संसदभित्र १९ सांसद र १४१ कर्मचारी संक्रमित, प्रधानमन्त्रीले कसरी लिन्छन् विश्वासको मत ?

डिसी नेपाल
२५ वैशाख २०७८ १५:१०

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सी सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएका बेला शनिबार आएको कोरोना परक्षिणको रिपोर्टले यो संसद बैठक नै रोकिने संकेत गरेको छ । संसदभित्र प्रतिनिधि सभाका १८ जना सांसद, राष्ट्रिय सभाका १ सांसद र संसद सचिवालयका १४१ जना कर्मचारीहरु कोरोनाभाइरसबाट संक्रमित भएको पाइएको छ । संसदभित्र यति ठूलो संस्यामा संक्रमण देखिएसँगै अब संसदको बैठक नै नबस्ने खतरा उत्पन्न भएको छ ।

संसद सचिवालयले शनिबार अपरान्ह दिएको जानकारी अनुसार २०५ जना सांसद र १ हजार ३० जना कर्मचारी तथा अन्य गरी कूल १ हजार २ सय ३५ जनाको स्वाब संकलन गरी परीक्षण गरिएकोमा १ हजार २३४ जनाको रिपोर्ट आएको छ । एक जनाको रिपोर्ट आउन बाँकी छ । एक जनाको मात्र रिपोर्ट आउन बाँकी रहँदा १९ जना सांसद संक्रमित देखिएका छन् । यस्तै सघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, ससदीय मामिला पत्रकार, आइसीसीका कर्मचारी तथा अन्य गरी १४१ जना संक्रमित पाइएका छन् ।

यी सबैको नमूना यही बैशाख २२,२३ र २४ गते लिइएको थियो । सचिवालयका अनुसार कूल परीक्षण गरिएका मध्ये झण्डै १२ प्रतिशत (११.९७ प्रतिशत) को कोरोना रिपोर्ट पोजेटिभ आएको छ । संसद सचिवालयभित्र यति ठूलो संख्यामा संक्रमण देखिनुलाई कोरोनाको हटस्पट मान्नुपर्ने हुन्छ । यति ठूलो संख्यामा फैलिएको संक्रमणलाई बेवास्ता गर्दै प्रतिनिधि सभा बैठक बोलाउने सम्भावना न्यून छ । यद्यपि अहिलेसम्म संसद सचिवालयले कुनै सूचना जारी गरेको छैन ।

संसद सचिवालय नै कोरोनाको हटस्पट बनेको अवस्थामा पर्सी सोमबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित हुने सम्भावना उच्च छ । संविधानअनुसार पर्सीको बैठक स्थगित भएमा कुनै संवैधानिक जटिलता आउने सम्भावना छैन । प्रधानमन्त्रीले पर्सीका लागि विश्वासको मत लिने गरी संसद बैठकमा प्रस्ताव लैजानु बाध्यकारी थिएन । यद्यपि बुधबार नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि भने प्रधानमन्त्रीले विश्वासको मत लिनु बाध्यकारी भएको छ ।

संविधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्ने भए पनि पर्सी नै विश्वासको मत लिनैपर्ने बाध्यता भने छैन । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संविधानको धारा १०० मा व्यवस्था गरिएको छ । माओवादीले बुधबार मात्रै समर्थन फिर्ता लिएकोले प्रधानमन्त्रीसँग विश्वासको मत लिन अझै २६ दिन बाँकी नै छ । यो अवधिमा जुनसुकै दिन बैठक बसेर प्रधानमन्त्रीले विश्वासको मत लिन सक्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *