बाघको मुखमा फसेका मालिकलाई आफैंले पालेका भैंसीले बचाए

डिसी नेपाल
२६ चैत २०७७ ११:१३

काठमाडौं। बाघको मुखमा फसेका एक जना गोठालालाई उनी आफैंले पालेका भैंसीहरुले बचाएका छन् । जंगलमा भैंसी चराएर फर्किने क्रममा बाघको आक्रमणमा परेका उनलाई आफूले पालेका भैंसीहरु झुण्डमा आएर बाघलाई धपाएर बचाएका हुन् । भारतको बांधवगढ टाइगर रिजर्भको पनपथा कोर जोनमा ती गोठाला बाघको आक्रमणमा परेका थिए । आक्रमणमा परेर घाइते भएका उनलाई अस्पतालमा भर्ना गरिएको नवभारत टाइम्सले जनाएको छ ।

अस्पतालमा मिडियासँग कुरा गर्दै ती गोठालाले बाघको आक्रमणपछि आफूले ‘अब म मरें’ भन्ने विश्वास गरेको बताए । उनको मानपुर सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । मानपुरका बीएमओ डा. बी के प्रसादका अनुसार उनको अवस्था खतरामुक्त छ । २६ वर्षका गोठाला लल्लु यादवका अनुसार त्यस दिन पनि उनी सधैंझैं आफूले पालेका भैंसीहरु चराउन गएका थिए ।

दिउँसो करिब ३ बजेतिर भैंसीहरुलाई पानी खुवाएर उनी गाउँतिर फर्किंदै थिए । फर्किने क्रममा अचानक उनलाई पछाडिबाट बाघले आक्रमण गर्यो । त्यसपछि उनका भैंसीहरुले तत्कालै झुण्डमा आएर बाघमाथि आक्रमण गर्न खोजे । भैंसीहरुले आफूलाई घेरा हालेको देखेपछि बाघ डराएर भाग्यो र ती गोठालाको ज्यान बच्यो । बाघ भागेपछि उनले वन विभागलाई यसको सूचना दिए ।

सूचना पाएपछि घटनास्थल पुगेको वन विभागको टोलीले लल्लुलाई उद्धार गरेर उपचारको लागि अस्पताल पठाएको थियो । लल्लुले भने ‘बाघले झम्टिनेबित्तिकै म भुइँमा ढलें । बाघको पञ्जा काँधमा र गालामा लागेको थियो । त्यसपछि मैले अगाडि हेर्दा बाघ देखें । बाघले फेरि आक्रमण गर्नै लाग्दा भैंसीहरुले ठूलो आवाज गर्दै त्यहाँ घेरा बनाए । भैंसीले घेरेको देखेपछि बाघ भाग्यो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *