विद्यालयमा अनिवार्य योग र ध्यान कक्षा

डिसी नेपाल
२८ चैत २०७७ २१:३५

महोत्तरी । महोत्तरीमा अब योग र ध्यान विद्यालयका पठनपाठन र अभ्यासको थप विषय बन्ने भएको छ । जिल्लाको बर्दिवास नगरपालिकाले आफ्नो भूगोलभित्रका सबै सामुदायिक विद्यालयमा योग र ध्यानको अनिवार्य पठनपाठन र अभ्यासको थालनी गरेको हो ।

नगरभित्रका अहिले कायम ५२ सामुदायिक विद्यालयमा योग र ध्यानको पठनपाठन र अभ्यासका लागि एक/एक शिक्षकलाई प्रशिक्षित गरी अहिले पुनर्ताजगी अभ्यास गराउन थालिएको नगरपालिकाले जनाएको छ । “हामीले पहिलो चरणमा सबै सामुदायिक विद्यालयमा योग र ध्यानको पठनपाठन र अभ्यासका लागि एक/एक जना शिक्षकलाई तालिम दिएर प्रशिक्षित गराएका छौँ”, आज शिक्षक र अगुवा योग प्रशिक्षकका लागिको दोस्रो चरणको पुनर्ताजगी तालिममा नगरप्रमुख विदुरकुमार कार्कीले भने, “अब प्रशिक्षित शिक्षकले आ–आफ्नो विद्यालयमा विद्यार्थीलाई योग र ध्यानबारे सैद्धान्तिक र व्यावहारिक अभ्यास गराउनु हुनेछ ।”

दुई महिनाअघि प्रथम चरणको योग र ध्यानबारे सातदिने तालिम लिएका शिक्षकलाई नगरपालिकाले योग र ध्यान सिकाउने गुरु ल्याएर आजदेखि थप सात दिनको पुनर्ताजगी अभ्यास गराउँदैछ । अहिले प्रथम चरणमा दिइएको तालिमभित्रकै विषयको सैद्धान्तिक पक्ष र अभ्यासको पुनर्ताजगी गराइने योग ध्यान प्रशिक्षक स्वामी ध्यान प्रेम आलोकले जानकारी दिए ।

पुनर्ताजगी तालिममा दुई महिना पहिले पहिलो चरणको सैद्धान्तिक र अभ्यास कक्षामा सहभागी भएकै शिक्षक र केही अगुवा सामाजिक कार्यकर्ता सहभागी छन् । यो प्रशिक्षक प्रशिक्षण तालिम रहेको नगरपालिकाले स्पष्ट पारेको छ । ‘योग र ध्यान गरौँ, स्वस्थ रहौँ’ भन्ने उद्घोषसहित शुरु गरिएको अभ्यास कक्षामा स्वामी आलोकले अष्टाङ्ग ध्यान पद्धतिभित्रका आनायना, विपश्यना र ब्रह्मनाद ध्यानको सैद्धान्तिक ज्ञानसँगै अभ्यास गराइरहेका छन् । त्यसैगरी यस कक्षामा पतञ्जलि योगबारे सैद्धान्तिक ज्ञान र अभ्यास योग गुरु गणेश गैरेले गराउँदै छन् ।

योग र ध्यानले मानिस अनुशासित हुनेसँगै स्वस्थ रहने र मानसिक विकार हटेर आनन्दको अनुभूति गर्नसक्ने ध्यान गुरु आलोकको भनाइ छ । विद्यालयमा अनिवार्य शुरु गरिने ध्यान र योगका सैद्धान्तिक छलफल र अभ्यासले समाजमा यसको अनुकरण गर्ने थपिँदै जाने आलोकले बताए ।

नगरपालिकाले योग र ध्यानबारे आम जनचासो बढाउन नयाँ वर्षको थालनीसँगै थप दुई ठाउँमा अभ्यास कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । सर्वसाधारण सरिक हुनसक्ने गरी बर्दिवास–८ हाथीलेटको वेङ्खाडी बजार र बर्दिवास–६ को किसाननगरस्थित चौलिखा बजारमा योग र ध्यानको अभ्यास कक्षा सञ्चालन गर्न लागिएको नगरप्रमुख कार्कीले बताए ।

ध्यान र योगले शरीरलाई मात्र नभएर मनमस्तिष्कसमेत स्वस्थ हुने र मानिसलाई असल काममा लाग्न प्रेरक बन्ने ध्यान र योगगुरुको भनाइ छ । अब योग र ध्यानलाई जीवनको अभिन्न पक्ष बनाउन विद्यालयमा यस विषयलाई समावेश गरी पाठ्यक्रम नै बनाउनुपर्ने दुवै गुरुले बताएका छन् । प्रशिक्षक प्रशिक्षणसम्बन्धी पुनर्ताजगी अभ्यासमा १०० जना सहभागी छन् ।

जिल्लाको सुदूर उत्तरवर्ती नगर बर्दिवासमा ध्यान र योगको विद्यालय कक्षा सञ्चालन गरिने तयारीले यहाँका अन्य स्थानीय तहमा पनि चासो बढाएको छ । योग र ध्यानबारे चासो बढाउन र विद्यालयमा यसबारे नियमित अभ्यास गराउन आफूहरुले पनि पहलकदमी लिने बर्दिवाससँगै सीमा जोडिएको जिल्लाकै भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहको भनाइ छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *