सन्दिप लामिछानेले बनाउन सक्छन् विशाल विश्वरेकर्ड, ब्याटिङमा करण केसी चुकेका थिए

डिसी नेपाल
११ वैशाख २०७८ ११:२४

काठमाडौं। नेपाल, नेदरल्याण्ड र मलेसियाबीच जारी त्रिदेशीय टि–२० सिरिजको फाइनल आज हुँदैछ । नेपाल र नेदरल्याण्डबीच किर्तिपुर मैदानमा हुने फाइनल खेलमा नेपाली बलर सन्दिप लामिछानेलाई विश्वरेकर्ड बनाउने अवसर छ । लामिछानेसँग आज टि–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो ५० विशेटको विश्वरेकर्ड बराबरी गर्ने अवसर जुरेको हो ।

अहिलेसम्म टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो ५० विकेट लिएको रेकर्ड श्रीलंकाका अजन्था मेन्डिसको नाममा छ । मेन्डिसले २६ खेलमा ५० विकेट लिएका थिए । लामिछानेले अहिलेसम्म २५ खेल खेलेका छन् र उनले ४५ विकेट लिएका छन् । आज उनले ५ विकेट लिन सके भने टि–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो ५० विकेट लिने अजन्था मेन्डिसको रेकर्ड बराबरी गर्न सक्छन् ।

आज ५ विकेट लिन नसकेको खण्डमा भने लामिछाने दोस्रो स्थानमा रहने सम्भावना भने निकै उच्च छ । किनकि दोस्रो स्थानमा रहेका दक्षिण अफ्रिकाका इमरान ताहिर र अफगानिस्तानका राशिद खानले ३१ खेलमा ५० विकेट लिएका छन् । त्यसैले आज ५ विकेट लिन नसके पनि लामिछानेलाई ५० विकेट लिनको लागि ३१ खेल भने सम्भवतः खेल्नुपर्ने छैन ।

यसअघि बिहीबार नेपाली अलराउण्डर करण केसीसँग सर्वाधिक छिटो टि–२० अर्धशतकको विश्वरेकर्ड बनाउने अवसर थियो तर अन्तिममा उनी चुकेका थिए । टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो अर्धशतकको विश्वरेकर्ड भारतका अलराउण्डर युवराज सिंहको नाममा छ । २००७ को विश्वकपमा उनले इङल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए । यस क्रममा युवराजले स्टुआर्ट ब्रेडको एक ओभरमा सबै ६ बलमा छक्का हानेका थिए ।

बिहीबार नेपाल र मलेसियाबीच भएको खेलमा करण केसीलाई यो विश्वरेकर्ड बराबरी गर्ने अवसर थियो । क्रिजमा आएपछि करणले पहिलो बलमा १ रन लिएका थिए । दोस्रो बलमा कुनै रन लिन सकेनन् । तेस्रो र चौथो बलमा २ छक्का हानेका करणले पाँचौं बलमा लेग बाइ खेले ।

छैटौं बलमा छक्का र सातौं बलमा १ रन लिएका करणले आठौं, नवौं, दशौं र एघारौं बलमा लगातार छक्का प्रहार गरे । ११ बल खेल्दा ७ छक्का हानिसकेका करणको स्कोर ११ बलमा ४४ रन पुगेको थियो । १२ औं बलमा छक्का हान्न सकेको भए उनले युवराज सिंहको विशाल विश्वरेकर्डको बराबरी गर्न सक्ने थिए तर त्यो बलमा उनले १ रन मात्र लिन सके ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *