२१ टनको अनियन्त्रित रकेट पृथ्वीतर्फ खस्दै, न्यूयोर्क, मड्रिड वा बेइजिङमा खस्ने त्रास

डिसी नेपाल
२१ वैशाख २०७८ १२:१८

काठमाडौं। २१ टन तौलको अनियन्त्रित चिनियाँ रकेट अन्तरिक्षबाट पृथ्वीतर्फ खस्दैछ । विशेषज्ञहरुले यो रकेट बाक्लो जनघनत्व भएको ठाउँमा खस्न सक्ने चेतावनी दिएका छन् । बिहीबार प्रक्षेपण गरिएको चीनको ‘लंग मार्च फाइभ बी’ नामको यो रकेट केही दिनभित्रै पृथ्वीमा खस्ने अनुमान गरिएको छ ।

पृथ्वी वरिपरी घुम्ने वस्तुहरु ट्रयाक गर्ने एस्टेनोमर जोनाथन म्याकडोवेलले स्पेसन्युजसँग कुरा गर्दै यसको बाटोले यसलाई न्यूयोर्क, मड्रिड, बेइजिङ जोड्ने रेखा भन्दा केही उत्तर र दक्षिणतर्फ दक्षिणी चिली र न्यूजिल्याण्डको वेलिङटन जोड्ने रेखाको बीचमा लैजान सक्ने बताए । यो रकेट यस बीचको क्षेत्रमा कहीँ पनि खस्न सक्छ जहाँ समुद्र र बाक्लो जनघनत्व भएका सहर छन् । यो रकेटको धेरै भाग भने खस्ने क्रममा आकाशमै जल्ने बताइएको छ ।

स्याटेलाइट ट्रयाकरले पत्ता लगाएअनुसार १०० फिट लामो यो रकेट अहिले ४ माइल प्रतिसेकेण्ड भन्दा तीब्र गतिमा उडिरहेको छ । चीनले यो रकेटलाई बिहीबार स्थानीय समयअनुसार ११ बजेर २३ मिनेटमा प्रक्षेपण गरेको थियो । यो रकेट चीनले बनाउन लागेको स्पेस स्टेशनको लागि आवश्यक सामग्री लिएर गएको थियो । यो स्पेस स्टेसन निर्माण सकिएपछि यहाँ ३ जना अन्तरिक्ष यात्री रहनेछन् ।

चीनले आफ्नो स्पेस स्टेसन लियांगोंग २०२२ को अन्त्यसम्ममा पूरा गर्ने लक्ष्य लिएको छ । निर्माण पूरा भएपछि लियांगोंगले पृथ्वीलाई २११ देखि २८० माइलको कक्षबाट परिक्रमा गर्नेछ । यो स्पेस स्टेसनको तौल १ लाख ८० हजार पाउण्डदेखि २ लाख २० हजार पाउण्डसम्म हुन सक्ने अनुमान गरिएको छ । चीनले प्रतिस्पर्धीहरु अमेरिका, रुस र युरोपियन स्पेस एजेन्सीसँग टक्करमा रहन २०३० सम्म प्रमुख अन्तरिक्ष शक्ति बन्ने लक्ष्य राखेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *