आफ्नो देशबाट नपाएपछि नेपाल आएर विदेश जान्छन् हजारौं भारतीय, नेपाल सरकार मुकदर्शक

उपेन्द्र शाही
६ वैशाख २०७८ १५:१९

काठमाडौं। काठमाडौंको लैनचौरस्थित भारतीय राजदुतावासमा आजभोलि बिहानैदेखि भारतीय नागरिकहरुको भिड जम्मा हुन्छ । प्रत्येक दिन सयौं भारतीय नागरिकहरु लामो भिडभाड सहितको लाइनमा बसेका हुन्छन्। भारतमा कोरोना संक्रमण फैलिएपछि विभिन्न देशहरुले भारतबाट आउनेमाथि लगाएको प्रतिबन्ध छल्न उनीहरु नेपाल आएका हुन् ।

यी भारतीयहरु भारतबाट नेपाल आउँछन् । अनि नेपालस्थित भारतीय दूतावासबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन्छन् र नेपालको विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जान्छन् । पछिल्लो समय भारतबाट अरब तथा खाडीका मुलुक जान यी भारतीयहरु ठूलो संख्यामा नेपाल आएका छन् । नेपालीहरुजस्तै भारतीयहरु पनि ठूलो संख्यामा खाडी मुलुक रोजगारीका लागि जाने गरेका छन् ।

खाडी मुलुकहरुले अहिले भारतबाट आउनेहरुलाई प्रतिबन्ध लगाएका छन् तर नेपालबाट भने ती मुलुक जान प्रतिबन्ध छैन । नेपाललाई प्रतिबन्धित सूचीमा नराखिएको, नेपाल आउन भारतीयलाई भिसाको आवश्यकता नपर्ने र नेपालसँग भारतको खुला सीमा जोडिएको अवस्थाको फाइदा उठाउँदै उनीहरु यसरी विदेश जाने गरेका छन् ।

भारतबाट साउदी जान नपाएपछि नेपालबाट साउदी जान लागेको लाइनमा बसेका एक भारतीयले बताए । ‘मैं साउदी जाने कि लिए नेपाल आया हुँ,’ उनले भने ‘भारत से खाडी के मुल्क में जाने के लिए प्रतिबन्ध है ।’ भारतका म्यानपावरवालाले आफूलाई नेपालबाट साउदी जान भनेकोले आफू नेपाल आएको उनले बताए । उनका अनुसार उनी दूतावासमा एनओसीको लागि लाइन बसेका हुन् । एनओसी पाएपछि उनी नेपालको विमानस्थल प्रयोग गरेर साउदी जाने तयारीमा छन् ।

नेपालमा कोरोना संक्रमण दर दिन प्रतिदिन बढिरहेको अवस्थामा नेपाल आउने भारतीयहरुको लागि सरकारले कुनै रोकटोक गरेको छैन। भारतमा कोरोना संक्रमणको दोस्रो लहरले भयावह रुप लिइरहँदा विभिन्न राज्यहरुमा लकडाउन भएको छ। सोमबार मात्र केन्द्रीय राजधानी दिल्लीमा ६ दिनको लकडाउन घोषणा गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार दिल्लीमा अहिले दैनिक २५ हजार संक्रमित थपिन्छन् । त्यसैले धेरै देशहरुले भारतबाट आवागमनमा प्रतिबन्ध लगाएका छन् ।

अरु देशले प्रतिबन्ध लगाए पनि नेपालको हकमा भने खुला सिमाना र हवाइ यातायातमा कडाइ नगर्दा प्रत्येक दिन नेपाल आउने भारतीयको संख्या बढिरहेको छ। अध्यागमन विभागले दिएको तथ्यांक अनुसार पछिल्लो तीन महिनामा करिब १६ हजार भारतीय नागरिकहरुले नेपालको विमानस्थल प्रयोग गरेर अन्य मुलुक गएका छन्। सरकारको यो विषयमा ध्यान नपुग्दा प्रत्येक महिना उनीहरुको संख्या बढिरहेको छ।

सन् २०२१ को पहिलो महिना जनवारीमा ३ हजार ५ सय १४ जना भारतीयहरुले नेपालको विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक गएका छन् । यस्तै फेब्रुअरीमा ४ हजार ७७ जना र मार्चमा ५ हजार २ सय बढी भारतीयले नेपालको विमानस्थल प्रयोग गरेर विभिन्न देश गएका छन्। अप्रिल महिनाको १२ तारिखसम्म मात्रै ३ हजार बढी भारतीयहरु नेपालको विमानस्थल प्रयोग गरेर विभिन्न मुलुक गएका छन्।

नेपाल सरकारले भारतीयको आवागमनमा कडाइ नगर्दा भारतीयहरु नेपाल आएर तेस्रो मुलुक जाने क्रम बढ्दो क्रममा रहेको तथ्यांकले नै देखाएको छ । यसले नेपालभित्र संक्रमण फैलिने जोखिम उत्तिकै बढाइरहेको छ । भारतबाट हवाइ मार्गबाट मात्रै जान सकिने मुलुकले प्रतिबन्ध लगाउँदा सडक मार्ग समेत खुला भएको नेपालले भने कडाइ गर्न सकेको छैन ।

यसरी हजारौँको संख्यामा भारतीयहरु निर्धक्क रुपमा नेपाल आइरहँदा नेपालमा कोरोना संक्रमण जोखिम बढिरहेको छ। सीमा नाकामा कडाइ नहुँदा र उचित निगरानी हुन नसक्दा कोरोना संक्रमण झन भयावह स्थितिमा पुग्न सक्ने खतरा बढेको छ। नेपालमा कोरोनाको पहिलो लहर पनि भारतबाट आएकाहरुबाटै फैलिएको पृष्ठभूमिमा अब पनि त्यसैगरी संक्रमण फैलिने कुरालाई नकार्न सकिन्न । नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु यसरी तेस्रो मुलुक जाँदा ती मुलुकहरुले नेपालमाथि नै कडाइ गर्न सक्ने अर्को जोखिम पनि छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *