ने प्रस्ताव गरेका छौँ। मन्त्रीले सबै कुरा जान्दछ भन्ने हुँदैन र उनीहरूसँग हरेक फाइलको अक्षर-अक्षर पढ्ने समय पनि हुँदैन।

त्यसैले, स्थायी सरकार (कर्मचारीतन्त्र) ले ल्याएका फाइलहरू मन्त्रीले सदर गर्नुअघि ‘विषयविज्ञ’ (Subject Matter Experts) को टोलीले अध्ययन र परिमार्जन गर्ने प्रणाली हामी लागू गर्दैछौँ। यसले नीतिगत त्रुटि र गलत निर्णयलाई शून्यमा झार्नेछ।

पुराना दलहरूसँग हाम्रो प्रतिस्पर्धा सडकमा ढुङ्गा हान्ने वा गालीगलौज गर्ने होइन; हाम्रो प्रतिस्पर्धा ‘डेलिभरी’ र ‘सार्वजनिक नीति’ मा हो। उहाँहरू चुनाव जित्ने ‘प्राविधिक मेसिन’ बन्नुभयो, हामी देश बनाउने ‘डेलिभरी मेसिन’ बन्दैछौँ।

“हामीलाई झन्डा बोक्ने ‘झोले’ होइन, वडा-वडामा नीति बुझेका ‘लिडर्स’ चाहिएको छ।”

तपाईं अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्य पनि हुनुहुन्छ। अन्तर्राष्ट्रिय सम्बन्ध र डायस्पोरा (प्रवास) का मुद्दाहरू के-के हुन्? कार्यकर्तालाई कसरी प्रशिक्षित गर्नुहुन्छ?

नेता आमाको पेटबाटै जन्मिँदैन, उसलाई वैचारिक र नीतिगत रूपमा तयार गर्नुपर्छ। त्यसैका लागि हामी देशका ७७ वटै जिल्लामा ‘पोलिटिकल स्कुल’ (रास्वपा लिडरसिप इन्स्टिच्युट) सञ्चालन गर्दैछौँ, जहाँ कार्यकर्तालाई संविधान, अर्थशास्त्र, कूटनीति र सार्वजनिक नीति पढाइनेछ। पार्टीले जिम्मा दिएमा यो कामलाई म पूर्ण रूपमा साबित गरेर देखाउनेछु।

जहाँसम्म डायस्पोरा र ‘नेपाल बाहिरको नेपाल’ लाई नेपालसँग जोड्ने कुरा छ, नेपालको सिमाना अब मेची-कालीमा मात्र सीमित छैन, यो विश्वव्यापी भएको छ। विदेशिएका ४० लाखभन्दा बढी नेपालीलाई हामी केवल रेमिट्यान्स पठाउने मेसिन मान्दैनौँ; उनीहरूलाई पूर्ण मताधिकारसहित नीति निर्माणमा जोड्नेछौँ।

विदेशी भूमिमा पोखिएको नेपाली युवाको पसिनाको मूल्यबापत ती राष्ट्रहरूसँग हामी कूटनीतिक रूपमा ‘सोसल पे-ब्याक’ दाबी गर्दैछौँ। मेगा प्रोजेक्टहरूमा “नेपालका लागि नेपालीको लगानी” अभियानमार्फत करोडौँ बजेट भित्राउन म काविल छु। खाडीको पसिनाले मात्र होइन, ज्ञानको निर्यात (ब्रेन गेन) र ‘स्टार्टअप भिसा’ सहित दक्ष नेपालीलाई स्वदेश फर्काउने ‘नेसनल रिटर्न प्रोग्राम’ को वकालत म गरिरहेको छु।

छोटो समयमा पाएको ठूलो जनमतलाई कसरी जोगाउनुहुन्छ? आगामी चुनावका लागि रास्वपाको रणनीति के हो?

हामीले स्पष्ट बुझेका छौं-हामीले पाएको जनमत कुनै पुर्ख्यौली सम्पत्ति होइन; यो त जनताले पत्याएर दिएको ‘ऋण’ हो। यसको ब्याज हामीले सुशासन र डेलिभरीमार्फत चुक्ता गर्नु छ। जनतालाई निराश हुन नदिन हामी पार्टीभित्र ‘क्लिन पोलिटिक्स प्रोटोकल’ कठोरताका साथ लागू गर्दैछौँ।

आगामी चुनावको रणनीति कुनै दललाई फुटाउने वा सांसद तान्ने होइन। हाम्रो रणनीति ‘प्राइमरी इलेक्सन’ (Primary Election) मार्फत प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्ने हो। हामी वडादेखि केन्द्रसम्मका उम्मेदवार साधारण सदस्यको भोटबाट छान्नेछौँ। यसले पार्टीलाई पूर्णतः पारदर्शी र योग्यतामा आधारित (Merit-based) बनाउनेछ।

पार्टीभित्र बढ्दै गएको भनिएको गुटबन्दी र कार्यकर्ताको असन्तुष्टिलाई कसरी सम्बोधन गर्नुहुन्छ?

रास्वपामा प्यानल वा गुटबन्दी वैधानिक रूपमै निषेधित छ र यो अक्षम्य हुन्छ। एकता भनेको नेताको चाकरी गरेर हुँदैन, विधिको पालना गरेर हुन्छ। हामी ‘आन्तरिक पार्टी प्रोटोकल’ मा बसेर काम गर्दैछौँ, जसले हरेक तहका नेताको जिम्मेवारी र जवाफदेहिता स्पष्ट पार्नेछ।

अर्को कुरा, हामी हाम्रा युवा र कार्यकर्तालाई नारा लगाउन सडकमा उतार्ने पक्षमा छैनौँ। उनीहरूलाई उद्यमशीलतामा जोड्न ‘सीपदेखि बिउ र बजार’ सम्म (Skill to Seed and Sell) को एउटा बलियो ‘इको-सिस्टम’ तयार गर्दैछौँ। आर्थिक रूपमा सबल र आत्मनिर्भर कार्यकर्ताले मात्र स्वच्छ राजनीति गर्न सक्छ।

अन्त्यमा, महाधिवेशनका प्रतिनिधिहरूलाई के भन्न चाहनुहुन्छ?

डा. जिसी: नेपाललाई अब पुराना भाष्य भत्काउने नारा होइन, नयाँ युग निर्माण गर्ने ‘सिस्टम’ चाहिएको छ। हामी राजनीति गर्न मात्र आएका होइनौँ, ‘राष्ट्रनीति’ लेख्न आएका हौँ। महाधिवेशनका आदरणीय प्रतिनिधि साथीहरूले मलाई केन्द्रीय समितिमा मत दिएर पठाउँदा उहाँहरूले एउटा व्यक्तिलाई होइन, आगामी २० वर्ष रास्वपालाई निर्विकल्प नेतृत्वदायी दल बनाउने ‘नीति र विधि’ को स्पष्ट खाकालाई भोट हालिरहनुभएको हुनेछ। मलाई विश्वास गर्नुस्, म तपाईँहरूको मत खेर जान दिने छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *