वीर अस्पतालको नयाँ भवन आइतबारदेखि सञ्चालन हुने, सय जना नर्सको पदमा २ हजारको आवेदन

उपेन्द्र शाही
२४ वैशाख २०७८ २०:१०

काठमाडौं। काठमाडौं उपत्यकासहित जनसंख्या धेरै भएका ठाउँमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ। दिन प्रतिदिन संक्रमित र मृतकको संख्याले नयाँ रेकर्ड बनाइरहेकका बेला वीर अस्पतालले नयाँ भवन सञ्चालनमा ल्याउने भएको छ। पछिल्लो समय संक्रमण तीव्ररुपमा फैलिन थालेसँगै सरकारी तथा निजी अस्पतालहरु बिरामीले भरिन थालेका छन्।

अस्पतालमा बेड, स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीको अभाव चुलिने सक्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन्। यही समयमा सरकारी स्वामित्वको वीर अस्पतालले थप सेवा सुरु गर्न पहल गर्नुलाई सकारात्मक रुपमा लिइएको छ। आगामी दिनमा आउन सक्ने सम्भावित संकटलाई मध्यनजर गर्दै वीर अस्पतालको नयाँ भवनलाई कोभिड अस्पतालको रुपमा संचालन गर्ने तयारी अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ।

अस्पतालकी निमित्त निर्देशक डा. शान्ताकुमारी सापकोटाका अनुसार अस्पताल आगामी आइतबारदेखि सञ्चालनमा ल्याउने गरी काम अन्तिम चरणमा पुगेको छ। डा. सापकोटाका अनुसार कूल ५ सय शय्याको नवनिर्मित भवनमा सुरुमा एक सय शय्या सञ्चालनमा ल्याइने छ। त्यसपछि क्रमशः क्षमता बढाउँदै लगिने छ।

उनले डिसीनेपालसँग भनिन् ‘हामी यो नयाँ भवन छिटो भन्दा छिटो सञ्चालनमा ल्याउने गरी अगाडि बढरहेका छौँ। टेक्निकल काम अलिकति बाँकी छ। अक्सिजनको पाइपलाइनको काम सकिए पनि हाल अक्सिजनको सप्लाई प्लान्टमा काम भइरहेको छ। संक्रमितको बढ्दो चापलाई मध्यनजर गर्दै हामी छिटो भन्दा छिटो सञ्चालनमा ल्याउने गरी काममा लागिरहेका छौँ।’

हाल कोभिडका धेरै बिरामीलाई अक्सिजनको आवश्यक्त देखिइरहेको भन्दै उनले नयाँ बनेको भवनका बेडहरुमा अक्सिजनको सिलिन्डर नभएर सिधै पाइपबाट अक्सिजनको व्यवस्थापन हुने बताइन्।

वीर अस्पतालको अहिलेको अवस्थाः

अस्पतालका छाती रोग विषेशज्ञ डा.अषेश ढुङ्गानाका अनुसार हाल वीर अस्पतालमा १ सय २४ जना कोरोना संक्रमित छन्। अस्पतालको आइसीयू कक्ष पूरै भरिएको छ। कूल १० जनाको आइसियू क्षमता भएकोमा हाल १० जना कोरोना बिरामीको आइसीयूमा राखेर उपचार भइरहेको छ।

यस्तै अस्पतालको आकस्मिक कक्ष पनि भरिभराउ छ। हाल १२ जना कोराना संक्रमितको आकस्मिक कक्षमै राखेर उपचार भइरहेको छ। नयाँ बिरामी आएमा बेड कतै खाली छैनन्। नयाँ बिरामिको लागि बेड खाली भए कि भनेर कुर्नुपर्ने अवस्था छ। बेड खाली नभएकै अवस्थामा बिरामी अन्यत्र रिफर गर्नुपर्ने अवस्था भएको डा. ढुंगानाले बताए।

अस्पताल प्रशासनका अनुसार हालसम्म अक्सिजनको अभाव देखिएको छैन। अन्य ठाउँमा अक्सिजन अभाव देखिए पनि वीर अस्पतालमा हालसम्म अक्सिजन अभाव नभएको अस्पातल स्रोतले बताएको छ।

नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छैन, १ सयको मागमा २ हजारको आवेदन

गत बुधबार अस्पतालले सूचना निकाल्दै क्रिटिकल केयर विशेषज्ञ वा क्रिटिकल केयरमा अनुभव प्राप्त एनेस्थेसियोलोजिष्ट नवौं तहको ३ जना चिकित्सक र स्टाफ नर्स पाँचौ तहका १ सय जनाको आवेदन खुला गर्यो। शुक्रबार ५ बजेसम्मका लागि खोलिएको विज्ञापनमा करिब २ हजार भन्दा बढी स्टाफ नर्सले आवेदन दिएको अस्पताल स्रोतले जनाएको छ।

नेपालमा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएसँगै जनशक्तिको चरम अभाव हुन सक्ने टिकाटिप्पणी भइरहेको छ। तर, वीर अस्पतालले मागेको सय जना स्टाफ नर्सका लागि २ हजार भन्दा बढीको आवेदन पर्नुले जनशक्तिको कमी नभएको र परिचालनमा समस्या भएको कुरालाई उजागर गरेको छ।

भाइरस संक्रमणको उच्च जोखिमकाबीच शुक्रबार वीर अस्पतालमा आवेदन दिने नर्सहरुका बाक्लो लाइन थियो। उनीहरु घण्टौंको लामो लाइन बसेर आवश्यक कागजात पेश गरिरहेका थिए। भर्ना प्रक्रिया अनलाइनबाट नहुँदा सामाजिक दूरीको ख्याल गरिएको थिएन। निषेधाज्ञाकाबीच अस्पतालमै पुगेर आवेदन दिनु पर्ने बाध्यतामा उनीहरु थिए।

जम्मा दुई दिन अघिमात्रै सूचना प्रकाशित भएको र अनलाइन माध्यमबाट आवेदन दिन नपाएका कारण अझ थुप्रै आवेदकहरुले यसमा आवेदन दिन नपाएको लाइनमा लागेकी एक जना नर्सले बताइन्।

थोरै मात्रामा नै आवेदन पर्छ भन्ने अनुमान लगाइए पनि नर्सहरुको यति धेरै मात्रामा सहभागिता हुन्छ भनेर नसोचिएको अस्पताल स्रोतले बताएको छ। संस्थागत जनशक्ति कम भए पनि परिचालन गर्न सक्ने जनशक्ति पर्याप्त भएको गतिलो उदाहरण यसले दिएको छ।

उनीहरुको तलब स्केल नेपाल सरकारले तोके बराबर हुनुका साथै ५० प्रतिशत जोखिम भत्ता थप गरेर दिइने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *