भारतीयहरु नेपाल आएर चीनको कोभिड–१९ खोप किन लगाइरहेका छन् ?

डिसी नेपाल
५ वैशाख २०७८ १४:१३

काठमाडौं। यो हप्ता बुधबार नेपालको राजधानी काठमाडौंको टेकु अस्पतालका कर्मचारी त्यतिबेला अलमलमा परे जब उनीहरुले कोभिड भ्याक्सिन लगाउन आएका केही व्यक्तिहरुको साथमा ठूला ठूला सुटकेस र ब्याग देखे । अस्पतालका कर्मचारीका अनुसार जब यी व्यक्तिहरुलाई परिचय पत्र देखाउन भनियो, उनहिरुले भारतीय पासपोर्ट देखाए ।

अस्पतालका निर्देशक सागर राजभण्डारीले बीबीसी नेपालीसँग भने ‘यी मानिसहरुबाट हामीलाई थाहा भयो कोभिड भ्याक्सिनको यसरी पनि प्रयोग भइरहेको छ । यो एक किसिमले भ्याक्सिनको गलत प्रयोग गरेको जस्तै घटना थियो । हामीले उनीहरुलाई तपाइँहरुलाई भ्याक्सिन दिन सक्दैनौं भनेपछि उनीहरु झगडा गर्न उत्रिए । कैयौं मानिसहरुले फरक फरक तरिकाले हामीलाई दबाब दिए ।’

नेपालस्थित चिनियाँ दुतावासले आफ्नो वेबसाइटमा ती प्रावधानको बारेमा उल्लेख गरेको छ जसअनुसार चीनले आफ्नो देशमा प्रवेशको लागि ती व्यक्तिहरुलाई मात्रै भिसा दिइरहेको छ जसले चीनमा निर्मित भ्याक्सिन लगाएका छन् । यो घटनापछि नेपाली अधिकारीहरुले चीनका कम्पनीको साथमा काम गर्ने भारतीय व्यवसायी भिसा हासिल गर्नको लागि नेपाल आएर चीनमा निर्मित भ्याक्सिन लगाउन चाहन्छन् भन्ने शंका गरेका छन् ।

भारतमा कोभिशिल्ड र कोभ्याक्सिनको निर्माण भइरहेको छ । यसका अलावा रुसी भ्याक्सिन स्पुतनिक भीलाई पनि आपतकालीन अवस्थामा प्रयोगको लागि अनुमति दिइसकिएको छ । तैपनि अझै भारतमा सबैको लागि भ्याक्सिन उपलब्ध छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देव चन्द्र लाल कर्णका अनुसार पछिल्लो समय ठूलो संख्यामा भारतीय नेपाल आइरहेका छन् ।

उनले भने ‘भारतीयको लागि नेपालबाट कुनै अर्को देश जाने प्रावधान छ । यसको लागि नो अब्जेक्सर लेटर प्राप्त गर्नुपर्छ । कैयौं भारतीयसँग अहिले यो प्रमाणपत्र छ ।’ अहिले नेपाल र भारतबीच केवल एक विमान सेवा छ जसले एयर बबल व्यवस्था अनुसार सेवा दिइरहेको छ । नेपाल र चीनबीच पनि उडान जारी छ । काठमाडौंस्थित भारतीय दूतावासबाट पछिल्लो केही दिनमा नो अब्जेक्सन लेटर जारी गर्ने संख्यामा वृद्धि पाइएको छ ।

नेपालमा ३१ मार्चदेखि १९ अप्रिलको बीचमा ४० देखि ५९ वर्ष उमेर समुहका मानिसहरुलाई भ्याक्सिन दिइँदैछ । यसबाहेक काम, व्यवसाय, पारिवारिक कारणले वा उपचारका लागि चीन जानेहरुलाई पनि भ्याक्सिन दिइँदैछ । चीनका विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीहरुलाई पनि भ्याक्सिन दिइँदैछ । नेपाल सरकारका अनुसार यसअघि १० दिनमा ५० हजार जनालाई भ्याक्सिन दिइएको छ ।

नेपाल सरकारका स्वास्थ्य विभागका संयुक्त प्रवक्ता डा. समिर कुमार अधिकारीले भने ‘पहिले हामीले मानिसहरुलाई परिचय पत्र देखाउन भनेका थियौं । अब जिल्ला स्वास्थ्य अधिकारीहरुलाई लिखित रुपमा परिचय पत्रको जाँच अनिवार्य गर्न भनेका छौं ।’ यद्यपि नेपालका अधिकारीहरुले नेपालमा बसिरहेका सानातिना व्यवसायमा संलग्न भारतीय नागरिकहरुलाई पनि भ्याक्सिन दिइनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *