पालिकाको गाडीलाई एम्बुलेन्स बनाइएको भन्ने समाचारप्रति अध्यक्ष अधिकारीको आपत्ति

रिता बस्नेत
२७ वैशाख २०७८ ७:१५

काठमाडौं। यतिबेला रसुवा जिल्लाको कालिका गाउँपालिकाको गाडीले स्थानीय कोरोना संक्रमितलाई सेवा दिदैँ आएको छ । गाउँपालिकाकी अध्यक्ष सीताकुमारी (पौडेल) अधिकारीले पालिकाको गाडी एक हप्तादेखि कोरोना संक्रमितको सेवामा जुटिरहेको जानकारी गराइन्।

गाउँपालिकाको बा२झ ४०९७ नम्बरको स्कर्पियो गाडीले एक हप्तादेखि कोरोना संक्रमितलाई ओसारपसार गर्ने काम गरिराखेको छ। अध्यक्ष अधिकारीले भनिन्, ‘गाडीको ड्राइभर मात्र जान डराउने भएकोले म आफैं गएर संक्रमितहरुलाई अस्पताल लाने ल्याउने काम गरिराखेकी छु ।’

उनका अनुसार हाल सो गाउँपालिकामा दुई वटा एम्बुलेन्स छन्। जसमध्ये एउटा एम्बुलेन्स कोरोना संक्रमित र स्वाव बोक्नेमा प्रयोग भएको छ। पछिल्लो समय कोरोना संक्रमितको संख्यामा वृद्धि भएकाले आफू पालिकाको गाडीमार्फत संक्रमितको सेवामा २४सैं घण्टा जुटेको उनले सुनाइन्।

उनले भनिन्, ‘कहिले काहीँ एउटा एम्बुलेन्सले बिरामी बोकेर जाँदा अर्को बरामीलाई गाह्रो भइसकेको हुन्छ। त्यसैले मैले गाउँपालिकाको गाडी पनि प्रयोग गरिराखेको हो। संक्रमणकालसम्म जनतालाई २४सैं घण्टा सेवा दिऊ भन्ने हिसाबले गाउँपालिकाको गाडी प्रयोग गरेको हुँ।’

तर, अध्यक्ष अधिकारीले आफूले चढ्ने गाडीलाई एम्बुलेन्स बनाएको भनेर केही मिडियाहरुले गलत समाचार प्रचारप्रसार गरिदिएको भनेर आपत्ति जनाएकी छन्। उनले एक हप्तादेखि कोरोना संक्रमित बिरामीलाई आफैं गएर पालिकाको गाडीमा हालेर आइसोलेसनमा पुर्याउने काम गरिराखेको बताइन्।

उनले भनिन्, ‘आफू चढ्ने गाडीलाई एम्बुलेन्स बनाएकै होइन, लेखिदिनेले शब्द घुमाएर लेखिदिएका छन्। आफूले चढ्ने गाडी भनेपछि मेरै गाडी भन्ने बुझे, सबैले। आवश्यक पर्दा गाउँपालिकाको गाडीले जतिखेर पनि कोरोना संक्रमितलाई सम्बन्धित ठाउँमा पुर्याउछ भनेको हो र त्यो काम गर्दै आएको छ ।’

आफूलाई विवादित बनाउन भ्रामक समाचार लेखेको भन्दै एउटा–दुईटा शब्दहरु घुमाइदिएर गलत समाचार बनाइदिएकाले अरुलाई कुरा काट्ने बाटो भएको उनले गुनासो गरिन्। उनले भनिन्, ‘एम्बुलेन्स बनाइदिए भन्ने पारिदिएपछि त मैले यो भन्दा पछाडि पनि एम्बुलेन्स नै बनाइदिनु पर्यो त्यो गाडीलाई। सधैंको लागि एम्बुलेन्स बनाएको होइन। त्यही गाडीमा म आवश्यकता पर्दा जहाँ पनि जान मिल्छ र जाने गरेको छु।’

उनले भनिन्, ‘मान्छेले विवाद गराउन त्यो लेखेका होलान्। फेरि मैले गरेको कामको न्युज लेख्न पनि भनेको थिइन। पछि गाउँपालिकाको गाडी भनेर लेख्नुस् पनि भने। तर, फेरि पनि मै चढ्ने गाउँपालिकाको गाडी भनेर लेखिदिएछन्।’

गाउँपालिकाको गाडीले राति, दिउँसो, बिहान नभनिकन २४सैँ घण्टा संक्रमितहरुलाई आवश्यक परेमा ओसारपसार गर्ने काम गरिराखेका भन्दै उनले भनिन्, ‘मैले गरेको काम नितान्त समाजसेवा हो । यसलाई नराम्रो भनेर नकार्न सकिदैन तर पत्रकारले अलि कुरा घुमाएर लेखिदिदा हाम्रा विपक्षीहरुले चाहीँ बोल्न पाउदा रहेछन्।’

यतिबेला उनी कोरोना संक्रमितहरु भएको ठाउँमा आफैं पुगेर पिसीआर टेष्ट गराउन लाने र संक्रमितलाई सास फेर्न गाह्रो भएको खण्डमा आइसोलेसनमा पुर्याउने काम गर्दै आएकी छन्। उनले गाउँपालिकाको महेन्द्राको पिकअप गाडीको पछाडि बिरामी बोक्ने गरेको बताइन् । उनले भनिन्, ‘हामी (चालकसहित) अगाडि बस्छौं र पछाडि चाहीँ बिरामी राख्छौं । अस्पिटल ल्याउने, लाने, राखिदिन सबै काम गर्दै आएका छौं।’

अध्यक्ष भएदेखि नै गाउँमा परिआएका विभिन्न सुत्केरीलगायत अन्य बिरामीहरुको सेवाको लागि पालिकाको गाडी प्रयोग गर्दै आएको उनले बताइन्। उनले भनिन्, ‘यहाँ सुत्केरीको लागि एम्बुलेन्स निःशुल्क गरिदिएका छौं । तर एम्बुलेन्स सधैंभरि खालि हुँदैन, त्यस्तो अवस्थामा सुत्केरीहरुलाई हस्पिटल लाने ल्याउने काम गाउँपालिकाको गाडीले गरिराखेको छ । जनतालाई आवश्यक पर्दा मैले गाउँपालिकाको गाडी प्रयोग गरेकी हुँ ।’

उनका अनुसार हाल कालिका गाउँपालिकामा कोरोना संक्रमितको संख्या धेरै बढेको छ । हिजो (शनिबार)सम्म सो पालिकामा कोेरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

नेपालका धेरै ठाउँमा अक्सिजन नपाएर संक्रमितको ज्यान गएको भने जस्तो अवस्था सो गाउँपालिकामा नआओस भनेर लकडाउनको तरखरमा लागेको बताउँदै उनले भनिन्, ‘कालिकामा संक्रमितको संख्या बढेकाले लकडाउनका लागि जिल्ला प्रशासनमा सिफारिस पठाएको छु ।’

हाल उक्त गाउँपालिकामा बिहान र बेलुका मात्रै पसलहरु खोल्न दिइको छ । अध्यक्ष अधिकारीका अनुसार सो गाउँपालिकामा बेलाबेलामा बाहिर ननिस्किनु भनेर माइकिङ्ग गरिन्छ । उनले भनिन्, ‘तर दैनिक बिरामी बढेकाले यहाँ हामी डराएका छौं । भोलि केही गरी सबैजनालाई गाह्रो अवस्था पर्यो भने झन गाह्रो हुन्छ । काठमाडौंतिर कहिपनि बेड पाइएन भनिएको छ, त्यस्तै होला भनेर १०–१५ दिन जनतालाई घरमै राख्न पाए हुन्थ्यो कि भनेर लकडाउनको सिफारिस गरेको हो ।’

उनले विशेष गरी काठमाडौंबाट आउनेले गर्दा संक्रमण फैलिएको बताइन् । उनले भनिन्, ‘प्राय काठमाडौंबाट आउने मान्छेहरुले संक्रमण लिएर आउनु भएको हो । अझ हामीले काठमाडौंबाट आउनेले पिसीआर टेष्ट गरेर आउनु, यदि पोजेटिभ देखिएको मान्छे नआउनु भनेका छौं ।’

कतिपय स्थानीय तहले बजेट नभएर काम गर्न नसकेको अवस्था आएको भन्ने कुराको खण्डन गर्दै अध्यक्ष अधिकारीले भनिन्, ‘बजेटलाई प्रशस्तै दुरुपयोग गरेर कोरोनाको नाममा करोडौं खर्च गर्ने स्थानीय तह पनि छन् । तर उहाँहरुले गरेको करोडौं खर्च कार्यान्वयन भयो कि भएन अब जनताले हेर्नु पर्छ । कालिका गाउँपालिकाका हामी थोरै बजेटमा धेरै काम गर्नुपर्छ, भन्छौं । हाम्रो गाउँपालिकालाई बजेटको खाँचो छैन । भर्खरै पनि हामीले तुरुन्तै कार्यपालिकाको बैठक बसेर कोरोनाको लागि केही बजेट छुट्याएका छौं ।’

छुट्याएको बजेट भन्दा धेरै काम गरेर देखाउनु पर्छ भन्ने स्वभावकी अध्यक्ष अधिकारी विभिन्न अन्तर्राष्ट्रियस्तरका मिडियाले कोरोना संक्रमित बढेको र मृत्यु भएको भनि समाचार भनेको सुन्दा भने अत्यास लागेको बताउछिन् ।

उनी भन्छिन्, ‘जनतालाई अक्सिजन नपाएर मान्छे मर्नु भनेको एकदम नराम्रो कुरा हो । अहिले नेपालको अवस्थादेखि विश्व चिन्तित छ । सरकारले नेपाली जनतालाई सकभर आइसोलेसन र भेन्टिलेटरको व्यवस्था गरिदिए हुन्थ्यो । त्यो नपाएर मान्छे मरे भन्ने नबनाउन सरकारसँग अनुरोध छ ।’

उनका अनुसार कोरोनाबाट केही हुँदैन भन्ने गरेका कालिकाका स्थानीय कोरोनाको दोस्रो लहरदेखि भने धेरै डराएका छन् । कालिकामा कोरोनाबाट विकराल अवस्था नआओस भन्नको लागि अहिले गाउँपालिकामा अक्सिजन र आइसोलेसनमा डाक्टरको व्यवस्था गरेको उनले बताइन् ।

हाल सो गाउँपालिकाको वडा नं.५ मा रहेको जिवजिवे ग्रामिण अस्पताल नजिकै रहेको नमूना निलकण्ठ माध्यमिक विद्यालयमा अक्सिजनसहितका १५ वेडसहितको आइसोलेसन बनाइएको छ । त्यहाँ आज(आइतबार)सम्म तीन जना संक्रमित रहेका छन् । एकजना संक्रमितलाई भने अलि गाह्रो भएकाले त्रिशुलीस्थित अस्पताल पठाएको उनले बताइन् ।

अस्पतालका हेल्थ असिस्टेण्ड उत्सव पौडेलले सो स्कुलमा कोभिड आइसोलेसनको लागि १५ वडा वेड राखिएको र हाल तीन जना संक्रमित रहेको जानकारी गराए । उनका अनुसार हाल ग्रामिण अस्पतालका पाँच जना स्वास्थ्यकर्मीहरुले त्यहाँ रहेका कोरोना संक्रमितको हेरविचार गरिराखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *