बायोमेट्रिक हाजिरी बैशाख १२ देखि कार्यान्वयन हुने

डिसी नेपाल
२ वैशाख २०७८ १६:०६

काठमाडौं । वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी नमिलेमा पनि आगामी बैशाख १२ गतेसम्म विदेश उड्ने कामदारलाई अवरोध नपुर्याउने जनाएको छ । यसअघि विभागले १८ चैतमा सूचना जारी गर्दै हाजिरी नमिलेमा विदेश जान नदिइने जानकारी दिएको थियो ।

विभागको सूचना व्यवस्थापन प्रणाली (फेमिस) को स्तरोन्नति गर्ने कार्य जारी रहेको भन्दै बैशाख १२ सम्म हाजिरी नमिलेमा पनि नफर्काउने बताएको हो ।

सोही सूचनाअनुसार हाजिर नमिलेका कामदार विदेश जान नपाउने भएका हुन् । एक व्यक्तिको हाजिरीमा अर्को व्यक्ति विदेश जाने परिपाटी बढेको भन्दै विभागले कडाइ गर्न लागेको जानकारी दिएको छ । विभागले मंगलबार थप सूचना जारी गर्दै हाजिरीलाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ ।  बायोमेट्रिक हाजिरीमा रुजु गराउँदा नमिलेमा श्रमिकलाई विमानस्थलको श्रम कक्षबाटै फर्काइने बताइएको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारले विदेश जानुपूर्व अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिने गरेको र नक्कली बायोमेट्रिक लिएको भए उनीहरूलाई विमानस्थलबाट फर्काइने बताइएको छ । विभागले नक्कली बायोमेट्रिक प्रयोग गर्दा बिमा तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट वञ्चित हुन सक्ने, बायोमेट्रिक नमिल्दा विदेशबाट पुनःश्रम स्वीकृति प्राप्त गर्न नसक्ने तथा गन्तव्य मुलुकसम्बन्धी जानकारीबाट वञ्चित हुने विभागले जनाएको छ ।

त्यस्तै, बायोमेट्रिक हाजिरी नमिल्दा वैदेशिक रोजगारसम्बन्धी कानुन तथा अन्य आवश्यक जानकारी र सुविधाबाट वञ्चित हुनुको साथै सुरक्षित रोजगारी तथा अन्य हकअधिकारका विषयबाट वञ्चित हुने भन्दै बायोमेट्रिकको क्रसचेक गर्ने विभागको भनाइ छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा (२७) र वैदेशिक रोजगार नियमावली, २०६४ उपनियम (२०) अनुसार वैदेशिक रोजगारीमा जाने कामदारले प्रस्थानपूर्व अभिमुखीकरण तालिम लिई अभिमुखीकरण तालिम प्रदायक संस्थाले सम्बन्धित कामदारको बायोमेट्रिक हाजिरी गराई त्यसको विवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालीमा उपलब्ध गराउनु पर्ने प्रावधान छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *