अक्सिजन अभाव हुन थालेपछि सिलिण्डर सङ्कलन गर्दै प्रहरी

डिसी नेपाल
२७ वैशाख २०७८ ८:३४

दमाैली । जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाका विभिन्न ठाउँबाट सिलिण्डर सङ्कलन थालेको छ। अक्सिजनका लागि सिलिण्डर अभाव हुन थालेपछि प्रहरीले सिलिण्डर सङ्कलन थालेको हो। प्रहरीले दमौलीबाट १५, बेलचौताराबाट तीन र डुम्रेबाट २५ थान सिलिण्डर सङ्कलन गरिएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।

कोभिड सङ्क्रमितका लागि सिलिण्डर अभाव भइरहेका बेला प्रहरीले विभिन्न ग्यारेजमा रहेका सिलिण्डर सङ्कलन शुरु गरेको छ। दमौलीबाट पाँच वटा भरी सिलिण्डर र १० वटा खाली सिलिण्डर सङ्कलन गरिएको छ भने बेलचौताराबाट तीन वटा भरी सिलिण्डर सङ्कलन गरिएको छ।

यसैगरी, इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले बजार क्षेत्रबाट आठ वटा भरी र १७ वटा खाली सिलिण्डर सङ्कलन गरेको प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए। डुम्रे बजार क्षेत्रका विभिन्न मेटल कम्पनी, इञ्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीसँग रहेका सिलिण्डर विभिन्न अस्पतालमा पठाउने गरी सङ्कलन गरिएको भुसालले जानकारी दिए। सङ्कलन गरिएको सिलिण्डर प्रशासन कार्यालयको सिफारिसका आधारमा अस्पतालमा पठाउने तयारी गरिएको छ।

यस्तै, तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत सिनो हाइड्रो कम्पनीसँग पनि सिलिण्डर रहेकाले प्रशासन कार्यालयको पत्रपछि उक्त सिलिण्डर पनि सङ्कलन गरिने प्रहरीले जनाएको छ। प्रहरीले केही दिनअघि पनि आँबुखैरेनी क्षेत्रबाट २६ वटा सिलिण्डर सङ्कलन गरी चितवनको अक्सिजन उत्पादन कम्पनीमा पठाएको थियो।

दमौली आसपासका ग्यारेजमा अक्सिजनका सिलिण्डर जथाभावीरूपमा फालिएको भेटिएको थियो । प्रयोगमा आएका सिलिण्डर जथाभावीरूपमा फालिएको तस्वीर सार्वजनिक भएपछि ती सिलिण्डर सङ्कलन गर्नुपर्ने आवाज उठेको थियो। अक्सिजनको सिलिण्डर ग्यारेजमा फलाम काट्न, हाइड्रो कम्पनीमा वेल्डिङ र सुन पसलहरुमा प्रयोग हुँदै आएको छ । कतिपयले भने घरमा पनि राख्ने गर्नाले अहिले सिलिण्डर अभाव भएको सार्वजनिक हुँदै आएको छ।

नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी नियन्त्रणमा

तनहुँको व्यास नगरपालिकास्थित विभिन्न ठाउँमा अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएर जरिवाना गराइएको छ।

व्यास–५ स्थित मादी नदीको बगरबाट निषेधित समयमा नदीजन्य पदार्थ उत्खनन एवं लोड गरी ओसारपसार गर्दै गरेको अवस्थामा ग १ त ५५१४, ग १ त ३१५७ र ग १ त २६३० नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका सवारीलाई कारवाहीका लागि नगरपालिका पठाइएकामा प्रतिट्र्याक्टर रु आठ हजारका दरले रु २४ हजार जरिवाना भएको प्रहरीले जनाएको छ।

त्यस्तै व्यास–१० दुम्सीस्थित मादी नदी बगरबाट अवैधरूपमा बालुवा उत्खनन गरी ओसारपसार गर्दै गरेको अवस्थामा ग १ त ४३५८ नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ। उक्त ट्र्याक्टरलाई पनि नगरपालिकाले रु आठ हजार जरिवाना गरेको छ।

व्यास–७ दुलेपानीस्थित झोलुङ्गे पुलमाथि अवैधरूपमा ढुङ्गा लोड गर्दै गरेको अवस्थामा ग १ त ६४९१ नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । उक्त ट्र्याक्टरलाई कारवाहीका लागि नगरपालिकामा बुझाइएको प्रहरीले जनाएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *