आवश्यक जनशक्ति नहुँदा सीमावर्ती स्थानीय सरकारलाई कोरोना नियन्त्रणमा सकस

डिसी नेपाल
१७ वैशाख २०७८ १३:४१

काठमाडौं। नेपाल भारत खुल्ला सिमानाका कारण सीमावर्ती स्थानीय शहरहरुमा कोरोनाको संक्रमण दर बढ्दो क्रममा रहेको छ। विषेश गरी वीरगञ्ज महानगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका र धनगढी उपमहानगरपालिकालगायतका सीमावर्ती स्थानीय पालिकाहरुमा कोरोनाको ग्राफ बढेको पाइएको छ।

कोरोना नियन्त्रणको लागि कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटीले स्थानीय सरकारलाई अधिकार दिए पनि स्थानीय पालिकाहरुलाई नियन्त्रणमा सकस परेको छ। दैनिक लाखौंको संख्यामा भारतबाट नेपाल आउने र प्राप्त जनशक्ति नहुँदा स्थानीय सरकारलाई सकस परेको उनीहरुको भनाइ छ।

होल्डिङ सेन्टर बनाएका छौं, आइसोलेसनका लागि अस्पतालकै भर छ : नगरप्रमुख सरावगी

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले महानगरमा ३५० जना क्षमताको होल्डिङ सेन्टर बनाएको बताए। डिसी नेपालसँगको कुराकानीमा नगरप्रमुख सरावगीले आइसोलेसको लागि अस्पतालकै भरमा रहेको जानकारी दिए।

उनका अनुसार दैनिक औषतमा ५ सय बढी नाकाबाट नेपाल भित्रिने गरेका छन्। भारतको अति प्रभावित ठाउँबाट आएकाहरुको पहिचान गरी पिसीआर गराउने, होल्डीङ सेन्टरमा राख्ने र रिपोर्टपछि व्यवस्थापन गर्ने गरिएको उनले बताए।

उनले भने, ‘दैनिक ५ सय भन्दा बढी नाकाबाट भित्रिन्छन्। भारतको प्रभावित ठाउँबाट आएकालाई मात्र एन्टिजेन परीक्षण गरिन्छ। त्योबाट पोजेटिभ आएकालाई मात्र आइसोलेसनमा राख्छौं। अरुलाई होल्डिङ सेन्टरमा।’

हालसम्म चेकजाँच गरेका मध्येबाट २० प्रतिशतको हिसाबले पोजेटिभ आउने गरेको नगरप्रमुख सरावगीले जानकारी दिए। उनका अनुसार पिसीआर गरेका मध्येबाट त ६० प्रतिशतसम्म पनि पोजेटिभ आएको आउने गरेको छ।

‘नगरपालिकाले आइसोलेसनको व्यवस्था गरौं भने पनि जनशक्तिको अभाव छ,’ सरावगीले भने, ‘भेन्टिलेटर चलाउने मान्छे चाहिएको छ। केन्द्र र प्रदेश सरकारले जनशक्ति व्यवस्थापनको लागि तयारी गरिरहेको छ। चाडै व्यवस्थापन गर्छ होला।’ जनशक्तिको अभावले कोरोना नियन्त्रणमा सकस भइरहेको उनको भनाइ थियो।

पालिकास्तरमा आइसोलेसन बनाउन पनि जनशक्ति छैन : उप प्रमुख थापा मगर, नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगलले कोरोना नियन्त्रणका लागि पालिका स्थरमा बनाउन लागेको आइसोलेसनका लागि पनि जशक्तिको खाँचो परेको बताएकी छिन्। डिसी नेपालसँग कुरा गर्दै उनले वडास्तरसम्म आइसोलेसको व्यवस्था गर्ने योजना जनशक्तिका कारण रोकिएको बताइन्।

उनले भनिन्, ‘कोरोना नियन्त्रणका लागि उपमहानगरले हर प्रयास गरेको छ। डिसीसीएमसीमा छलफल भए अनुसार हरेक वडास्तरमा नभए पनि पालिकास्तरमा आइसोलेसनको व्यवस्था गर्ने कुरा भएको छ। जनशक्तिको अभाव छ। पालिकामा नै स्वास्थ्य कर्मीहरु नपाएपछि वडास्तरमा कसरी लैजाने दुविधामा छौं।’

नेपालगञ्ज नाकाबाट दैखिन ५ हजार बढी नेपाली भित्रिएको रेकर्ड भएको उनको भनाइ छ। ‘कतिपय त विहान जान्छन् बेलुकी आउँछन। सबैको रेकर्ड हेर्दा औषतमा ५ हजारसम्म दैनिक आउछन्,’ उपप्रमुख थापा मगरले भनिन्। सीमावर्ती क्षेत्रमा नेपाल भारतको विहेबारी चल्ने भएकाले विहान जाने र बेलुकी आउनेहरु बढेको थापाको भनाइ छ।

सीमामा आउने सबैको एन्टीजेनबाट चेकजाँच गर्ने र पोजेटिभ आएकालाई अलगै राख्ने गरेको थापाको भनाइ छ। थापाका अनुसार नेपालगञ्ज स्थित अस्पतालहरुले नधान्ने स्थिति आएका कारण पालिकास्तरमा आइसोलेसको व्यवस्था गर्न थालिएको हो ।

नेपालगञ्ज भएर आउने नाका भन्दा चोरी नाकाबाट आएकाहरुबाट झन खतरा हुँदै गएको थापामगरको भनाइ छ। उनले भनिन्, ‘हामीले नाकामा आएकाहरुलाई चेकजाँच गरेर व्यवस्थापन गर्ने गरेका छौं। तर, चोरी नाकाबाट आउनेहरुले समाजमा कोरोनाको संकट सृजना गरेका हुन्।’

सुदूरपश्चिम प्रदेशकै नेतृत्व गरी काम गरिरहेका छौं : नगरप्रमुख वड, धनगढी उपमहानगरपालिका

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले सुदूपश्चिम प्रदेशकै नेतृत्व गरी धनगढीले काम गरिरहेको बताएका छन्। डिसी नेपालसँग कुरा गर्दै वडले धनगढीमात्र नभएर सुदूरपश्चिमसँग जोडिएका भारतीय सबै नाकाको पनि निगरानी गरिरहेको बताए।

धनगढीबाट मात्र दैनिक १ हजारको औषत संख्यामा नेपा भित्रिने गरेको बताउँदै वडले भने, ‘सबैको चेकजाँच गरेका छौं। धनगढीको नाका भएर मात्र दैनिक औषतमा १ हजार नेपाल आउनु हुन्छ। अन्य नाकाहरु र स्थानीय पालिकासँग पनि सहकार्य गरेर नेतृत्व लिँदै काम गरेका छौं।’

पछिल्लो समय धनगढीमा पनि कोरोनाको संक्रमण दर अत्याधिक बढ्दो क्रममा रहेको छ। वडले भने, ‘जनशक्तिको कमि छ। हामीले जनशक्तिको कमी भए पनि निजी अस्पतालहरुसँगको सहकार्यले आवश्यक्ता अनुसारको व्यवस्थापन गर्दै आएका छौं।’

भारतबाट आएकहरुमा संक्रमणको दर बढी देखिएको नगरप्रमुख वडले बताए। उनका अनुसार दैनिक चेकजाँच गरेका मध्ये २० प्रतिशतमा कोरोना पोजेटिभ देखिएको पाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *