जापानमा शरणार्थी बन्न ४६६ नेपालीले दिए आवेदन

डिसी नेपाल
२० वैशाख २०७८ २०:३८

टोकियो। जापानमा शरणार्थी बन्न गत वर्ष ४६६ जना नेपालीले आवेदन दिएका छन्। नेपालबाट भिजिट भिसामा जाने, स्टूडेन्ट भिसामा जापान आउनेहरुले शरणार्थीका लागि आवेदन दिने गरेका हुन्। शरणार्थीका लागि आवेदन दिने कति नेपालीको आवेदन स्वीकृत भयो भन्ने विषयमा भने केही विवरण प्राप्त हुन सकेको छैन। गत वर्ष जापानमा ३ हजार ९ सय ३६ जनाले शरणार्थीका लागि आवेदन दिएका थिए। तर ४७ जनालाई मात्र शरणार्थीको हैसियत प्रदान गरिएको थियो।

जापानले संयुक्त राष्ट्र संघको शरणार्थी सम्मेलन अनुसार जातियता, धर्म र राजनीति आदिका नाममा आफ्ना गृहदेशमा उत्पीडित हुने सम्भावना भएका मानिसहरुलाई शरणार्थीको हैसियत दिँदै आएको छ।

जापानले अति समस्यामा परेकाहरुलाई मानवियताका आधरमा विदेशीहरुलाई बस्ने अनुमति दिए पनि अधिकाशंलाई शरणार्थीको मान्यता दिन अस्विकार गर्दै आएको छ। तर जापानले सन् २०२० मा अहिलेसम्मकै धेरै व्यक्तिलाई शरणार्थीको हैसियत दिएको छ। गत वर्ष शरणार्थीको हैसियत पाउनेमा चिनियाँ नागरिक धेरै रहेका छन्।

आवेदन दिनेहरुमा नेपाली ४६६, टर्किस ८३६ ,कम्बोडियाली ४१४, श्रीलंकन ३७० र पाकिस्तानी ३२६ जना रहेका छन्। एशियन देशका नागरिकको आवेदन बढी रहे पनि अघिल्लो वर्षको तुलनामा सबै देशका आवेदक घटेका छन्।अध्यागमन निकायको विवरण अनुसार आवेदन सन् २०१९ को तुलनामा २०२० मा घटेको छ।

अघिल्लो वर्ष शरणार्थी मान्यता पाएका मध्ये १९ जनाले आवासीय हैसियत पाएको निप्पोन न्यूजले उल्लेख गरेको छ। सन् २०२० मा शरणार्थी हैसियत पाएकामा कूल ४७ मध्ये ११ जना चिनियाँ रहेका छन्। जापानले सन् १९८२ मा शरणार्थीहरु स्वीकार गर्न थालेयता स्वीकृत गरेको यो संख्या सर्वाधिक हो।

चीनले सिनचियाङ क्षेत्रका विगर मुस्लिमहरु लगायत जनजाती समूहहरुलाई गरेको व्यवहारका कारण पछिल्लो समय चीनको आलोचना चर्किएको छ। विशेष गरी अमेरिकासहित पश्चिमा देशहरुले चीनले मानव अधिकार उल्लंघन गरेको आरोप लगाइरहेका छन्। जापानमा शरणार्थी हैसियत दिइएका मध्ये कयौं यस्तै समस्या भोगेका हुनसक्ने ठानिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *