सचेत रहनुको विकल्प छैन, नेपालमाथि झुण्डिरहेको छ भूकम्पको तरवार

दामोदर नेपाल
१२ वैशाख २०७८ ७:५०

काठमाडौं। धरहरा फेरि उभिएको छ। ठिक ५ वर्षअघि शक्तिशाली भूकम्पले भत्काएको धरहरा त्यही भूकम्पको छैटौं वार्षिकीको ठिक अगाडि फेरि उभिएको हो।

अहिले धरहरा बलियो भएर उभिएको छ र यसले अब त्यत्तिको भूकम्पको धक्का थेग्न सक्छ। तर, के हामीकहाँ भएका अरु संरचनाहरु पनि भूकम्पको धक्का थेग्न सक्षम छन्? यो प्रश्न नेपालीहरुका लागि निकै गम्भीर छ। किनकि नेपालमा जुनसुकै बेला निकै शक्तिशाली भूकम्प जान सक्छ।

विशेषज्ञहरुले नेपाललाई भूकम्पको अत्याधिक जोखिमयुक्त क्षेत्र बताउँदै आएका छन्। युएनडिपीले जारी गरेको अनुसन्धान रिपोर्टअनुसार नेपाल भूकम्पको ११ औं जोखिमयुक्त देश हो।

यस्तै ग्लोबल अर्थक्वेक सेफ्टी इनिसिएटिभका अनुसार विश्वमै भूकम्पले सबैभन्दा धेरै क्षति हुन सक्ने जोखिममा रहेका सहरहरुमध्ये काठमाडौं शीर्ष २० सहरभित्र पर्छ। नेपालको सिस्मोलोजिकल अवस्थिति नै भूकम्पका दृष्टले जोखिमयुक्त क्षेत्रमा भएको वैज्ञानिक बताउँछन्।

मियामोटो इन्टरनेशनल न्यूजिल्याण्ड लिमिटेडका क्राइस्टचर्चका सिस्मिक इन्जिनियरिङका प्राविधिक निर्देशक जितेन्द्र बोथारा, युनिभर्सिटी अफ अकल्याण्डमा सिभिल तथा वातावरणीय इन्जिनियरिङका प्राध्यापक जेसन इन्गाम तथा युनिभर्सिटी अफ अकल्याण्डमा सिभिल तथा वातावरणीय इन्जिनियरिङका लेक्चरर दिमित्रो दिजुरले २०१८ मा गरेको अध्ययनका अनुसार नेपाल इण्डो अस्ट्रेलियन प्लेट र युरासियन प्लेटको जोर्नीमा अवस्थित छ जसका कारण यहाँ भूकम्पको जोखिम अत्याधिक हुन्छ।

नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्रमा रहेको वैज्ञानिकहरुले यसअघि नै बताउँदै आएका छन्। नेपाल जुन ठाउँमा अवस्थित छ त्यहाँको जमिनमुनिबाट हिमालयन प्लेट्स र फल्ट्स सुरु हुन्छन्। यी प्लेट्स र फल्ट्स भारतीय टेक्टोनिक प्लेट्स र फल्ट्ससँग जोडिएका छन्। यी प्लेट्स र फल्ट्सहरुबीच लगातार घर्षण भइरहन्छ। यस्तो घर्षणको क्रममा कुनै बेला एक्कासी यी प्लेट्सहरु धेरै नै चल्न सक्छन्। त्यसले ठूलो भूकम्पको धक्का उठ्न सक्ने जोखिम रहन्छ।

शोधकर्ताहरुका अनुसार नेपालमा निर्माण भएका भवनहरु भूकम्पबाट हुने कम्पनप्रति निकै संवेदनशील छन्। न्यून गुणस्तरको निर्माण सामग्री, अपूर्ण निर्माण अभ्यास र निर्माणसम्बन्धी विद्यमान कानुनी व्यवस्था र नीतिको पालना नगरिएका कारण नेपालका कमजोर संरचना निर्माण हुने गरेको पाइएको शोधर्ताहरुले बताएका छन्।

शोधकर्ताहरुले नेपालीहरुमा अझै पनि संरचना निर्माणसम्बन्धी पर्याप्त ज्ञान नभएको पाइएको औंल्याउँदै निर्माणकर्मीहरुलाई भूकम्प प्रतिरोधी संरचना निर्माणको प्रशिक्षण दिनुपर्ने र विद्यमान नियमकानुन प्रभावकारी रुपमा कार्यान्वयन गरिनुपर्ने आवश्यकता औंल्याएका छन्।

गत वर्षमात्रै अर्को एक शोध समूहले गरेको अध्ययनमा नेपालमा ठूलो भूकम्पको खतरा रहेको पाइएको छ। यो समूहले यो सम्भावित भूकम्पको सम्भावना निकट भविष्यमै भएकोले समयमै सचेत रहन सुझाव दिएका छन्।

भूकम्पको ठ्याक्कै समय र तीब्रता पूर्वानुमान गर्न सकिन्न तर हुन सक्ने सम्भावित खतरालाई केही हदसम्म भने थाहा पाउन सकिन्छ। संयोगले यो शोध समूहले भुकम्पकै विषयमा शोध गर्नको लागि नेपाल आएको थिएन तर अर्कै अध्ययनको क्रममा भूकम्पको जोखिम पनि थाहा भएको थियो।

युनिभर्सिटी अफ अल्बर्टाका शोधकर्ताहरुले गरेको अध्ययनमा भूकम्पको सम्भावित खतरा पत्ता लागेको थियो। शोधकर्ताहरुले नेपालमा पेट्रोलको खोजीको क्रममा जमिनभित्र फरक किसिमका आवाजहरु सुनेको बताएका छन्।

यी आवाजहरु, जमिनको सतह र टेक्टोनिक प्लेट्समा लगातार भइरहेका परिवर्तनका आधारमा शोधकर्ताहरु यस्तो निष्कर्षमा पुगेका हुन्। शोधकर्ताहरुको पूरा शोधपत्र अमेरिकाको वैज्ञानिक जर्नल प्रोसिडिङ्स अफ द नेशनल एकेडेमी अफ साइन्सेज (पीएनएएस) मा प्रकाशित गरिएको छ। यो शोधपत्र पहिलो पटक गएको जुलाइ १३ (असार २९) मा प्रकाशित भएको थियो।

शोधकर्ताहरुका अनुसार यो भूकम्पले सबैभन्दा धेरै असर नेपालको दक्षिण पश्चिम क्षेत्रमा गर्ने अनुसन्धानले देखाएको छ। शोधपत्रका अनुसार नेपालमा आउने भूकम्पको लागि गंगा नदीको बहाव क्षेत्रको तल जमिनभित्र हुने परिवर्तन मुख्य रुपमा जिम्मेवार हुनेछन्।

युनिभर्सिटी अफ अल्बर्टाका शोधकर्ता माइक डुभालका अनुसार उनको टिमले नेपालको हिमालय क्षेत्रको जमिनको तल तीव्र रुपमा भइरहेका परिवर्तनहरुलाई रेकर्ड गरेका छन्। यी परिवर्तनले बाक्लो बस्ती भएका क्षेत्रमा विनाश ल्याउन सक्ने उनले चेतावनी दिए।

माइक डुभालको टिमले नेपालको जमिनको तलको लेयरको अध्ययन गरेका छन्। अध्ययनमा उनीहरुले नेपालको पहाडी जमिनको तलको लेयर गंगा नदीको बहाव क्षेत्रको तलको लेयरसँग जोडिएको पाएका छन्। गंगाको तलको जमिनबाट लगातार आवाजहरु आइरहेका छन् जसले गंगाको तल ठूलो हलचल भइरहेको बताउँछन्।

यसको सीधा असर नेपालमा पर्नेछ। माइकका अनुसार हिमालयको तल जमिनका लेयरहरूको ठूलो र जटिल संजाल छ। यो यतिसम्म जटिल छ कि यसलाई बुझ्न निकै कठिन छ। कुन चाहीँ फल्ट कतिबेला हल्लिन्छ र त्यसबाट कति ठूलो भूकम्प आउँछ भन्ने अहिल्यै भन्न सहज छैन।

नेपालमा पछिल्लो एक शताब्दीमा २०७२ को भूकम्पबाहेक अर्को ठूलो भूकम्प आएको छैन। तर, जमिनमुनि लगातार हलचल रेकर्ड भइरहेको छ। यो हलचलले ठूलो परिवर्तनको संकेत गर्छ र यो परिवर्तनका कारण नेपालमा कुनै पनि बेला ठूलो भूकम्प आउन सक्छ। यो भूकम्पले भयानक विनाश ल्याउने शोधकर्ताले चेतावनी दिएका छन्।

यही टिमका जोन वाल्ड्रनका अनुसार आम रूपमा फल्टहरु करिब एक हजार वर्षको आसपासमा एक अर्कासँग ठोक्किन्छन् वा स्लिप हुन्छन्। नेपालको जमिनभित्र एक यस्तो फल्ट छ जुन कुनै पनि बेला सर्न सक्छ। यसबाट भयानक भूकम्पको खतरा छ।

जोनका अनुसार नेपाल जुन ठाउँमा अवस्थित छ त्यहाँको जमिनमुनिबाट हिमालयन प्लेट्स र फल्ट्स सुरु हुन्छन्। भारतीय टेक्टोनिक प्लेट्स र फल्ट्स लगातार हिमालयतर्फ सरिरहेका छन्। यो दबाबका कारण गंगाको बहाव क्षेत्रको तलको जमिनबाट आवाज आइरहेका छन्।

यी आवाजले यहाँ जमिन हल्लिन सक्ने बताइरहेका छन्। नेपाल भारत सीमा क्षेत्र र नेपालको दक्षिण पश्चिमी क्षेत्र बाक्लो जनसंख्या भएको क्षेत्र हो। यदि भूकम्प आएमा यहाँ भयानक विनाश हुनेछ। त्यो भूकम्प २०७२ को भन्दा शक्तिशाली हुन सक्ने समेत वैज्ञानिकले चेतावनी दिएका छन्।

नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्रमा रहेको वैज्ञानिकहरुले यसअघि नै बताउँदै आएका छन्। नेपाल जुन ठाउँमा अवस्थित छ त्यहाँको जमिनमुनिबाट हिमालयन प्लेट्स र फल्ट्स सुरु हुन्छन्।

यी प्लेट्स र फल्ट्स भारतीय टेक्टोनिक प्लेट्स र फल्ट्ससँग जोडिएका छन्। यी प्लेट्स र फल्ट्सहरुबीच लगातार घर्षण भइरहन्छ। यस्तो घर्षणको क्रममा कुनै बेला एक्कासी यी प्लेट्सहरु धेरै नै चल्न सक्छन्। त्यसले ठूलो भूकम्पको धक्का उठ्न सक्ने जोखिम रहन्छ।

सामान्य भाषामा भन्दा जमिनमुनी रहेका युरासियन प्लेट र इण्डो एसियन प्लेट भनेका निकै विशाल चट्टानहरु हुन्। यी दुई विशाल प्लेट्हरु सिंगै नेपाल भन्दा पनि ठूला छन्। यी दुई जोडिएको ठाउँ नेपालको हिमालय क्षेत्रको मुनि पर्छ।

उदाहरणका लागि एउटा ढुंगाले अर्को ढुंगालाई आड दिइरहेको बेला आड दिने ढुंगो चलाइदिने हो भने अर्को ढुंगो हल्लिन्छ। जमिनमुनिका टेक्टोनिक प्लेट्स र फल्ट पनि त्यस्तै हो। ती दुई फल्टहरुमध्ये कुनै एउटा पनि चल्यो भने अर्को पनि हल्लिन्छ जसले सतहमा कम्पन ल्याउँछ र भूकम्पको धक्का उत्पन्न हुन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *