नेपालको सीमा छेउमा कोरोनाको भयानक विष्फोट, चुनाबमा खटिएका २ हजार कर्मचारीको मृत्यु

डिसी नेपाल
२३ वैशाख २०७८ १६:४५

काठमाडौं। नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा कोरोनाको दोस्रो लहरका बीचमा भर्खरै भएको पञ्चायतको चुनाब सरकारी कर्मचारीको लागि काल बनेर आएको पाइएको छ । यो चुनाबले कैयौं परिवारको सहारा खोस्यो । कैयौं बालबालिकाको आमाको आँचल र कैयौं बालबालिकाको पिताको छत्रछायाँ खोसियो ।

यो निर्वाचनमा खटिँदा संक्रमित भएका २ हजारभन्दा धेरै कर्मचारीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । निर्वाचनमा खटिएर संक्रमित भएकामध्ये ७ सय ६ जना शिक्षकको मतगणना हुनुभन्दा पहिल्यै मृत्यु भइसकेको थियो । मतगणना पछिसम्म यो संख्या १ हजारभन्दा धेरै भइसकेको अनुमान छ किनकि मतगणनाको क्रममा पनि त्यहाँ गणनास्थलमा ठूलो संख्यामा भीड लागेको थियो । उत्तर प्रदेशको राज्यस्तरीय प्राथमिक शिक्षक संघ र प्रदेशको आधारभूत शिक्षा विभागले यसको पुष्टि गरेको भारतीय अखबार दैनिक भास्करले जनाएको छ ।

जानकारीका अनुसार पछिल्लो समय उत्तर प्रदेश माध्यमिक शिक्षक संघका प्रदेश अध्यक्ष डा. दिनेश चन्द्र शर्माले मुख्यमन्त्री योगी आदित्यनाथलाई लेखेको पत्रमा मृतकको बारेमा उल्लेख गरेका छन् । उनले करिब १० पानाको चिठीका साथमा ७ सय ६ जना शिक्षकको सूची पनि जारी गरेका छन् । यो सूचीमा जिल्लाअनुसार मृत्यु भएका शिक्षकको नाम उल्लेख छ ।

पछिल्लो एक हप्तामा भने मृत्युको संख्या निकै बढेको छ । अब उत्तर प्रदेशका सबै संगठनहरुले यस्ता कर्मचारीका परिवारलाई ५० लाख रुपैयाँ मुआब्जा दिनुपर्ने माग गर्न थालेका छन् । कोरोना संक्रमणका कारण ठूलो संख्यामा सरकारी कर्मचारीको मृत्यु भएपछि अहिले अरु कर्मचारीहरु पनि त्रासमा छन् । सचिवालयका कैयौं कर्मचारीले कार्यालय आउनै छाडेका छन् । नगर निगमका कैयौं कर्मचारी पनि कार्यालय आइरहेका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *