एक जना किसानले बदलिदिए दुई देशबीचको अन्तर्राष्ट्रिय सिमाना !

डिसी नेपाल
२३ वैशाख २०७८ १७:५५

काठमाडौं। सामान्यतया किसानहरु आफ्नो खेतीको काममै तल्लीन हुन्छन् । उनीहरुलाई राष्ट्रिय राजनीतिबारे समेत त्यति धेरै चासो हुँदैन । अन्तर्राष्ट्रिय चासो त उनीहरुको लागि धेरै परको कुरा हो । तर, बेल्जियमका एक किसानले यस्तो काम गरिदिए जसले दुई देशबीचको अन्तर्राष्ट्रिय सिमाना नै बदलियो । ती किसानले आफ्नो देश बेल्जियम र छिमेकी देश बेल्जियमबीचको अन्तर्राष्ट्रिय सीमारेखा नै बदलिदिएका हुन् । आश्चर्यजनक रुपमा ती किसानलाई आफूले २ देशबीचको सीमारेखा नै बदलिदिएको कुरा थाहा समेत थिएन ।

सीएनएनको रिपोर्टअनुसार बेल्जियमका यी किसानको बाटोमा एउटा ढुंगा थियो । यो ढुंगाले उनलाई आवतजावतमा समस्या पारिरहेको थियो । त्यसैले उनले त्यो ढुंगालाई त्यहाँबाट हटाएर केही पर पुर्याइदिए । तर, त्यो कुनै सामान्य ढुंगा थिएन । त्यो फ्रान्स र बेल्जियमबीचको अन्तर्राष्ट्रिय सिमाना छुट्याउने ढुंगा थियो । ती किसानले ढुंगा जतातिर सारेका थिए त्यो फ्रान्सको क्षेत्र थियो । अर्थात ती किसानले अन्जानमै फ्रान्सको क्षेत्र अतिक्रमण गरेर बेल्जियमको भूमि बढाइदिएका थिए । किसानले त्यो ढुंगालाई करिब ८ फिट पर सारेका थिए ।

एक जना स्थानीय इतिहासविदले जंगलमा घुम्दै गर्दा त्यो सीमारेखा छुट्याउने ढुंगा सरेको ख्याल गरेपछि मात्रै यो घटना प्रकाशमा आएको थियो । तिनै इतिहासविदले अधिकारीहरुलाई पनि यसबारे सूचित गरे । रिपोर्टका अनुसार बेल्जियमका ती किसानले यो ढुंगा हटाउने निर्णय यसकारण गरे किनकि त्यो ढुंगा उनको ट्रेक्टरको बाटोमा परेर उनलाई समस्या भइरहेको थियो । उनी पहिलेदेखि नै यो ढुंगा देखेर असन्तुष्ट थिए । अन्ततः उनले पछि त्यो ढुंगा नै हटाइदिएका थिए ।

यो घटनापछि दुवै देशले आफ्नो आधिकारिक बयान पनि जारी गरे । सीमामा बेल्जियमतर्फको क्षेत्र एरक्वेलाइन्सका मेयर डेभिड लावाक्सले ती किसानले बेल्जियमलाई ठूलो र फ्रान्सलाई सानो बनाइदिएको भए पनि यो राम्रो काम नभएको बताउँदै भने ‘म त खुसी थिएँ किनकि मेरो सहर ठूलो भएको थियो ।’ उता फ्रान्सका स्थानीय मेयरले आफूहरु नयाँ सीमा युद्धबाट बचेको बताएका छन् । उनले छिटै यो समस्याको समाधान निकालिने बताएका छन् ।

बेल्जियमका स्थानीय अधिकारीले ती किसानलाई त्यो ढुंगालाई पुरानै स्थानमा राखिदिन भन्ने योजना बनाएका छन् । अधिकारीका अनुसार किसानले यो कुरा नमाने उनीविरुद्ध कारवाही पनि हुन सक्छ । यस्तो भएमा विवाद विदेश मन्त्रालयसम्म पुग्नेछ । यदि यस्तो भएमा १९३० देखि निष्क्रिय रहेको फ्रेंको–बेल्जियम सीमा आयोगलाई बोलाउनुपर्छ । यी दुई देशबीच ६२० किलोमिटर लामो सीमा जोडिन्छ । वाटरलुमा नेपोलियनको पराजयपछि १८२० मा यो सीमा निर्धारित भएको थियो । किसानले अहिले जुन ढुंगा हटाएका थिए त्यसलाई १८१९ मा स्थापना गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *