एक इनिङमा सबैभन्दा धेरै छक्का हान्ने टिममा नेपाल चौथो स्थानमा

डिसी नेपाल
९ वैशाख २०७८ १७:१३

काठमाडौं। नेपालले आजको खेलमा अर्को इतिहास बनाएको छ । मलेसियाविरुद्ध भएको टि–२० खेलमा नेपाली ब्याट्सम्यानहरुले कूल १९ छक्का हाने यससँगै नेपाल टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक छक्का हान्ने टिमको सूचीमा चौथो नम्बरमा परेको छ । नेपालका लागि करण केसीले ७, ज्ञानेन्द्र मल्लले ४, आसिफ शेखले ३, कुशल मल्ल र कुशल भुर्तेलले २–२ तथा दिपेन्द्र सिंह ऐरीले १ छक्का हाने ।

टि–२० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै छक्का हान्ने टिम अफगानिस्तान हो । अफगानिस्तानले २०१९ को फेब्रुअरीमा देशरादुनमा आयरल्याण्डविरुद्ध कूल २२ छक्का हानेको थियो । अफगानिस्तानले कूल २७८ रन बनाएको थियो । यो स्कोर टि–२० अन्तर्राष्ट्रियको इतिहासमै कुनै टिमले बनाएको स्कोरको विश्वरेकर्ड हो । यो खेलमा अफगानिस्तानका हजरतुल्लाह जजाइले एक्लै १६ छक्का हानेका थिए । यो पनि आफैंमा अन्तर्राष्ट्रिय टि–२० मा विश्वरेकर्ड हो ।

दोस्रो स्थानमा वेष्ट इण्डिज, भारत र अष्ट्रिया गरी ३ टिम संयुक्त रुपमा छन् । यी तीनवटै टिमले एक इनिङमा २१ छक्का हानेका छन् । वेष्ट इण्डिजले २०१६ को अगष्टमा भारतविरुद्ध, भारतले २०१७ को डिसेम्बरमा श्रीलंकाविरुद्ध तथा अष्ट्रियाले २०१९ को अगष्टमा लक्जेम्बर्गविरुद्ध २१ छक्का हानेका छन् । तेस्रो स्थानमा स्कटल्याण्ड छ । स्कटल्याण्डले २०१९ को सेप्टेम्बरमा नेदरल्याण्डविरुद्ध २० छक्का हानेको छ ।

चौथो स्थानमा नेपालसँगै नेदरल्याण्ड पनि छ । नेदरल्याण्डले २०१४ को विश्वकपमा आयरल्याण्डविरुद्ध बंगलादेशको सिलेटमा १९ छक्का हानेको थियो । नेदरल्याण्डको यो इनिङ टि–२० इतिहासमा सधैं सम्झिइरहने इनिङ हो । यो इनिङमा आयरल्याण्डले नेदरल्याण्डलाई १९० रनको लक्ष्य दिएको थियो । विश्वकपमा अघिल्लो चरण जान नेदरल्याण्डले यो खेल कुनै पनि हालतमा १४ ओभर २ बलमा जित्नुपर्ने थियो । अनि मात्र नेदरल्याण्डको नेट रनरेट अघिल्लो चरण जानको लागि पर्याप्त हुन्थ्यो । र, नेदरल्याण्डले १३ ओभर ५ बलमै १९३ रन बनाएर विश्वकपमा अघिल्लो चरणको यात्रा तय गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *