विश्व प्रेस स्वतन्त्रता दिवसः अझै चिन्ताजनक छ नेपालमा प्रेस स्वतन्त्रताको अवस्था

दामोदर नेपाल
२० वैशाख २०७८ ११:१३

काठमाडौं। मे ३ तारिखका दिन आज अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । यो दिनलाई प्रस स्वतन्त्रताका आधारभूत सिद्धान्तहरुलाई स्मरण गर्ने, सरकारलाई ती स्वतन्त्रताहरुलाई सम्मान गर्नुपर्ने कुरा स्मरण गराउने र नागरिकको सूचनाको हकको लागि आफ्नो काम गर्दै गर्दा ज्यान गुमाएका पत्रकारहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने दिनको रुपमा समेत लिइन्छ । तर, वर्षको एक दिन प्रेस स्वतन्त्रताको विषयमा कुरा गर्दै गर्दा विश्वमा प्रेस स्वतन्त्रताको अवस्था भने अझै पनि दयनीय अवस्थामै देखिन्छ ।

हरेक वर्ष फ्रान्सको पेरिसमा रहेको संस्था रिपोर्टर्स विथआउट बोर्डर्स (आरएसएफ)ले विश्वभरीको प्रेस स्वतन्त्रता बरियता इन्डेक्स जारी गर्छ । यो इन्डेक्समा वर्ष २०२१ मा नेपाल १०६ औं स्थानमा छ । इन्डेक्सका अनुसार नेपालमा प्रेस स्वतन्त्रता समस्याग्रस्त छ । र, यो पनि तथ्य हो कि प्रेस स्वतन्त्रता समस्याग्रस्त भएका ५९ देशहरुमध्ये नेपाल ५८ औं स्थानमा छ । नेपालभन्दा पछाडि रहेको लेबनान प्रेस स्वतन्त्रता समस्याग्रस्त भएको श्रेणीमा छ । त्यसपछि १०८ औं स्थानमा रहेको मोजाम्बिक प्रेस स्वतन्त्रता खराब भएको श्रेणीमा परेको छ । नेपालको यो स्थान अघिल्लो वर्षको भन्दा ६ स्थान सुधार हो ।

आरएसएफको रिपोर्टअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विपक्षमा रहँदा प्रेस स्वतन्त्रता र बहुलवादको पक्षमा कुरा गरेको भए पनि आफू सत्तामा आएदेखि नै विभिन्न तरिकाले पत्रकारलाई दबाउने प्रयास गरिरहेका छन् । रिपोर्टमा नेपाली संचारमाध्यममा राजनैतिक संलग्नता अत्याधिक भएको र सरकार समर्थित संचारमाध्यम प्रचारप्रसारका माध्यम मात्रै भएको उल्लेख छ । नेपालमा पत्रकारहरुलाई नियन्त्रण गर्न खतरनाक रुपमा कानुनको उपयोग गरिने भएकोले पत्रकार आफैंले सेल्फ सेन्सरसिप गर्नुपर्ने ठूलो समस्या भएको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टमा भनिएको छ ‘अगस्त २०१८ मा पारित गरिएको नयाँ आपराधिक संहितामा अनुसन्धानात्मक रिपोर्टिङमा बाधा पुर्याउने र सार्वजनिक व्यक्तित्वहरूको आलोचनामा प्रतिबन्ध लगाउने विभिन्न प्रावधानहरू छन्। सरकारले प्रेस नियामकको व्यवस्था गर्ने कानुन पारित गर्न संसदलाई मनाउने प्रयास पनि गरिहेको छ जुन नियामकका सदस्यहरू सिधै सरकारले मनोनित गर्ने प्रावधान छ ।’

विश्वको हकमा अहिले प्रेस स्वतन्त्रताको अवस्था राम्रो भएका केवल १२ देश छन् । प्रस स्वतन्त्रता सबैभन्दा राम्रो भएको देशको शीर्षमा नर्वे छ । त्यसपछि फिनल्याण्ड, स्वेडेन, डेनमार्क, कोस्टारिका, नेदरल्याण्ड, जमाइका, न्यूजिल्याण्ड, पोर्चुगल, स्विजरल्याण्ड, बेल्जियम र आयरल्याण्ड गरी १२ देश छन् । त्यसपछि ३६ देशमा प्रेस स्वतन्त्रता सन्तोषजनक भएको रिपोर्टमा उल्लेख छ । नेपालसहित ५९ देशमा प्रेस स्वतन्त्रताको अवस्था चिन्ताजनक छ । ५२ देशमा प्रेस स्वतन्त्रताको अवस्था खराब छ र २१ देशको अवस्था अत्यन्तै खराब छ ।

छिमेकी देशहरुलाई हेर्दा भुटान ६५ औं स्थानमा र माल्दिभ्स ७२ औं स्थानमा छन् । यी दुवै देश नेपालजस्तै प्रेस स्वतन्त्रताको अवस्था समस्याग्रस्त भएको श्रेणीमा छन् । भारत १४२ औं स्थानमा, पाकिस्तान १४५ औं स्थानमा, बंगलादेश १५२ औं स्थानमा छन् । यी तीनवटै देश प्रस स्वतन्त्रताको अवस्था खराब भएको श्रेणीमा छन् । चीन भने १७७ औं स्थानमा प्रेस स्वतन्त्रता अत्यन्तै खराब भएको श्रेणीमा छन् ।

रेडियो फ्रि युरोप फ्रि लाइब्रेरीमा तथ्यांकमा आधारित पत्रकार क्रिस्टिना फोल्तिनोभाले लेखेको एक रिपोर्टअनुसार पछिल्लो ३ दशकयता सन् २०१२ मा सबैभन्दा धेरै पत्रकारहरु मारिएका छन् । न्यूयोर्कको संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सको तथ्यांक उद्धृत गर्दै फोल्तिनोभाले लेखेअनुसार १९९२ देखि २०२१ सम्म १४०० भन्दा धेरै पत्रकार आफ्नो काम गरिरहँदा मारिएका छन् भने अन्य ५६० पत्रकारको हत्याको यकिन कारण खुलेको छैन ।

फोल्तिनोभाका अनुसार यो ३ दशकमा २७४ पत्रकारलाई जेल हालिएको छ र ६५ जना पत्रकार बेपत्ता पारिएका छन् । यो ३ दशकको अवधिमा सबैभन्दा धेरै पत्रकार मारिएको आधारमा सबैभन्दा खतरनाक १० देशमध्ये छिमेकी देशहरु भारत र पाकिस्तान पनि परेका छन् । सबैभन्दा खतरनाक १० देशहरुमध्ये यो ३ दशकमा इराकमा सबैभन्दा धेरै २२४ पत्रकार मारिएका छन् । यस्तै सिरियामा १५२, फिलिपिन्समा १४७, मेक्सिकोमा १२५, कोलम्बियामा १२५, पाकिस्तानमा ८६, रुसमा ८२, भारतमा ८०, सोमालियामा ७७ र अफगानिस्तानमा ६४ पत्रकार मारिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *