युवा कलाकार भन्छन्, ‘घरमै बसौं, रुची अनुसार काम गरौं, तनाव र संक्रमित हुने संभावना कम हुन्छ’

तर्कबहादुर थापा
२८ वैशाख २०७८ ११:३९

काठमाडौं। युवा पुस्ता राष्ट्रको मेरुदण्ड हो। युवाले काँध नहालेको राष्ट्र मेरुदण्ड विनाको प्राणी सरह हुन्छ। कुनै पनि शरीरलाई उठाइ राख्न मेरुदण्डको महत्वपूर्ण भूमिका हुन्छ। राष्ट्रको सर्वाङ्गिण विकासका लागि पनि युवापुस्ता जागरुक हुन नितान्त आवश्यक छ।

युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति पनि हो। युवालाई राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवतर्नका संवाहक मानिन्छ। यो वर्ग राष्ट्रको प्रमुख धरोहरको रूपमा रहेको हुन्छ, जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोतसमेत मानिन्छ।

नेपालमा १६ वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई युवा परिभाषित गरिएको छ । नेपालको जनगणना २०६८ अनुसार कुल जनसङ्ख्याको ४०.३ प्रतिशत युवा शक्ति रहेको छ।

कोरोनाको महामारीबाट अहिले युवा पुस्तालाई नै धेरै प्रभावित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म करिव २ लाख युवाहरुमा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकालगायत देशभरका विभिन्न स्थानीय तहमा अहिले निषेधाज्ञा छ।

२०७६ को चैत्र ११ गतेदेखि भएको लकडाउनले पनि युवापुस्तालाई निकै शास्ति दिएको थियो। इतिहासको अत्यन्त कठिन मोडमा रहेको यो बेलामा पाठ सिकेको युवापुस्ताले अहिलेको निषेधाज्ञालाई कसरी उपयोग गरिरहेको छ? कोरोना संक्रमणको फैलावट रोक्न सरकारले लगागएको निषेधाज्ञाका बेला आफ्नो क्षेत्रमा स्थापित केही प्रतिनिधि युवासँग डिसी नेपालले कुराकानी गरेको छ।

आफूले आफूलाई चिन्ने कोशिसमा दिन बित्छन : रेखा थापा

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापा युवा पुस्ताबीच लोकप्रिय छन्। नेपाली युवाहरु विषेशगरी महिला वर्गको उथ्थानमा समर्पित उनी अहिलेको निषेधाज्ञामा शून्यतामा रहने कोशिस गरेको बताउँछिन्। डिसी नेपालसँग कुरा गर्दै उनले भनिन ‘म यो वर्षको निषेधाज्ञामा आफूले आफूलाई नै को हो भनेर प्रश्न गर्दै उत्तर खोज्ने कोशिसमा छु।’

गत वर्षको लकडाउनमा के गर्ने र कसो गर्ने भनेर आत्तिए पनि केही गर्न नसकेको अनुभव सुनाउँँदै थापाले भनिन्, ‘गर्नै पर्छ, निरन्तरता दिनै पर्छ, निरन्तरता दिइएन भने हराइन्छ भन्ने हुँदैन। यो समय हामीलाई प्रकृतिले रिफ्रेस हुनका लागि दिएको समय हो। हामी यो बेलामा आफै खुसिहुन सिक्नु पर्छ। हामी आफू खुसिहुन नसक्ने अरुसँगको १÷२ घण्टाको बसाईँमा खुसि हुन्छौं त? मैले यो निषेधाज्ञालाई त्यही रुपमा उपयोग गरेकी छु।’

नेपाली चलचित्रमा आफूलाई अब्बल दर्जामा राखेकी थापा यो बेलामा केही पनि नसोचेको बताउँछिन्। ‘कतिले स्कृप्टको बारेमा सोचेको सुनाउछन्, कतिले अन्य केही योजनाहरु भएको सुनाउँछन्। तर, मैले केही पनि सोचेकी छैन।’

वर्षाैं वर्ष भीडभाड, भेटघाट, छलफल लगायत मान्छेको सम्पर्कमा आउँदै गरेको हुँदा पनि अहिले आफूले आफैलाई कनेक्ट गर्ने र चिन्ने कोशिष गरिरहेको थापाको भनाइ छ। कोरोनाले आफूले आफैलाई चिन्ने, आफन्तलाई, साथिभाईलाई वा समाजमा हुने हर कोहीलाई हेर्ने अवसर पनि दिएको थापाको भनाइ छ।

अफ्ठेरोकाबीच विकल्प खोजेर तयारी गर्दैछौं :  घिमिरे युवराज

नेपाली रंगमञ्चमा जमेको नाम हो घिमिरे युवराज। घिमिरे शील्पी थियटरका निर्देशक हुन्। स्थिति सामान्य रहँदा शील्पीले नेपाली रंगमञ्च र साहित्यमा बिभिन्न प्रयोगात्मक अभ्यासहरु गर्ने गथ्र्यो। घिमिरे युवराज पनि प्रयोगधर्मी हुन्। तर कोरोना संक्रमणका कारण रंगमञ्च सुस्ताएको छ।

घिमिरे युवराज कोरोनाको महामारीको यो जटिल समयमा आफूलाई व्यस्त राख्नमा तल्लीन छन्। भन्छन्, ‘समय अनुकुल छैन। प्रतिकुल समयमा पनि आफुलाई अहिले समय अनुसार अनुकुल बनाउनु परेको छ। पहिले गरिरहेका कामहरु अहिले भौतिक रुपमा गर्न संभव छैन। यो अवधिमा हामीले अनलाईन नै भए पनि रियल्सन गरिरहेका छौं। आ–आफ्नै घरमा बसेर भए पनि कर्मलाई निरन्तरता दिएका छौं।’

कोरोना कहरको समाचारहरुले मानिशिक रुपमा पनि अफ्ठेरो पारिरहेको घिमिरेको भनाइ छ। पढन पनि रुचाउने उनलाई अहिले फूर्सदको समयले पढाई रहेको छ। ‘किताब पनि पढ्ने गरेको छु।’ उनले भने, ‘आफूलाई फिजिकल रुपमा फिट राख्ने काम पनि गरिरहेको छु। योगा ध्यान गर्ने काम गरिरहेको छु। मौका मिलेसम्म साइक्लीङ पनि गर्छु।’

घिमिरे निषेधाज्ञा छिट्टै खुल्ने आशामा छन्। स्थिती सहज हुनथालेपछी दर्शककामाझ जाने तयारी गरिरहेका छन् उनी। ‘अडियन्स सँगको भेटघाट र संवाद हुन सकेको छैन।’ घिमिरेले भने, ‘हाम्रो काम पब्लिकमा गएर गर्ने हो। अहिले जान सकिएको छैन। इन्टरनेटलाई धन्यवाद दिनैै पर्छ। मिटिङदेखि रियल्सन सम्मका काम अनलाइनबाट नै गर्न पाइरहेका छौ। तर त्यसरी हाम्रो काम चल्दैन।’

निषेधाज्ञाले अफ्ठेरो पारे पनि विकल्प खोजेर दर्शकका माझ जाने गरी तयारी गरिरहेको उनको भनाइ छ। उनी लकडाउन खुल्ने वित्तिकै दर्शककामाझ जाने तयारी गरिरहेका छन्।

घिमिरेका अनुसार अहिले जे भइरहेछ त्यो फेरी नहोला। अर्थात अहिलेको जटिल समय नदोहोरिएला। अथवा यो भन्दा अप्ठेरो समय पनि आउँछ। अहिले धेरै नकारात्मक कुराहरु सोच्नु हुन्न। सामाजिक सञ्जाल र समाचारमा डरलाग्दा कुराहरु हेर्न र सुन्न सकिन्छ।

सकभर त्यस्ता समाचारबाट आफुलाई टाढा राख्नुपर्छ। मन परेका सिनेमा हेर्ने, पुस्तक पढ्ने, सक्नेजति व्यायाम गर्ने, घरपरिवारसँग समय बिताउने गर्दा तनाव व्यवस्थापन गर्न सजिलो हुन्छ। घिमिरे आफूपनि अहिले त्यही गरिरहेका छन्।

नियमित कामसँगै गीत गाउने गर्छु :  मेधा कोइराला

मिस नेपाल इन्टरनेशनल २०१५ की बिजेता मेधा कोइराला सञ्चारकर्मी पनि हुन्। मेधा अहिले एन्टेना फाउण्डेशन नेपालमा आवद्ध छिन्। निषेधाज्ञा शुरु भएसँग अहिले कार्यालयका सबैकाम घरबाटै हुने गर्छन्। मेधा पनि घरबाटै काम गर्छिन्।

उनको कामभित्र दुइटा महत्वपूर्ण काम पर्छन्। नेपालका एफएम रेडियो मार्फत कोरोना लगायत अन्य बिषयमा सचेतनामुलक अडियो सामग्रीहरुको प्रशारण गरी नागरिकलाइ सूसुचित गर्ने र एन्टेना फाउण्डेशन र इन्टरन्युजको सहयोगमा सञ्चालित वातावरण पत्रकारिता तालिमपछी स्टोरी गरिरहेका पत्रकारहरुलाई स्टोरी लेख्न सहयोग गर्नु।

मेधाले यि दुबै काममा आफुलाई व्यस्त राखेकी छन्। त्यसबाहेक मेधा रेडियो कार्यक्रम सञ्चालक पनि हुन्। र उनी रेडियो नाटकहरुमा समेत अभिनय गर्छिन्।फुर्सद हुने बित्तिकै मेधा गित गाउन मन पराउँछिन्।

डिसी नेपालसँगको कुराकानीमा कोइरालाले भनिन्, ‘मलाई म्यूजिकमा पनि रुचि भएका कारण नियमित कामसँगसँगै गीत सुन्छु र गाउँछु पनि। अनि किताब पनि पढ्छु। पडकाष्ट सुन्छु।’

मेधाका अनुसार यसले गर्दा उनलाई कोरोना संक्रमणको बारेमा चिन्तामुक्त हुन सहयोग पुग्छ। मेधा भन्छिन्, ‘आजसम्म आफु र परिवारका कसैमा पनि कोरोना संक्रमण नभएकोले खुशी नै छु। साथसाथै सचेत पनि।’

उनका अनुसार अनुशासनमा बसियो भने संक्रमणको संभावना कम हुन्छ। स्वस्थ खाना खाने, खुशी हुने र सरकारले लागु गरेका जनस्वास्थ्यका मापदण्ड पालना गर्ने हो भने संक्रमणबाट जोगिन सकिन्छ।

‘सबै परिवार सँगै भएकाले सँगै खाना पकाउने, खाने रमाउने गछौं।’ कोइरालाले भनिन्, ‘यस्तो बेलामा तनाब हुन्छ भनेर स्वीकार गर्नु पर्छ। शारीरिक व्याम गर्ने, योगा गर्ने, मेडिटेसन गर्ने र आफूलाई रुचि भएको कुरा गरेर तनाब भगाउनु पर्छ।’ रुचि भएको काम गर्दा तनाब नहुँने र घरभित्र बस्दा पनि आफूलाई चलायमान राखेको खण्डमा निषेधाज्ञाको अनुभव नै नहुने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *