केही थान अक्सिजन र भ्याक्सिनको बदलामा चीनसँग सगरमाथाको शिखर साटिएको हो ?

दामोदर नेपाल
२८ वैशाख २०७८ १३:१७

काठमाडौं। नेपालको राजनैतिक अस्थिरता र पछिल्लो समय चीनसँग नजिकिएको सम्बन्धको फाइदा उठाउँदै चीनले सगरमाथामाथि आफ्नो दावी बढाउँदै गएको छ। नेपाल र चीनको सीमामा रहेको र नेपालीहरुको गौरवसँग जोडिएको सगरमाथामाथि चिनियाँ हस्तक्षेप पछिल्लो समय बढेको छ। पछिल्लो पटक चीनले नेपालतर्फ सगरमाथा बेस क्याम्पमा कोभिड–१९ को संक्रमण देखिएको बहानामा सगरमाथाको शिखरमा विभाजनको रेखा अर्थात ‘लाइन अफ सेपरेसन’ बनाउन सुरु गरेको छ।

चीनले सगरमाथा बेस क्याम्पमा कोभिड–१९ संक्रमण देखिएपछि नेपालतर्फबाट शिखरमा गएका आरोहीहरु चीनतर्फबाट शिखरमा पुगेका आरोहीहरुसँग नमिसिउन् र उनीहरु एक अर्कामा भाइरस नसरोस् भनेर यो रेखा कोर्न लागेको बताएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले आइतबार पूर्वसावधानी स्वरुप चीनले यस्तो गर्न लागेको भनेको छ। तर, अहिलेसम्म यो रेखा शिखरमा कसरी लागू गराइन्छ भन्ने स्पष्ट छैन। समाचारमा तिब्बतका आरोही गाइडहरुको एउटा टिमले सगरमाथा आरोहण गर्ने र शिखरमा विभाजनको रेखा कोर्ने बताइएको छ।

चीनले सगरमाथाको शिखरमा विभाजनको रेखा कोर्न लागेको भए पनि यो काम चीनले एक्लै गर्न भने मिल्दैन किनकि सगरमाथा चीन एक्लैको होइन। नेपालको नापी विभागका सूचना अधिकारी दामोदर ढकालका अनुसार सगरमाथा चीन र नेपालको साझा हो र यो हिमाल चीन र नेपालको सीमामा छ। उनका अनुसार चीन र नेपालको सीमा सगरमाथामा ‘पानीढलो सिद्धान्त’मा आधारित छ। त्यसैले सगरमाथा दुई देशको अन्तर्राष्ट्रिय सीमा भएकोले यहाँ कुनै पनि सीमारेखा कोरिँदा दुवै देशको सहमतिमा हुनुपर्छ।

‘चीनले कस्तो किसिमको रेखा कोर्न लागेको हो भन्ने स्पष्ट भएन तर यदि यो अन्तर्राष्ट्रिय सीमालाई प्रभाव पार्ने गरी गर्न लागिएको हो भने प्राविधिक रुपले कुनै पनि एक देशले त्यसो गर्न मिल्दैन’ ढकालले डिसी नेपालसँग भने ‘यदि यहाँ सीमामा प्रभाव पर्ने गरी कुनै रेखा कोर्न थालिएको हो भने त्यस्तो काम कुटनैतिक तवरबाट हुनुपर्छ।’ अन्तर्राष्ट्रिय सीमानामा यस किसिमका काम गर्दा कुटनैतिक तरिकाले हुनुपर्ने र त्यस्तो प्रस्ताव परराष्ट्र मन्त्रालयमार्फत आउने उनले बताए। उनका अनुसार अहिलेसम्म चीनले सगरमाथामा कोर्न लागेको रेखाबारे नापी विभागलाई कुनै आधिकारिक जानकारी छैन।

चीनले पछिल्लो समय नेपाललाई केही हजार सिलिण्डर अक्सिजन सहयोग गरेको छ। यसअघि चीनले नेपाललाई ८ लाख थान कोभिड भ्याक्सिन सहयोग गरेको थियो। पछिल्लो पटक चीनले सगरमाथामाथि यसरी हस्तक्षेप गरिरहँदा के त्यही केही थान अक्सिजन सिलिण्डर र केही थान भ्याक्सिनको बदलामा नेपालले चीनसँग सगरमाथाको शिखर साटेको हो? भन्ने प्रश्न उठ्न थालेको छ। किनकि चीनले यसरी सगरमाथामाथि हस्तक्षेप गरेको यो पहिलो पटक होइन। चीनले यसअघि पनि पटक पटक सगरमाथामाथि एकल दावी गर्दै आएको छ।

एक वर्षअघि २०२० को मे २ का दिन चीनको सरकारी टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)ले ट्वीटरमा सगरमाथाका केही तस्वीरहरु पोस्ट गर्दै क्याप्सनमा सगरमाथा चीनको स्वायक्त क्षेत्र तिब्बतमा पर्ने लेखेको थियो। सगरमाथामा घामको किरणबाट बनेको ‘सन हालो’का केही तस्वीर पोस्ट गर्दै सीजीटिएनले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा ‘माउन्ट एभरेष्टको नामले पनि चिनिने, चीनको स्वायत्त क्षेत्र तिब्बतमा पर्ने विश्वको सर्वोच्च शिखर चोमोलोङमामाथि देखिएको सन हालो’ लेखेको थियो।

यसको विरोधपछि सीजीटिएनले यो ट्वीट डिलिट गरेर सगरमाथा नेपाल र चीनको सीमामा पर्ने उल्लेख गर्दै अर्को ट्वीट गरेको थियो। तर, सीजीटिएनले यसरी ट्वीट सुधार गरे पनि चीनको सरकारी मिडियाबाट सगरमाथामाथि हस्तक्षेप पूरै हट्न सकेन। सीजीटिएनले ट्वीट गर्नुअघि २०२० को अप्रिल ३० का दिन चीनको सरकारी अखबार पिपुल्स डेलीले चीनले सगरमाथाको उचाइ नाप्न सुरु गरेको भन्दै फेसबुकमा पोस्ट गरेको भिडियोमा सगरमाथा चीनको स्वायत्त क्षेत्र तिब्बतमा पर्ने उल्लेख गरेको छ। यसमा नेपालको नामै उल्लेख छैन र यो अहिलेसम्म सुधार भएको छैन।

अर्कोतर्फ चीनले अहिले बनाउन लागेको ‘लाइन अफ सेपरेसन’ सगरमाथाको शिखरमा जरुरी नभएको र यो व्यवहारिक पनि नहुने पर्वतारोही फर्गुस ह्वाइटले बताएका छन्। सगरमाथा आरोहणका सम्बन्धमा किताबसमेत प्रकाशित गरिसकेका आयरल्याण्डका यी पर्वतारोहीले साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै सगरमाथाको शिखर १५ वर्गमिटरभन्दा सानो भएको र यहाँको परिस्थितिमा उत्तर र दक्षिणतर्फबाट गएका आरोहीबीच अत्यन्तै कम अन्तरक्रिया हुने भएकोले लाइन अफ सेपरेसन जरुरी र व्यवहारिक नभएको बताए।

ह्वाइटका अनुसार सगरमाथाको शिखरमा मौसम बिग्रिने खतरा वा अक्सिजन सकिने खतराका बीच कोही पर्वतारोहीलाई भिड नियन्त्रण गर्न भन्दै लामो समयसम्म उभ्याउनु व्यवहारिक हुँदैन। उनले सगरमाथाको शिखरमा जाने पर्वतारोहीलाई सावधानी अपनाउन भन्नु मात्रै पर्याप्त हुने बताए। चीनका अर्का पर्वतारोही शिया बोयुले पनि सगरमाथाको शिखरमा भाइरस सर्ने सम्भावना अत्यन्तै न्यून हुने बताए। ‘शिखरमा हरेक पर्वतारोहीले अक्सिजन मास्क र तलदेखि माथिसम्म ढाकिने पर्वतारोहण सुट लगाएका हुन्छन् जसबाट भाइरस सर्ने सम्भावना अत्यन्तै न्यून हुन्छ’ उनले भने ।

पर्वतारोहीहरुले नै लाइन अफ सेपरेसन जरुरी नभएको र शिखरमा भाइरस एकबाट अर्कोमा सर्ने सम्भावना अत्यन्तै न्यून भएको बताइरहँदा चीनले गर्न थालेको यो कडाइ शंकास्पद देखिन्छ। भाइरस सर्ने सम्भावना अत्यन्तै न्यून भएको र मानिस पुग्नै अत्यन्त कठिन भएको ठाउँमा चीनले कडाइ गर्नुको उद्देश्य भाइरस फैलिनबाट रोक्नु नै हो? वा विश्वको सर्वोच्च शिखरको रुपमा गौरव बोकेको सगरमाथामाथि कब्जा गर्ने नियत हो? पछिल्ला केही वर्षदेखि चीनको तर्फबाट भइरहेका गतिविधिहरु हेर्दा उसको नियतमा शंका गर्ने ठाउँ प्रशस्तै देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *