पक्षीमा रानीखेत र एचनाइन रोगको प्रकोप

डिसी नेपाल
९ वैशाख २०७८ २३:३४

चितवन। कुखुरालगायत पक्षीमा राानीखेत र एच नाइन रोगको प्रकोप फैलिएको छ । गत मङ्सिरबाट देशका विभिन्न स्थानमा देखिएको यी रोगको प्रकोप फागुनयता झनै फैलिएको हो । ठूलो सङ्ख्यामा व्यावसायिक कुखुरापालनमा क्षति भएको भए पनि एकिन विवरण भने सङ्कलन हुन सकेको छैन ।

व्यावसायिक रुपमा पालेका कुखुरा, स्थानीय जातका कुखुरा, हाँस, टर्कीलगायतका पक्षीमा रोगको प्रकोप देखिएको छ । पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा चेतनाथ खरेलका अनुसार कुखुरामा रानीखेत, एच नाइनसँगै व्याक्टेरियल र माईक्रोटक्सिन जस्ता समस्या देखिएका छन् । प्रयोगशालामा दैनिक २५ देखि ३० वटा नमूना परीक्षणका लागि आउने गरेको उनको भनाइ छ । जसमध्ये ६० प्रतिशत नमूना चितवनका रहेका छन् ।

उनले भने, “चैत महिनायता त समस्या झन् बढेर ग¥यो ।” एच नाइन देखिएका खोरमा ५० प्रतिशतसम्म पनि मरेको उनको भनाइ छ । एच नाइनसँगै अन्य रोग पनि हुन सक्ने खरेल अनुमान गर्छन् । उनले थपे, “हामी मुख्य रोगको पछि लाग्छौँ, अरु खोज्दैनौँ, त्यसैले मुख्य कारण पहिचान हुन सकेको छैन ।”

यो प्रयोगशालामा देशैभरबाट नमूना आउने गर्दछन् । यी रोग देशभर नै समस्याको रुपमा रहेको जनाइएको छ । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख डा दयाराम चापागाईं रानीखेत विभिन्न प्रकारको हुने भए पनि अहिले कडा खालको देखिएको बताउँछन्। शुरुमा स्थानीय जात र गिरिराज कुखुराबाट रोग आएको भन्दै उनले व्यावसायिक नहुँदा र समयअनुसार खोप नलगाएका कारण रोग फैलिएको जानकारी दिए।

पालिकाका पशुशाखामार्फत अनुगमन भइरहेको भन्दै उनले भने, “अण्डा दिइरहेको कुखुरामा एच नाइन र बढ्दै गरेका कुखुरामा रानीखेतको बढी समस्या देखिएको छ ।” रोग नियन्त्रणका लागि जैविक सुरक्षा आवश्यक भएको भन्दै उनले खोरमा पूर्ण रुपमा सरसफाइ, आवतजावतमा कडाइ, नियमित किटनाषक औषधि छर्कन, कुखुरालाई गर्मी भएमा ग्लुकोज र भिटामिन खुवाउन पनि सुझाव दिए। उनले थपे, “यो भाइरल हो, अरु उपचार छैन ।” सात वटै प्रदेशमा समस्या देखिएको उनको भनाइ छ ।

पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले सानो चल्लादेखि प्यारेन्टसम्ममा समस्या देखिएको बताए। उनले भने, “२०÷२५ हजार कुखुरा पालेका फर्ममा पूरै मरेका पनि छन् ।” अण्डा र चल्लालगायत उत्पादन घटेको भन्दै उनले बजारमा कुखुराजन्य पदार्थको अभाव सिर्जना हुन थालेको जानकारी दिए।

अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले दैनिक ३२ देखि ३४ लाख अण्डा उत्पादन हुँदै आएकोमा रोगका कारण २५ प्रतिशत उत्पादन घटेको बताए। धेरैका खोर खाली भएको भन्दै उनले कृषकले निकै ठूलो नोक्सान व्यहोर्नुपरेको गुनासो गरे।

पक्षी रोग विशेषज्ञ डा सुविर सिंह ब्रोइलर कुखुरामा रोग देखिएपछि ९५ प्रतिशतसम्म, लेयर्समा २५ प्रतिशतसम्म, प्यारेन्टमा १५ प्रतिशतसम्म र स्थानीय जातमा शतप्रतिशतसम्म कुखुरा मर्ने गरेको बताउँछन्। झण्डै चार महिना अघि स्थानीय जात, तीन महिना अघि लेयर्स, दुई महिना अघि, ब्रोइलर र गिरिराज हुँदै गत महिनाबाट प्यारेन्ट माउमा समस्या देखिएको उनको भनाइ छ । आफूहरुले प्रयोगशालासँग सहकार्य गरेर रोगको कारणको खोजी गरिरहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक रहेका सिंह बताउँछन्। रोग कडा भएर आएको, खोपले काम नगरेको जस्ता बहस चलिरहे पनि वैज्ञानिक कारण के हो भन्नेबारे खोजी गर्नुपर्ने देखिएकाले काम अघि बढाईएको सिंहको भनाइ छ ।

रानीखेत रोग पारामेक्सो प्रजातिको भाइरसका कारण पक्षीमा रोग लाग्ने सरुवा रोग हो । विज्ञका अनुसार यो रोग सङ्क्रमित दाना, पानी, चराचुरुङ्गी र हावा पानीको माध्यमबाट फैलिने गर्दछ । यसले पक्षीको श्वासप्रश्वास र स्नायु प्रणालीमा असर गर्छ, जसले गर्दा सास फेर्न समस्या हुने र चुच्चो र नाकबाट पानीजस्तो बाक्लो पदार्थ निस्कने भएकाले पक्षीमा टाउको झट्कार्ने, घाँटी तान्ने, फनफनी घुम्ने, खुट्टाको पक्षघात हुने, घाँटी बटार्ने, फुल पार्न कम हुनेलगायत लक्षण देखिन सक्छ । एच नाइनको लक्षण पनि रानीखेतसँग मिल्दोजुल्दो हुन्छ । यसले उत्पादन घट्ने र मृत्युदर भने रानीखेतभन्दा कम हुने गर्दछ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *