साताको सेयरः अल टाइम हाई रेकर्डको कीर्तिमान, बजार पुँजीकरण जिडिपी बराबर

डिसी नेपाल
२७ चैत २०७७ १६:३२

काठमाडौं। यस साताभर सेयर बजारमा  रौनक छाएको छ। सेयर बजार लगातार बढ्दै गर्दा लगानीकर्ताहरुमा नयाँ उत्साहा र अर्कर्षण देखिएको छ। साताको पहिलो दिन नै सर्वाधिक उच्च विन्दुको रेकर्ड कायम गरेको नेप्सेले कारोबार भएको पाँच दिनमध्ये तीन दिन एक पछि अर्को गर्दै नयाँ उचाईको किर्तिमान कायम गर्यो। एक दिन झिनो अंकले घटेको बजार ४ दिन बढ्यो।

समग्रमा यो साता सेयर बजार परिसूचक नेप्से ४२ दशमलव ४६ अंकले बढेको छ। २६ सय ३१ दशमलव ८९ विन्दुबाट खुलेको बजार २६ सय ७४ दशमलव ३५ अंकमा बन्द भएको छ। यो मंगलबार बनेको अल टाइम हाई रेकर्डभन्दा शून्य दशमलव ११ अंक कम हो। गत साताको तुलनामा यो साता समग्रमा नेप्से सूचक १ दशमलव ६१ प्रतिशतले वृद्धि भयो। अघिल्लो साता नेप्से परिसूचक ८२ दशमलव ९४ अंकले बढेको थियो।

सेयर बजारका लागि यस साता ऐतिहासिक बनेको छ। कारोबारो रकममा तेजी आईरहँदा बजार पुँजीकरण पनि ३७ खर्ब पुगेको छ। जुन करिब नेपालको जिडिपि बराबर हो।

यस साता दैनिक कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। समग्रमा यो साता ३७ अर्बभन्दा धेरै कारोबार भएको छ। आइतबार सबैभन्दा धेरै ९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो भने बिहीबार सबैभन्दा थोरै ६ अर्ब ५६ करोड भन्दा धेरैको कारोबार भयो।

यस्तै यस साता एनआइसी एसिया लघुवित्तको सेयर भाउ सबैभन्दा धेरै ६० प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ। दोस्रोमा वोमी लघुवित्तको मूल्य करिव ३२ प्रतिशत र तेस्रोमा चन्द्रागिरी हिल्सको मूल्य २८ प्रतिशतले बढेको छ। यस्तै सबैभन्दा धेरै अजोड इन्सुरेन्सका लगानीकर्ताले करिव १८ प्रतिशतले गुमाएका छन्। दोस्रोमा साल्ट ट्रेडिङ कर्पोरेसनको मूल्य करिव १६ प्रतिशले गिरावट आयो।

नयाँ वर्ष सुरु हुनै लागेको अवस्थामा लगानीकर्ताको चहलपहल बढ्ने देखिन्छ। नयाँ बजेट बन्ने क्रम जारी रहेको छ। आर्थिक वर्ष सकिन लागेकोले विकास निर्माणका कामले तिव्रता लिने हुन्छ। त्यसैले सरकारी खातामा रहेको पैसा बजारमा आउने क्रम वृद्धि हुने देखिन्छ। आर्थिक वर्ष सकिन लागेका कारण पुँजीगत खर्च गर्नै पर्ने बाध्यात्मक अवस्थामा सरकार छ। यस्तो अवस्थामा अर्थतन्त्रमा थप चहलपहल हुने देखिन्छ। यसले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने र नेप्से नयाँ गन्तव्यतिर अघि बढेको अनुमान लगाउन सकिन्छ।

यस्तै बैंकीङ क्षेत्रमा तरलता सहज हुँदै जानु, ब्याजदर सस्तो हुदै गएकोले पनि सेयर बजार सकारात्मक दिशातिर जाने जानकारहरु बताउँछन्। बजार घटेर विस्तारै बढिरहेकोले यसबाट सेयर बजार दिगो सुधारतर्फ अघि बढेको उनीहरुको तर्क छ।

दैनिक कारोबारः

साताको पहिलो दिन आइतबार सेयर बजारले अल टाइम हाइ रेकर्ड कायम गर्यो। क्लोजिङ विन्दुको आधारमा २६ सय ५७ दशमलव ६१ अंकसहित आइतबार बजारले त्यो भन्दा अगाडिको उच्च विन्दुको किर्तिमान बनायो। आइतबार ९ अर्ब भन्दा बढीको सेयर कारोबार भएको थियो। यस्तै सोमबार नेप्से परिसूचक झिनो अंकले बढे पनि सर्वाधिक उचाईको किर्तिमान कायम गर्न सफल भयो। त्यस दिन १ दशमलव १३ अंकले बढेको बजार २६ सय ५८ दशमलव ७४ विन्दुमा रोकियो। उक्त दिन ७ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो।

साताको तेस्रो दिन मंगलबार नेप्से सूचक १५ दशमलव ७२ अंकले बढेर २६ सय ७४ दशमलव ४६ विन्दुमा पुगेको थियो। जुन सेयर इतिहासकै उच्च विन्दु हो। उक्त दिन खरिदबिक्री रकम पनि साढे ७ अर्बको सेयर कारोबार भयो। यस्तै साताको चौथो दिन बुधबार भने नेप्से परिसूचक २ दशमलव ८५ अंकले ओरालो लाग्यो। २६ सय ७१ दशमलव ६२ विन्दुमा पुग्यो। त्यस दिन ७ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो।

साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से २ दशमलव ७४ अंकले वृद्धि भएर २६ सय ७४ दशमलव ३५ विन्दुमा बन्द भयो। यस दिन ६ अर्ब ५५ करोड भन्दा बढीको कारोबार भयो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *