सावधान ! तपाइँले जीमेल, गुगल ड्राइभ, गुगल फोटोजमा राखेका सामग्री डिलिट हुन सक्छन्

डिसी नेपाल
२१ वैशाख २०७८ ९:४१

काठमाडौं । गुगलका चर्चित सेवाहरु जीमेल, गुगल ड्राइभ, गुगल फोटोज लगायतमा आफ्ना सामग्रीहरु भण्डारण गरेर राखेका प्रयोगकर्ताहरु आगामी महिनाको सुरुवातमा प्रभावित हुन सक्छन् । उनीहरुले गुगलका यी सेवामा भण्डारण गरेर राखेका फाइलहरु डिलिट पनि हुन सक्छन् । गुगलले जुन १ देखि नयाँ नियम लागू गर्दैछ जुन नियमअनुसार गुगलले आफ्ना यी सेवामा प्रयोगकर्ताले भण्डारण गरेर राखेका व्यक्तिगत फाइलहरु प्रयोगकर्ताका अनुमति नलिइ डिलिट गर्न सक्छ ।

यो नाटकीय अपडेटबारे सबैभन्दा पहिले डिसेम्बर २०२० मा घोषणा गरिएको थियो जतिबेला गुगलले प्रयोगकर्तालाई इमेल पठाएर यी परिवर्तनले प्रयोगकर्तालाई कसरी प्रभावित पार्न सक्छ भनेर बताएको थियो । डेली एक्सप्रेसका अनुसार इमेलमा गुगलले आफ्नो नयाँ भण्डारण नीतिले जीमेल, गुगल ड्राइभ, गुगल डक्स, सिट्स, स्लाइड्स, ड्रइङस, फर्मस, जामबोर्ड, गुगल फोटोज प्रभावित हुने बताएको थियो ।

गुगलको यो नयाँ नीतिले गुगलमा आफ्ना निजी इमेल र पारिवारिक फोटोहरु भण्डारण गरेर राखेका प्रयोगकर्ताहरुमा डरको वातावरण बनाएको छ । यद्यपि यो नयाँ नीतिको प्रभाव अत्यन्तै न्यून हुने अपेक्षा गरिएको छ । किनकि गुगलले यो नयाँ नीति कुनै पनि प्रयोगकर्ताले गुगलका यी सेवा प्रयोग गर्न छाडेर पनि यसबारे जानकारी नदिएमा ती प्रयोगकर्ताका फाइलहरु हटाउनको लागि ल्याएको बताइएको छ ।

यो डाटाको समस्यासँग लड्नको लागि गुगलले प्रयोगकर्ताको लागि आफ्ना अकाउन्टमा लग इन गर्न २ वर्षको समय दिन्छ । कुनै प्रयोगकर्ताले गुगलका यी सेवाहरु लगातार २४ महिनासम्म प्रयोग नगरेमा भने गुगलले ती प्रयोगकर्ताका सामग्रीहरु हटाउन सक्छ । ‘यदि तपाइँ जीमेल, ड्राइभ वा फोटोजमा २ वर्ष ढ२४ महिना० सम्म निष्क्रिय हुनुहुन्छ भने हामीले तपाइँ निष्क्रिय भएको सेवामा रहेका सामग्री डिलिट गर्न सक्छौं’ गुगलले भनेको छ । गुगलले कुनै प्रयोगकर्ताका सामग्री यसरी डिलिट गर्नुभन्दा अगाडि इमेलमार्फत सूचना पनि दिनेछ ताकि प्रयोगकर्ताले ती सामग्री अन्यत्र सुरक्षित गर्न सकुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *