अस्ट्रेलियामा नेपालीसँग करोडौं लिएर आधा मात्र घर बनाइदिने कम्पनीले यस्तो सफाइ दियो

डिसी नेपाल
२ वैशाख २०७८ १४:५५

काठमाडौं। अस्ट्रेलियामा एक नेपालीसँग साढे ६ करोड रुपैयाँ (७ लाख डलर) लिएर आधा मात्र घर बनाइदिने अस्ट्रेलियाली कम्पनीले आफ्नो सफाइ दिएको छ । अस्ट्रेलियाको ज्याक होम्स नामक कम्पनीले त्यहाँ बस्दै आएका नेपाली विष्णु अर्यालसँग घरको जग्गा र घर बनाउने खर्च गरी ७ लाख डलर लिएको थियो । उनले आधा मात्र घर बनाएर यो घर ‘आफ डुप्लेक्स’ घर भएको भनेको थियो ।

न्यूज डटकम डटएयूमा प्रकाशित समाचार अनुसार ज्याक होम्सले यो घर सुरुवातमा सिंगो घर नै बनाउन सुरु गरिएको बताएको छ । तर, पछि लिभरपुल काउन्सिलको नियमसँग मेल खानेगरी बनाउनु पर्दा घरको डिजाइन परिवर्तन गर्नुपरेको दावी गरेको छ । ज्याक होम्सले गरेको दावी अनुसार लिभरपुल काउन्सिलको नियममा त्यो ब्लक अर्को एक ब्लकसँग जोडिएको हुनुपर्ने भनिएको छ । कम्पनीले अर्याललाई यो नियम, योजनामा गरिएको परिवर्तनबारे जानकारी गराइएको र उनीसँग यो सम्झौता रद्द गर्ने एकभन्दा धेरै अवसर समेत भएको दावी गरेको छ ।

सोमबार राती ‘अ करेन्ट अफेयर’को भाग प्रसारण भएपछि ज्याक होम्सलाई प्रयोगकर्ताहरुले निकै खराब रिभ्यू दिएका छन् र यसको रिभ्यू एक स्टारमा झरेको छ । अहिले कम्पनीले एउटा लामो वक्तव्य जारी गरेको छ । ‘अहिले काम रोकिनुको कारण बनेको असमझदारी प्रमाणीकरणबर्ता र लिभरपुल सिटी काउन्सिलबीचको हो र हामी यो परिस्थितिलाई सकेसम्म चाँडो सुधार गर्न दुवै निकायसँग काम गरिरहेका छौं’ कम्पनीले वक्तव्यमा भनेको छ ।

‘तथ्य के हो भने जोडिएको प्लटका मालिकले आफ्नो घर बनाउन सकेनन् त्यसैले प्रमाणीकरणकर्ताले ‘अकुपेसन प्रमाणपत्र’ दिन अस्वीकार गरिरहेको छ’ कम्पनीले अगाडि भनेको छ । तर, अर्याल भने यो सफाइबाट सन्तुष्ट छैनन् । उनले फेसबुकमा पोस्ट गर्दै यो घटना सार्वजनिक भएपछि यसलाई ढाकछोप गर्न कम्पनीले झुटो वक्तव्यवाजी गरेको आरोप लगाएका छन् । उनले ज्याक होम्सले फेरि पनि गलत दावी गरेकोले आफूले यो घटना सार्वजनिक गरेको बताएका छन् । ज्याक होम्सले भने आफूले घर बनाउँदा सकेसम्म राम्रो गरेको दावी गरेको छ ।

सोमबार टेलिभिजन कार्यक्रममा अर्यालले आफ्नो परिवार कोरोनाभाइरस महामारीका कारण यो घरमा सर्न बाध्य भएको बताएका थिए । उनले आफ्नो परिस्थिति अन्य घर किन्न चाहनेहरुको लागि चेतावनी हुने बताएका थिए । उनका एक छिमेकीका अनुसार यो घर निकै असामान्य देखिन्छ र मानिरहरु त्यो घरसँग फोटो खिच्न थालेका छन् । ‘थुप्रै मानिसहरु बाटोमा फोटो खिचिरहेका हुन्छन् । उनीहरुलाई लाग्छ यो निकै कुरुप देखिन्छ’ उनले भने ।

२२ सेप्टेम्बर २०१६ मा अर्यालले ज्याक होम्ससँग घर निर्माण सम्झौता गरेका थिए । सिड्नीको दक्षिण पश्चिममा रहेको एडमन्डसन पार्कको उपनगरमा घर बनाउनको लागि उनले ३ लाख ९८ हजार ९५० डलर जग्गाको लागि तिरे । ज्याक होम्ससँगको घर निर्माणको लागि छुट्टै ३ लाख २२ हजार ४०० डलरको सम्झौता गरे ।

त्यतिबेला सबै पक्ष अर्यालले यो घर पाउने कुरामा सहमत थिए । तर सम्झौता भएपछि घर निर्माण कार्य सुरु भएको समय बीचमा योजना परिवर्तन भयो। ज्याक होम्सका अनुसार लिभरपुल काउन्सिलको नियमले अर्यालको घरसँगै जोडिएको अर्को घर हुनुपर्ने भन्छ । अ करेन्ट अफेयरलाई पठाएको एक कानुनी पत्रमा ज्याक होम्सले अर्याललाई यस विषयमा सचेत गराइएको र उनीसँग एक पटकभन्दा बढी सम्झौताबाट पछि हट्ने अवसर भएको बताएको छ । अर्यालले भने आफूले यस प्रक्रियामा भरोसा गरेको बताए।

‘जब बैंकले सोध्यो, मैले तिनीहरूलाई फोन गरें र योजना पठाउन भनें । मैले योजना नहेरी बैंकमा फरवार्ड गरें’ अर्यालले भने। त्यो योजना आधा डुप्लेक्सको लागि थियो। ज्याक होम्सले कस्टम डिजाइनका घरहरू निर्माण गर्दछ र अर्यालको दक्षिण पश्चिमी सिड्नी छिमेकका धेरै घरहरुको निर्माताहरू मध्ये एक हो । अहिले अर्याल बसोवास प्रमाणपत्र बिना नै यो घरमा बस्दै आएका छन् । ज्याक होम्सले अकुपेसन प्रमाणपत्र प्राप्त गर्न सबै प्रक्रिया पूरा गरिसकेको र ९ महिनादेखि यो प्रमाणपत्र हस्ताक्षर गराउने प्रयास गरिरहेको छ ।

तर, अकुपेसन प्रमाणपत्र जारी गर्नुअघि प्रमाणीकरण गर्ने निकाय र नगर काउन्सिलले घरको अर्कोतर्फको आधा डुप्लेक्स पनि पूरा हुने ग्यारेन्टी चाहन्छन् । ‘हामी बाध्य भएर यहाँ सर्नुपर्यो किनकि मेरी पत्नी गर्भवती थिइन्, मैले काम गुमाएको थिएँ । हामी साँच्चै कठोर परिस्थितिमा थियौं र हामीले बस्ने ठाउँ खोज्नु आवश्यक थियो किनभने हामीसँग ठाउँ थिएन’ अर्यालले भने ।

‘कुनै पनि सम्भाव्य मालिकको लागि घर किन्नु र निर्माण गर्नु एउटा ठूलो निर्णय हो’ सम्पत्ति विशेषज्ञ माइकल पालियरले भने ‘पछि जमिनको मूल्य बढ्न सक्छछ, तर मेरो विचारमा वास्तविक घर मूल्यहीन हुनेछ । पछि यो घर उल्टै दायित्वको विन्दूमा पुग्न सक्छ । पछि यो घर किन्नेलाई त्यहाँ ढोका र झ्याल भएको स्वतन्त्र रुपमा उभिएको घर निर्माण गर्न यो घर भत्काउनुपर्छ र त्यसको लागि उल्टै पैसा लाग्नेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *