अमेरिकामा एनआरएनए चुनावः मर्दा-पर्दा हाजिर छु : लामिछाने, युवालाई प्राथमिकता : पन्थ

डिसी नेपाल
६ वैशाख २०७८ १९:२१

बाल्टिमोर, अमेरिका। गैरआवासीय नेपाली संघ (एनआरएनए), अमेरिकाको आगामी मे महिनाको अन्त्यमा हुने निर्वाचनमा अध्यक्षका प्रत्यासी कृष्ण लामिछानेले अमेरिकाको भूमिमा मर्दा र पर्दा नेपालीका लागि आफू सधैं हाजिर हुने बताएका छन्।

मेरिल्याण्डको बाल्टिमोर सहरमा आफ्नो समूहको उम्मेद्वारी घोषणा गर्दै लामिछानेले चुनाव जिते पनि हारे पनि नेपालीहरुको सेवामा लाग्ने बाचा गरे। उनले गैरआवासीय नेपालीहरुका मुद्दालाई सरकारसँग लविंग गर्न आफू र आफ्नो समूह सक्षम रहेको बताएर बाल्टिमोरवासी नेपाली समूदायलाई आश्वस्त पारेका थिए।

निकै ठूलो सभाहलमा भेला भएका नेपालीहरुको समूहलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार कृष्णजीवी पन्थले युवाहरुलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले अध्यागमन सम्बन्धी कानुनी समस्यामा परेका नेपालीहरुका लागि एनआरएनएले निःशुल्क वकिल राख्नुपर्ने भन्दै उनले आफू विजयी भए सो काम गर्ने बताए। उनले अमेरिकामा रहेका नेपालीहरुका स्थानीय संस्थाहरुको आवाज सुनेर उनीहरुसँग सहकार्य गर्दै अघि बढ्ने बताएका थिए।

महासचिवका उम्मेद्वार विनोद भट्टले एनआरएनएमा सुधारका लागि आफू त्यसको नेतृत्वमा जान चाहेको बताएका थिए। कार्यक्रममा एनआरएनएका अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीले एनआरएनएलाई साझा संस्था बनाउन अपिल गरेका थिए भने बोर्डअफ डाइरेक्टरका उम्मेद्वारहरु अशोक केसी, पूर्ण बराइलीलगायतले एनआरएनएलाई साझा संस्थाको रुपमा अघि बढाउन आफूहरु प्रतिबद्ध भएको बताएका थिए।

जेष्ठ नागरिक गणेश मलेगोको सभापतित्वमा भएको सो कार्यक्रममा माहावाणिज्यदूत प्रेमराजा महतले उम्मेद्वारहरुलाई नेपालीजनको हितमा काम गर्न आह्वान गरेका थिए भने नेपाली कांग्रेसकी नेतृ उमा शाहले संघको नेतृत्वमा आउनेहरुले संघभित्र देखिएका कमी कमजोरीहरु सुधार गर्न लागिपर्ने विश्वास व्यक्त गरेकी थिइन्। उनले समहमती र सहकार्यमा जोड दिइन्।

यसैगरी प्रवासी नेपाली एकता मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले पाँचतारे होटलमा गोष्ठी गर्ने तर नेपाली मर्दा सहयोग गर्न तयार नहुने एनआरएनए होइन नेपालीका लागि काम गर्ने एनआरएनए चाहिएको बताए। हालको एनआरएनएले सबैलाई समेट्न नसकेको भन्दै उनले सबैलाई समेट्ने एनआरएनए चाहिएको बताए।

बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका(बाना) का अध्यक्ष सुबोधविलास पन्तले गता निर्वाचनको २०९३ वटा नक्कली भोट के हो ? भन्ने प्रश्न गर्दै मेरिल्याण्डबाट प्रतिनिधित्व गर्ने बरिष्ठ उपाध्यक्षका उमेद्वार कृष्णजीवी पन्तले आगामी कार्यकालमा सकारात्मक कामहरु गर्न सक्ने आशा व्यक्त गरे।
बानाकै पूर्वअध्यक्ष अनसुया वन्तले एनआरएनएमा महिलाहरुको सुरक्षाको प्रश्न उठाइन्। उनले महिला सुरक्षित नहुने हुंदा सो संस्थामा नजान दवाव पर्ने गरेकोले महिलाका लागि काम गर्ने सुरक्षित बातावरण बनाउनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा राप्रपाका सहमहामन्त्री प्रेम श्रेष्ठले आफ्नो समूहको तर्फबाट लामिछाने र पन्थको समूहलाई पूर्ण समर्थन रहेको जानकारी दिए। उनले अमेरिकाभरका आफ्ना समर्थकहरुलाई लामिछाने समूहलाई भोट हाल्न आह्वान पनि गरे।

स्थानीय संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना र उम्मेद्वारहरुले आआफ्नो धारणा राखेका थिए। जसअनुसार, बानाका पूर्वअध्यक्ष कृस घिमिरे, नेपाली जनसम्पर्क समिति मेरिल्याणका अध्यक्ष राजेन्द्र सेन्चुरी, विनोद उप्रेती, मुक्ति दवाडी, जेदु पोख्रेल,कृष्ण सादगी, चित्रा केसी, प्रतिक पाण्डे, दुर्गा श्रेष्ठ, लोकनाथ तिवारी, विकास उप्रेती, प्रविण खड्कालगायतले आआफ्नो धारणा राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *