नेपालमा गैँडाको संख्या ७५२, छ बर्षमा एक सय सात गैँडा बढे

डिसी नेपाल
२८ चैत २०७७ १८:२६

चितवन । नेपालमा पछिल्लो पाँच बर्षमा एक सय सात गैँडा बढेका छन् । गत चैत ९ गतेबाट थालिएको गैँडा गणना शुक्रबार ​सकिएसँगै चितवनमा आज पत्रकार सम्मेलन गर्दै गैँडाको संख्या सार्वजनिक गरिएको छ ।

नेपालमा जम्मा सात सय ५२ ओटा गैँडा रहेका छन् । जसमध्ये, पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा, र चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती आसपासका क्षेत्रमा ६९४, बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती आसपासका क्षेत्रमा ३८ वटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ गैँडा रहेका छन् ।

पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ वटा गैँडा थिए । तथ्याङ्कअनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए । नेपालमा सन् १९५० मा ८००, १९५५ मा ४००, १९६० मा ३००, १९६५ मा १००, १९७० मा १०८, १९७५ मा १४७, १९८० मा ३१०, १९८५ मा ३१०, १९९० मा ३५८ र १९९५ मा ४६६ रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । यसैगरी सन् २००० मा ६१२, २००५ मा ४०९, २०१० मा ४३५ हुँदै पछिल्लो गणना सन् २०१५ मा ६४५ पुगेको हो ।

यस वर्ष ब्लक बनाएर पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट चैत ९ गतेदेखि गैँडा गणना थालिएको थियो । गणनामा ४० हात्ती र २०० जनशक्ति परिचालन गरिएको थियो । दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिएका थिए । कोशीमा दरबन्दी रहेर यहाँ रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिएको थियो ।

४० जना मुख्य गणक र वैकल्पिक २० जनालाई गणनामा खटाइएको थिए । यसका अतिरिक्त हात्तीको दरबन्दीमा रहेका कर्मचारी खटिएका थियो । गणनाका क्रममा निकुञ्जको सेरिधजाह क्षेत्रमा जङ्गली ध्रुवे हात्तीले गणनाका क्रममा सात जना कर्मचारीलाई घाइते बनाएको थियो भने एक जनाको ज्यान समेत गएको थियो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । उनको अहिले पनि ह्याम्स अस्पताल काठमाडौँमा उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *