भक्तपुर र किर्तीपुरमा अझै पुगेन मेलम्ची, वितरण प्रणालीमा समस्या

उपेन्द्र शाही
२८ चैत २०७७ १२:०७

काठमाडौं। दशकौं पछि सम्पन्न मेलम्ची खानेपानी आयोजनाको वितरण प्रणाली पुरानो हुँदा समस्या देखिएको छ। हाल मेलम्चीको पहिलो चरण अन्र्तगतको १७ करोड लिटर पानीमध्ये दैनिक साढे ८ कराेड लिटर पानी उपभोक्तालाई वितरण भइरहेको छ। तर, यही अवस्थामा पनि थुप्रै ठाउँमा पानी चुहावटको समस्या देखिएको छ भने पानीको गुणस्तर माथि पनि उपभोक्ताहरुले प्रश्न उठाएका छन्।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानी वितरणका क्रममा समस्या देखिएको बताउँदै त्यस्ता स्थानमा तत्काल मर्मत गर्न थालेको बताएको छ। पुरानो वितरण प्रणलीबाट पानी वितरण गरिएकोले यस्तो समस्या देखिएको केयुकेयलका प्रवक्ता प्रकाश राईले बताए।

पुरानो वितरण प्रणाली भएका कारण चुहावटको समस्या देखिएकोले समाधानको प्रयास भइरहेको उनले बताए। हालसम्म ३ सय ३३ ठाउँमा चुहावट समस्या देखिएको बताउँदै उनले २ सय भन्दा बढी ठाउँमा मर्मत भइसकेको बताए। तत्काल समस्या समाधनका लागि समूह नै परिचालन गरेर लागिएको उनको भनाइ छ। विभिन्न स्थानमा साना समस्या देखिरहेको भए पनि ठूला समस्या नभएको उनले बताए। उनले भने, ‘बिहानदेखि साँझसम्म पानी वितरण गर्ने र रातमा मर्मत भइरहेको छ।’

लिमिटेले अहिले दैनिक साढे आठ करोड लिटर पानी आइरहेकामा चक्रपथभित्र अधिकांश स्थानमा पानी वितरण गरिरहेको छ। कतिपय घरमा राम्रोसँग पानी आएको त कुनै घरमा राम्रो नआएको भन्ने गुनासो आइरहेको छ। यस्तै उपभोक्ताले पानी आउने समयको बारेमा पनि आफूहरु जानकार नभएको र यसबार सूचना प्रणाली चुस्त नभएको गुनासो गरिरहेका छन्।

पानीको गुणस्तरमा शंका छैन्

यस विषयमा बोल्दै केयुकेयलका प्रवक्ता राईले भने ‘पानीको गुणस्तरमा कुनै शंका छैन्। हामीले पानी पठाउँदा दुई ठाउँमा प्रसोधन गरेर पानी पठाएका छौं। सुरुमा मेलम्चीमा पानी प्रसोधन हुन्छ। त्यसपछि रिजर्भ वायर टं्याकीहरुमा पनि पानी प्रसोधन गरिन्छ त्यसपछि मात्रै उपभोक्ताका धारामा पानी पठाएका छौं। त्यसैले पानीको गुणस्तर राम्रो छ।’

पानीका पाइपहरु पुरानो भएर रातो पानी गएको हुनसक्ने बताउँदै उनले केही त्यसलाई पानीको गुणस्तरमा जोड्न नहुने बताए। पाइपमा खिया लागेकोले सुरु सुरुमा त्यो भए पनि आफै ठिक हुने उनले बताए। यदि पानीको गुणस्तरमा शंका लागेमा महाकांल नजिक रहेको ल्याबमा गएर परिक्षण गर्न उनले सबैलाई अग्रह समेत गरे।

कीर्तिपुर र भक्तपुरमा अझै पुगेन मेलम्ची

मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपतयकामा आइरहेको छ। अहिले सुन्दरीजलस्थित दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्रमार्फत साढे आठ करोड लिटर पानी उपत्यकामा वितरण भइरहेको छ। अर्को प्रशोधन केन्द्र परीक्षण गरेर सञ्चालन गर्दा उपत्यकामा दैनिक १७ करोड लिटर पानी आउनेछ। अबको २ हप्ताभित्र नै १७ करोड लिटर पानी वितरण प्रणलीमा जोडिने केयुकेयलले जनाएको छ।

यस्तै अहिले मेलम्चीको पानी नपुगेका ठाउँहरु कीर्तिपुर, ठिमी र भक्तपुरमा पनि केही दिनभित्र नै पानी वितरण गरिने छ। कतिपय स्थानमा बाँकी संरचना निर्माण सकाएर र दैनिक १७ करोड लिटर पानी आएपछि ती स्थानमा पनि पानी पठाउने गरी काम भइरहेको जानकारी दिएको छ।

पानीको सेडुअल फेसबुकमा

लिमिटेडले अहिलेसम्म महाँकाल चौर, अनामनगर, मीनभवन, खुमलटार, पानीपोखरी, महाराजगञ्ज र बालाजु गरी सात पोखरीबाट पानी वितरण गरिरहेको छ। पानी पुगेका ठाउँमा उपभोक्ताहरुले पानीको सेडुअलका बारेमा जानकारी नपाउँदा पानी थाप्न नपाएको गुनासो गरेका छन्। तर, केयूकेयलले भने प्रत्येक वितरण शाखाको छुट्टा छुट्टै फेसबुक पेजमा सबै कुरा राखिएको बताएको छ। केयूकेयलका प्रवक्ता प्रकाश राईले सबैलाई आफ्नो वितरण शाखाको फेसबुक पेजमा गएर सूचना हेर्न अनुरोध गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *