नेपालको सहज जित

डिसी नेपाल
९ वैशाख २०७८ १६:५०

काठमाडौं । घरेलु भूमीमा जारी त्रिदेशीय सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले सहज जित हासिल गरेको छ । बिहिबार त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेको छ ।

नेपालले दिएको २ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसियाले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ४८ रन मात्र बनाउन सक्यो । मलेसियाका अमिनुद्दिन राम्लीले सर्वाधिक ४१ रन बनाए । यस्तै अहमद फैजले ३१ रन बनाउँदा फित्री सामले १४ रन बनाए । नेपालका सोमपाल कामी, कमल सिंह ऐरी र सन्दीप लामिछानेले समान ३३ विकेट लिए । सोमपालले ४ ओभर बलिङ गर्दै एक मेडेन ओभरसहित २० रन खर्चिएर ३ विकेट लिए । यस्तै आजै टी२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका कमलले ३.१ ओभरमा १६ रन दिएर ३ विकेट लिए । सुशन भारीले एक विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो । नेपालका लागि करन केसीले विष्फोटक ब्याटिङ गर्दै १३ बलमा ७ छक्काको मद्दतमा ४५ रन बनाए । यस्तै आसिफ शेखले ४२ रन बनाउदा कप्तान ज्ञानेन्द्र मल्ले ४१ रन तथा दिपेन्द्र सिंह ऐरीले ३३ रन बनाए । मलेसियाका लागि अनवर रहमान, फित्री शाम र साद अजिजले समान दुई–दुई विकेट लिए । त्यस्तै मोहम्मद आफिकले एक विकेट लिए ।

अब नेपालले फाइनलमा नेदरल्यान्ड्ससँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ । नेपालले ४ खेलमा ३ जितसहित ६ अंक जोड्यो । ४ खेलमा ५ अंक जोडेको नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो । मलेसिया ४ खेलमा १ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *