कक्षा १२ को नतिजाप्रति असन्तुष्टि: विद्यार्थीद्वारा माइतीघरमा विरोध प्रदर्शन

डिसी नेपाल
११ असार २०८३ १४:१६

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलप्रति गम्भीर असन्तुष्टि जनाउँदै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्।

आफूले गरेको मेहनत र परीक्षामा दिएको प्रस्तुति अनुसारको अंक नआएको दाबी गर्दै पीडित विद्यार्थीहरूले बिहीबार राजधानीको माइतीघर मण्डलामा भेला भई विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएका छात्रछात्राहरूले बोर्डद्वारा सार्वजनिक नतिजा अस्वाभाविक, शङ्कास्पद र त्रुटिपूर्ण रहेको आरोप लगाएका छन्।

उनीहरूले परीक्षा बोर्डले तोकेको पुनर्योग (रिटोटलिङ) र उत्तरपुस्तिका पुनःपरीक्षण (रिचेकिङ) को शुल्क समेत अत्यन्तै महँगो, अव्यवहारिक र विद्यार्थीमैत्री नभएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

नतिजामा देखिएको गम्भीर समस्या र आफ्नो भविष्यमाथि भएको खेलबाडप्रति सम्बन्धित सरकारी निकाय तथा बोर्डले अहिलेसम्म कुनै चासो नदेखाएको उनीहरूको गुनासो छ। आन्दोलित विद्यार्थीहरूले नतिजाको निष्पक्ष छानबिन हुनुपर्ने र सरकारले यस विषयमा चित्तबुझ्दो जवाफ दिनुपर्ने माग समेत अघि सारेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *