चिकित्सासम्बन्धी शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन
काठमाडौं। नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ। डा. विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल र डा कमल लम्सालद्वारा लिखित उक्त पुस्तकको बुधबार चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा. डा. दिव्या सिंह, प्रा डा राजेन्द्र कोजु र डा. मोहनकृष्ण श्रेष्ठले संयुक्तरूपमा विमोचन गरेका हुन्।
कार्यक्रममा प्रा. डा. सिंहले चिकित्सा शब्दसागरले चिकित्सा विज्ञानलाई सजिलै बुझ्न सघाउने र नेपाली भाषाका क्षेत्रमा यो नयाँ र महत्वपूर्ण उपलब्धि भएको बताए। काठमाडौँ विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेजका डीन प्रा. डा. कोजुले धेरै चिकित्सकले अङ्ग्रेजी प्रयोग गर्ने गरेको वर्तमान समयमा चिकित्सा शब्दसागरले त्यसको परिभाषालाई सहज बनाइदिएको उल्लेख गरे।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्का सदस्य सचिव डा श्रेष्ठले स्वास्थ्य परिषद्मा झण्डै डेढ लाखभन्दा बढी स्वास्थ्यकर्मी दर्ता रहेको अवस्थामा उनीहरुलाई चिकित्सकीय ज्ञान हासिल गर्न उक्त शब्दसागरले सहयोग पुग्ने विश्वास व्यक्त गरे।
एक हजार ९२० पेजको चिकित्सा शब्दसागर आठ वर्ष लगाएर तयार पारिएको लेखक डा. विपिन नेपालले जानकारी दिए। पुस्तकमा चिकित्सा, नर्सिङ र एलाइड हेल्थसँग सम्बन्धित ५० हजारभन्दा बढी शब्द रहेका छन्। उक्त शब्दकोष अङ्ग्रेजी-अङ्ग्रेजी-नेपाली भाषामा रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment