नेपालसहित चार देशमाथि प्रवेशमा रोक

डिसी नेपाल
३० वैशाख २०७८ ६:३९
648
Shares

काठमाडौँ। नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानलगायतका देशले तत्काल नेपालसहित चार देशका नागरिक प्रवेशमा रोक लगाएका छन्।

नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमण उच्च जोखिममा रहेको भन्दै नेपालसहित बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका नागरिकलाई ती देशमा प्रवेश गर्न रोक लगाएका हुन्।

कोरोना सङ्क्रमण रोकथामका लागि प्रवेशमा रोक लगाउने निर्णय भएको त्यहाँस्थित नेपाली राजदूतावासले जानकारी गराएका छन्। मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसिया सरकारको पछिल्लो निर्णयले कूटनीतिक र सरकारी राहदानी भएकाबाहेक अन्य कुनै पनि भिसामा यी देशका नागरिक मलेसिया प्रवेश गर्न पाउने छैनन्।

निश्चित समयका लागि रोक लगाइएको भए पनि समय नतोकिएकाले कति लामो हुने हो भन्न नसकिने पनि दूतावासले जनाएको छ। मलेसिया सरकारले यी देशबाट आउने आफ्ना नागरिकलाई समेत अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था गरेको छ।

नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान बन्द हुँदा मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकको शव पठाउन तथा करार अवधि सकिएका अथवा टिकट लिएका श्रमिकलाई खानबस्न समस्या हुन थालेको दूवावासले जनाएको छ।

संयुक्त अरब इमिरेटस् (यूएई) सरकारले पनि बुधबारदेखि नेपालीको प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । यूएईले बुधबारदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि नेपालीलाई प्रवेशमा रोक लगाएको यूएईस्थित नेपाली राजदूतावासले जनाएको छ ।

यूएईले भारतका नागरिकलाई यसअघि नै प्रवेशमा रोक लगाएको थियो। नेपालसहित चार देशबाट ट्रान्जिट भएर आउने यात्रुले पनि यूएईमा प्रवेश गर्न पाउने छैनन् तर यूएईका नागरिक, कूटनीतिक नियोगका कर्मचारी, यूएईका गोल्डेन रेजिडेन्सी होल्डर्सलगायतले भने यूएई जान पाउने जनाइएको छ।

त्यसैगरी कुवेत सरकारले पनि नेपालसहित चार देशबीच हुने व्यावसायिक उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। कुवेतस्थित नेपाली दूतावासले कुवेतको मन्त्रिपरिषद् निर्णयलाई उद्धृत गर्दै भनेको छ, “नेपाल, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काबीच हुने कार्गो उडानबाहेक सबै व्यावसायिक उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। यस्तै यी चार देशबाट यात्रुहरू सीधै कुवेत जान पाउने छैनन्। अन्य कुनै देशमा १४ दिन अनिवार्य बसेको हुनुपर्नेछ। कुवेतले आप्रवासीको प्रवेशमा लगाएको प्रतिबन्ध भने कायम नै रहनेछ।

नेपाल सरकारले गत बिहीबार मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ। नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएसँगै वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र फर्कनेहरू पनि रोकिएका छन् । यस्तै नयाँ श्रम स्वीकृति पनि बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ। अनलाइनबाट पुनः श्रम स्वीकृति भने लिन सकिनेछ ।

अन्तर्राष्ट्रिय उडान बन्द भएपछि करार अवधि सकिएका र घर बिदामा फर्कन टिकट लिएका श्रमिकले टिकटको अवधि सकिन लागेको भन्दै सम्बन्धित देशमा रहेका दूतावाससँग हारगुहार गर्न थालेका छन् । दूतावासका अनुसार टिकट लिएका, रोजगारी गुमाएका र रोजगारीका क्रममा मृत्यु भएका श्रमिकलाई स्वदेश फकिने प्रबन्ध मिलाउने विषयमा छलफल भइरहेको छ।

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशमा हजारौँ नेपाली अलपत्र पर्न थाले पनि कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र निर्देशक समिति (सीसीएमसी)ले उद्धार चार्टरको तयारी नभएको जनाएको छ। गाेरखापत्र दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *