संस्मरण : कोरोना महामारीमा छोराले पढेको गीता

डिसी नेपाल
१ जेठ २०७८ ६:२७

केही दिन पहिले मैले रीवाजलाई सोधेँ, ‘कोरोनाले उपलब्ध गराएको यस मुल्यवान समयको सदुपयोग कसरी गर्दैछस् छोरा?’  हरेक कुराहरुका सकारात्मक पक्षहरु खोज्ने मेरो प्रयासस्वरुप नै कोरोनाको यस कहरभित्र पनि सकारात्मक उपलब्धि खोज्ने प्रयासमा नै त्यो प्रश्न गरेको थिए छोरालाई मैले।

‘मैले गीता पढ्न शुरु गरेको छु बाबा’ रीवाजले सहजै उत्तर दियो।

अमेरिकी विश्वविद्यालयबाट स्नातक भइसकेको मेरो छोराले गीता पढ्न शुरु गरेको कुराले सामान्यतया अमेरिका बस्ने नेपालीहरुलाई अनौठो कुरा पनि हुन सक्छ ।

हिन्दु धर्म दर्शन र पूर्वीय संस्कृतिको मूल कृति मानिएको गीताको पुस्तक मैले धेरै पटक पढ्न शुरु गरेर पनि अन्त्य छिचोल्न सकेको थिइनँ । पढ्दा पढ्दै नसकेको त्यो किताव कता राखेको थिए कुन्नि, तर उसले खोतल–खातुल पारेर निकालेछ।

‘मृगमरिचिकाको अर्थ के हो?
सत्व, रज र तम भनेको के हो?
सच्चिदानन्द भनेको के हो ?
वर्णाश्रम भनेको के हो?
देहान्तरण भनेको के हो?
प्राण, अपान, व्यान, समान र उदान भनेको के हो?’

गीता पढ्नेक्रममा उसले थप बुझ्नलाई तयार गरेका प्रश्न रहेछन् यी। जब मैले गीता पढ्दै छ भन्ने थाहा पाएँ त्यसपछि उसले मलाई यी प्रश्नहरु थप प्रष्ट पारिदिनका लागि पठाएको थियो। माथिका यी सबै प्रश्नहरु उसैले नेपालीमा लेखेर पठाएको जस्ताको तस्तै कपी पेष्ट मात्रै गरेको हुँ मैले यहाँ ।

‘नेपालीमा भन्दा अंग्रेजीमा लेखेको गीता बुझ्न सजिलो हुन्थ्यो होला नि छोरा तँलाई..?’ हरेक पेजमा भेटिने नयाँ नयाँ नेपाली र संस्कृत शब्दहरुको अर्थ नबुझेर मलाई लेखेर पठाइरहँदा उसको मन बुझ्न मैले यो सल्लाह दिएको थिएँ उसलाई।

आजभन्दा एक दशक पहिले १३–१४ बर्षको कलियो उमेरमै अमेरिका आएर हाईस्कुल र कलेजको पढाइ अँग्रेजी माध्यममा सकेर जीवनशैलीसमेत अमेरिकी शैलीमा व्यतित गरिरहेको उसले मलाई जवाफ दियो, ‘मैले नेपालीमै पढ्न चाहन्छु किनकि मलाई नेपाली पढ्न र लेख्न राम्रोसँग आउँछ। र अझै धेरथोर संस्कृतकै श्लोकहरु पढेर अर्थ खोज्ने प्रयास पनि गर्दैछु। गीतालाई नेपाली वा संस्कृतमा पढ्दा जुन परिवेशअनुरुपको भावार्थ बुझ्न सकिन्छ त्यो भाव अंग्रेजीले व्यक्त नगर्न सक्छ किनकि अंग्रेजी अनुवादमा मीठो शब्दार्थ त पढ्न सकिएला तर भावार्थ होइन बाबा।’

हाम्रा बच्चाहरुमा हामीहरुमा भन्दा फरक र सृजनशील ज्ञान धेरै हुन्छ। त्यसलाई सुनेर सिक्ने प्रयास पनि गर्नुपर्छ हामीहरुले। हामीहरु धेरै जान्ने र उनीहरु कम जान्ने छन भनेर कहिल्यै पनि सोच्नु हुँदैन। उनीहरुबाट सिक्ने धेरै कुराहरु हुन्छन, जुन कुरा मैले राम्ररी अनुभव गरेको छु र प्रयोगमा पनि ल्याएको छु।

उसको यो जवाफ दार्शनिक प्रकारको लाग्यो मलाई र निकै अर्थपूर्ण लाग्यो तर मलाई पनि सबै शब्दहरुका अर्थहरू त कहाँ आउथ्यो र? तैपनि सक्दो प्रयास गरी अर्थ खोज्थें र उसलाई दिन्थें नढाँटी भन्नुपर्दा त्यही बहानामा कतिपय नयाँ कुराहरु सिक्ने मौका पनि मिल्यो मलाई।
हरेक दिन लामो कुरा हुन्छ हामी बाउछोराबीच।

आजकलका हाम्रो कुराकानीमा उसले पढेका गीताका एक एक अध्यायहरुको ब्याख्या गर्ने गर्छ मलाई। आफैले पढ्दा ध्यानकेन्द्रित गर्न नसकेको गीता छोराबाट सिक्दैछु आजकल। कतिपय कुराहरु अरु सबैलाई सिकाउदै हिड्ने म उसको कुरा सुन्दा भने चुप रहन्छु किनकि उसँग धेरै कुराहरु सिकिरहेको हुन्छु मैले।

उसको राम्रो बानी के छ भने जे मा लाग्छ निकै लगावका साथ लाग्छ। त्यसैले उसको अध्ययन गहन हुन्छ भन्ने मेरो विश्वास छ। हाम्रा बच्चाहरुमा हामीहरुमा भन्दा फरक र सृजनशील ज्ञान धेरै हुन्छ। त्यसलाई सुनेर सिक्ने प्रयास पनि गर्नुपर्छ हामीहरुले। हामीहरु धेरै जान्ने र उनीहरु कम जान्ने छन भनेर कहिल्यै पनि सोच्नु हुँदैन। उनीहरुबाट सिक्ने धेरै कुराहरु हुन्छन, जुन कुरा मैले राम्ररी अनुभव गरेको छु र प्रयोगमा पनि ल्याएको छु।

हामी बाउछोराबीच निकै तर्क बितर्क पनि हुन्छन् बेला बेलामा। उसले जानेका कुराहरुलाई अझै सहज र बिस्तृत अर्थ आउने गरी ब्याख्या गरिदिने प्रयास पनि गर्छु मैले। अझ भनौ उसको ज्ञानलाई अझै बढी तिखारिदिने प्रयास गर्छु मैले। मैले बोलिरहँदा उसले निकै ध्यान दिएर सुन्छ पनि। यस्तै कुरा भैरहँदा केही दिन पहिले उसले मलाई अचानक भन्यो, ‘बाबा एउटा कुरा भन्छु ध्यान दिएर सुन्नु है ..।’ मैले भने, ‘हुन्छ ल भन।’

“कतिपय मान्छेहरुले पद र पैसा आर्जन गर्न कति अन्याय, अत्याचार, बदमासी एवं अपराधजन्य कामहरु पनि गर्छन् र धेरै सम्पति र ठूला ठूला पदहरु आर्जन गर्न सफल पनि हुन्छन। तर आफू मारेर जाँदा भने आफूले आर्जन गरेको त्यो पद र पैसा यही छाडेर जान्छन भने आफूले पद र पैसा आर्जन गर्न गरेका सबै खराब कर्महरु भने आफैले लिएर जान्छन्।”

उसको यो कुरा सुनेर म अवाक भए ..। गीता दर्शनको एउटा महत्वपूर्ण कुरा हो यो उसले बुझेको । अनि अस्ति राती युट्यूबबाट एउटा भिडियो खोजेर मलाई पठायो र भन्यो, ‘राम्ररी हेर्नु ल बाबा, अनि त्यस बिषयमा भोलि कुरा गरौंला, अहिलेलाई शुभरात्रि पिताजी।’ कहिलेकाही के मुड चल्छ कुन्नि ‘पिताजी’ पनि भन्छ उसले। मैले हुन्छ म हेर्छु भने।

भिडियो पश्चिम बंगालको मायापुर भन्ने ठाउँमा अवस्थित गुरुकुलको रहेछ। जहाँ पश्चिमी देशका समेत धेरै बच्चाहरुलाई त्यहाँ पढ्न राखिएको रहेछ।

भोलिपल्ट भिडियोको कुरा हुँदा मलाई भन्यो, ‘बाबा गुरुकुल शिक्षा अझै पनि अस्तित्वमा रहेछ, मैले पनि भविष्यमा मेरा बच्चाहरुलाई गुरुकुलबाटै शिक्षा शुरु गर्ने सोच बनाएको छु। केही बर्ष गुरुकुलमा राखेर पढाएपश्चात मात्रै अन्य आधुनिक शिक्षाको लागि स्कुल पठाउँदा प्राप्त गर्ने शिक्षा मुल्यवान हुन्छ भन्ने मेरो विश्वास छ।

किनकि संस्कारबिनाको शिक्षामा धेरै पैसा कमाउन सक्ने प्रमाणपत्र त होला तर ब्यबहारिक जीवनमा भने त्यो शिक्षा अपूर्ण नै हुन्छ भन्ने मलाई लाग्छ।’ उसको गहन सोच देखेर मेरो छाती गर्वले निकै फराकिलो भयो।

(एक बर्ष पहिले कोरोनाले घरभित्रै सीमित पार्दाको बेलाको कुराकानीमा आधारित)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *