अस्ट्रेलियामा घर बनाउन साढे ६ करोड रुपैयाँ तिरेका नेपाली घर देखेपछि छाँगाबाट खसे

डिसी नेपाल
३१ चैत २०७७ १६:३७

काठमाडौं। ठोस इँटा, टाइल गरिएको छाना र तस्वीरमा जस्तै डिजाइन भएको घर सपनाको पारिवारिक घर जस्तै देखिन्छ । तर यो कथाको आधा भाग मात्र हो। अस्ट्रेलियामा आफ्नै घरको लागि ७ लाख डलर तिरेका विष्णु अर्यालले आधा मात्रै घर पाएको बताएका छन् । अस्ट्रेलियाको च्यानल नाइनले एक रिपोर्टमा यसलाई एउटा परिवारको विपत्तिको कथा र घर बनाउने जोसुकैको लागि पनि चेतावनी भनेको छ ।

अर्याललाई राम्रो अंग्रेजी आउँदैन किनकि अंग्रेजी उनको दोस्रो भाषा हो । परिवार बसाल्ने र नयाँ जीवन निर्माण गर्ने उद्देश्यका साथ उनी नेपालबाट अष्ट्रेलिया गएका थिए । अगाडि बढ्ने सोचले परदेशमा परिश्रम गरिरहेका अर्यालले अहिले अर्याललाई आफू आफ्नो जीवनयात्रामा १० कदम पछाडि धकेलिएको महसुस गरेका छन् ।

च्यानल नाइनको अ करेन्ट अफेयर कार्यक्रममा अर्यालले भने ‘यो स्वतन्त्र उभिएको घर होइन, डुब्लेक्स होइन यो आधा घर हो ।’ उनको घर खुला ठाउँमा बनाइएको छ । तर, घर आधा मात्र बनेको छ । घरको बार्यातर्फ डिजाइन छ तर दायाँतर्फ केही पनि छैन । दायाँतर्फ कुनै झ्यालसमेत नराखी भित्तो बनाइएको छ र दायाँतर्फ उनको घडेरीको आधा भाग त्यत्तिकै खाली छोडिएको छ ।

अर्यालले घर बनाउन एक कम्पनीलाई ठेक्का दिएका थिए । अर्यालका अनुसार उनले पूर्ण घर बनाउन ठेक्का दिएका थिए तर कम्पनीले बायाँतर्फ आधा घरमात्र बनाइदिएको छ र यो घर निकै कुरुप देखिन्छ । ‘उनीहरुले हामीलाई १ वर्षमा घर बन्ने भनेका थिए तर हामीले ३ वर्ष पर्खिनुपर्यो । जब हामी घरको प्रगति हेर्न आयौं घर हामीले आशा गरेभन्दा फरक पायौं’ उनले भने ।

‘मैले सुपरभाइजरलाई फोन गरेर सोधेँ, के भइरहेको छ, घर किन यस्तो छ ? अनि उनले ‘यो डुप्लेक्स हो, अर्ध डुप्लेक्स हो’ भने। त्यो दिन म झन्डै बेहोस भएँ’ अर्यालले भने। २२ सेप्टेम्बर २०१६ मा अर्यालले ज्याक होम्ससँग घर निर्माण सम्झौता गरेका थिए । सिड्नीको दक्षिण पश्चिममा रहेको एडमन्डसन पार्कको उपनगरमा घर बनाउनको लागि उनले ३ लाख ९८ हजार ९५० डलर जग्गाको लागि तिरे । ज्याक होम्ससँगको घर निर्माणको लागि छुट्टै ३ लाख २२ हजार ४०० डलरको सम्झौता गरे ।

त्यतिबेला सबै पक्ष अर्यालले यो घर पाउने कुरामा सहमत थिए । तर सम्झौता भएपछि घर निर्माण कार्य सुरु भएको समय बीचमा योजना परिवर्तन भयो। ज्याक होम्सका अनुसार लिभरपुल काउन्सिलको नियमले अर्यालको घरसँगै जोडिएको अर्को घर हुनुपर्ने भन्छ । अ करेन्ट अफेयरलाई पठाएको एक कानुनी पत्रमा ज्याक होम्सले अर्याललाई यस विषयमा सचेत गराइएको र उनीसँग एक पटकभन्दा बढी सम्झौताबाट पछि हट्ने अवसर भएको बताएको छ । अर्यालले भने आफूले यस प्रक्रियामा भरोसा गरेको बताए।

‘जब बैंकले सोध्यो, मैले तिनीहरूलाई फोन गरें र योजना पठाउन भनें । मैले योजना नहेरी बैंकमा फरवार्ड गरें’ अर्यालले भने। त्यो योजना आधा डुप्लेक्सको लागि थियो। ज्याक होम्सले कस्टम डिजाइनका घरहरू निर्माण गर्दछ र अर्यालको दक्षिण पश्चिमी सिड्नी छिमेकका धेरै घरहरुको निर्माताहरू मध्ये एक हो । अहिले अर्याल बसोवास प्रमाणपत्र बिना नै यो घरमा बस्दै आएका छन् । ज्याक होम्सले अकुपेसन प्रमाणपत्र प्राप्त गर्न सबै प्रक्रिया पूरा गरिसकेको र ९ महिनादेखि यो प्रमाणपत्र हस्ताक्षर गराउने प्रयास गरिरहेको छ ।

तर, अकुपेसन प्रमाणपत्र जारी गर्नुअघि प्रमाणीकरण गर्ने निकाय र नगर काउन्सिलले घरको अर्कोतर्फको आधा डुप्लेक्स पनि पूरा हुने ग्यारेन्टी चाहन्छन् । ‘हामी बाध्य भएर यहाँ सर्नुपर्यो किनकि मेरी पत्नी गर्भवती थिइन्, मैले काम गुमाएको थिएँ । हामी साँच्चै कठोर परिस्थितिमा थियौं र हामीले बस्ने ठाउँ खोज्नु आवश्यक थियो किनभने हामीसँग ठाउँ थिएन’ अर्यालले भने ।

‘कुनै पनि सम्भाव्य मालिकको लागि घर किन्नु र निर्माण गर्नु एउटा ठूलो निर्णय हो’सम्पत्ति विशेषज्ञ माइकल पालियरले भने ‘पछि जमिनको मूल्य बढ्न सक्छछ, तर मेरो विचारमा वास्तविक घर मूल्यहीन हुनेछ । पछि यो घर उल्टै दायित्वको विन्दूमा पुग्न सक्छ । पछि यो घर किन्नेलाई त्यहाँ ढोका र झ्याल भएको स्वतन्त्र रुपमा उभिएको घर निर्माण गर्न यो घर भत्काउनुपर्छ र त्यसको लागि उल्टै पैसा लाग्नेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *