अमेरिकाको न्यूयोर्कबाट साढे ३ महिनादेखि हराइरहेका नेपालीको शव भेटियो

डिसी नेपाल
२१ वैशाख २०७८ १३:१४

काठमाडौं। अमेरिकाको न्यूयोर्क शहरबाट जनवरी १९ का दिनदेखि हराइरहेका नेपाली विद्यार्थी अजय साहको मृत्यु भएको पुष्टि भएको छ । अमेरिकाको न्यू जर्सी राज्यको मोरिस काउन्टी प्रोसिक्युटरको कार्यालयले सोमबार एक वक्तव्य जारी गर्दै साहको मृत्यु भएको पुष्टि गरेको छ । साहको हत्या भएको हो वा अन्य कुनै कारणले मृत्यु भएको हो भन्ने विषयमा स्पष्ट खुलाइएको छैन । उनको मृत्यु प्रमाणपत्र आउन बाँकी नै रहेको बताइएको छ ।

गएको मार्च ९ मा ब्रुकलिनको एंकरेज च्यानलमा फेला परेको शव अजयको भएको पुष्टि भएको प्रोसिक्युटरको कार्यालयले जनाएको छ । एंकरेज च्यानलमा अज्ञात शव फेला परेपछि न्यूयोर्क पुलिस डिपार्टमेन्टले यसको सूचना मोरिस काउन्टी प्रोसिक्युटरको कार्यालयलाई दिएको थियो । शनको फरेन्सिक जाँचपछि उक्त शव अजयकै भएको पुष्टि भएको हो । अजयको मृत्यु भएको पुष्टि भएपछि उनले पढ्दै आएको ड्रिउ विश्वविद्यालयले उनको मृत्युप्रति शोक व्यक्त गरेको छ ।

२२ वर्षका साह ड्रिउ विश्वविद्यालयको कलेज अफ लिबरल आर्टसका जुनियर तथा आवासीय सहायक थिए । पछिल्लो पटक उनी १९ जनवरीको मध्यरातमा न्यूयोर्क शहरको पेन स्टेशनमा न्यूजर्सी ट्रान्जिट ट्रेनबाट निस्किएको देखिएका थिए । त्यसपछि उनी बेपत्ता भएका थिए । उनको ल्यापटप, असाइनमेन्ट र अन्य पढाइका सामग्रीहरु उनको डेस्कमै छाडिएका थिए जसलाई हेर्दा उनी फर्किने गरी बाहिर निस्किएको बुझिने उनका परिवार र साथीहरुले बताएका थिए ।

न्यूजर्सीको डिजिटल मिडिया एनजे डटकमका अनुसार साहले बेपत्ता भएदेखि सामाजिक संजालमा केही पोस्ट गरेका थिएनन् । उनको क्रेडिट कार्ड पनि प्रयोग भएको थिएन । पछिल्लो पटक उनको क्रेडिट कार्ड ट्रेन टिकट किन्न प्रयोग भएको थियो जुन ट्रेनबाट ओर्लिएको उनी पछिल्लो पटक देखिएका थिए । मोरिस काउन्टी प्रोसिक्युटरको कार्यालयका अनुसार साह न्यूयोर्क गइरहन्थे र उनको टेक्साससँग पनि नजिकको सम्बन्ध थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *