प्रदेशसभा सदस्य मल्ल लगातार १० वटा बैठकमा अनुपस्थित

डिसी नेपाल
३ वैशाख २०७८ २३:२०

सुदूरपश्चित। सुदूरपश्चिम प्रदेशसभाका सदस्य कर्णबहादुर मल्ल लगातार बसेका प्रदेशसभाका दश वटा बैठकमा उपस्थित हुन नसक्नाको कारणसहितको सूचनासम्बन्धी प्रस्तावलाई प्रदेशसभाको बैठकले स्वीकृत गरेको छ।

शुक्रबार बसेको प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले ‘सुदूरपश्चिम प्रदेशको प्रदेशसभा नियमावली २०७४’ बमोजिम उक्त प्रस्ताव पेश गरेपछि बैठकले स्वीकृत गरेको हो। प्रदेशसभा नियमावलीमा कुनै सदस्य लगातार दश वा सोभन्दा बढी बैठकमा अनुपस्थित रहनुपर्ने भएमा तत्सम्बन्धी अग्रीम सूचना सभामुखलाई दिनु पर्ने, सूचनामा अनुपस्थित रहने अवधि र कारणसमेत उल्लेख गर्नु पर्ने र यस्तो सूचनालाई सभाको स्वीकृतिका निम्ति सभामुखले प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।

बैठकमा प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवरले समितिमा दफावार छलफल भई तयार पारिएको ‘सुदूरपश्चिम प्रदेशको प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४’लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन प्रस्तुत गरे। यसअघि बैठक प्रारम्भ हुनासाथ सभामुखबाट समय लिएर प्रदेशसभा सदस्य कुलवीर चौधरीले कञ्चनपुरको बेलौरी नगरपालिका–२का राजेश चौरसियाको घरमा विद्युत् लाइन चुहावट भई भएको आगलागीबाट धनमाल जलेर नष्ट भएको भन्दै पीडितलाई राहतको व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, नेकपा एमालेका प्रमुख सचेतक तारा लामा तामाङ, नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावल, नेकपा माओवादी केन्द्रका नेता अक्कलबहादुर रावल र राष्ट्रिय जनता पार्टीका नेता कृष्णबहादुर चौधरीले समसामयिक विषयमा धारणा व्यक्त गरेका थिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *