‘आफू संक्रमित हुँ भनेर अरुलाई सुरिक्षत राख्ने र सबैलाई संक्रमित ठानेर आफू सुरक्षित हुने’

तर्कबहादुर थापा
३ जेठ २०७८ ७:५२

काठमाडौं। नेपालमा कोरोनाको दोश्रो लहरले त्राहीत्राही गराएको छ। देशभरका ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। पछिल्ला दिनमा कोरोना संक्रमितको संख्यामा थोरै मात्रामा गिरावट आए पनि औषत पहिलो लहरको अत्याधिक संक्रमित भएको भन्दा अझै धेरै छ।

पहिलो लहरको पिक प्वाइन्टमा ४ हजार बढी संक्रमित २४ घण्टामा थपिएका थिए भने हाल घट्दै गर्दाको अवस्थामा पनि २४ घण्टामा ६ हजार बढी संक्रमित थपिँदै आएका छन्।

धुलिखेल अस्पताल, कम्युनिटी डिपार्टमेन्ट प्रमुख डा. दिपेश ताम्राकार नागरिक स्तरकै गल्तिबाट दोश्रो लहरको महामारी फैलिएको बताउँछन्।

‘राजनीतिक दलहरुले पनि दोश्रो लहर फैलाउनमा धेरै रोल प्ले गरेका छन्,’ डा. ताम्रकारले भने, ‘जनस्तरबाट पनि धेरै गल्तीहरु भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएका मापदण्डहरु कसैले पनि प्रयोग नगरेका कारण अहिलेको अवस्था आएका हो।’

कोरोना एक मानिसदेखि अर्को मानिसमा सिधै सर्ने भएकाले अंकमाल गर्ने, हात मिलाउने, हाछ्यूँ गर्दा मुख नछोप्ने, विवाह, पार्टी, घुमफिर आदीमा हुने जमघटका कारण पनि कोरोनाको दोश्रो लहरले आफूलाई छोटो समयमा विस्तार गर्न सकेको डा. ताम्राकारको भनाइ छ। उनले भने, ‘नयाँ वर्षको दिन साँगामा भएको झोलुङ्गे पुल हेर्नेको घुइँचोले पनि दोश्रो लहरको स्पष्ट नक्सा बनाएको थियो।’

सरकारले निषेधाज्ञा जारी गर्दासम्म पनि नागरिक स्तरबाट त्यसको राम्रोसँग पालना नभएको उनको बुझाइ छ। उनले नागरिकको तर्फबाट अझै पनि सचेत नभएको अवस्थामा तेश्रो लहर पनि आउनेमा कुनै आशंका नभएको बताए।

उनले भने, ‘दोश्रो लहर अलि कम हुन्छ। सरकारले निषेधाज्ञालाई खुकुलो बनाउँछ, खुकुलो नबनाउनुको विकल्प पनि हुँदैन। त्यस्तो बेलामा पुनः हामी नागरिकले कोरोनालाई बिर्सिन्छौं र तेश्रो लहर आउँछ।’

जति भयानक तरिकाले दोश्रो लहर अयो, त्यो भन्दा पनि भयानक तेश्रो लहर हुने उनको भनाइ छ। डा. ताम्राकार भन्छन्, ‘यदि हामीले तेश्रो लहरको सामना नगरौं भन्ने सोचेका छौं भने, आफू संक्रमित हुँ अरुलाई बचाउनु पर्छ र म बाहेकका सबै संक्रमित हुन म जोगिनु पर्छ भन्ने मनमा सधै लिनु पर्छ। सधैँ मास्क सेनिटाइजर, भौतिक दुरीलगायत स्वास्थ्यका मापदण्डहरु प्रयोग गर्नुको विकल्प छैन।’

पछिल्लो समय भएको अक्सिजनको हाहाकारका कारण पनि धेरै विरामीले ज्यान गुमाएका छन्। नेपालमा कोरोना संक्रमितको सबैभन्दा पहिलो ज्यान गुमाएको धुलिखेल अस्पतालले अहिले अक्सिजनसहितको राम्रो व्यवस्था गरेको डा. ताम्राकारको भनाइ छ।

ताम्रकारका अनुसार धुलिखेल अस्पतालमात्र नभएर त्यहाँ सञ्चालन गरिएका आइसोलेसन सेन्टरमा समेत अक्सिजनको व्यवस्था गरिएको छ। हरेक व्यक्तिको आइसोलेसन र अस्पताल आउने भनेको अन्तिम अवस्था हो। त्यो भन्दा पहिला घरमा पनि हरेकले कोरोनासँगको लडाइ लड्नु पर्छ।

डा. ताम्राकारले भने, ‘अस्पताल आउँनु भन्दा पहिला नै धेरै समय हरेक व्यक्तिले कोरोनासँग लडाइ गर्नु पर्छ। त्यो लडाइमा हार्ने स्थितिमा मात्र अस्पतालमा आउनु हुन्छ। त्यो अवस्था कतिपयको ढिलो पनि भइसकेको हुन्छ। अस्पताल आउन नै ढिला भएका कारण धेरै घटना सुन्न पाइन्छन्, अस्पतालको गेटमा नै ज्यान गयो, आदिआदि।’

उनका अनुसार अन्तिम अवस्थामा अस्पताल आउनु भन्दा पहिला नै सकेसम्म आफ्नो घरमा अक्सोभिटर राख्ने। हाम्रो शरिरमा अक्सिजनको मात्रा ९० भन्दा तल हुनेवित्तिकै अस्पताल आउने, वा नजिकको स्वास्थ्यसंस्था, आइसोलेसन सेन्टर वा डाक्टरलाई सम्पर्क गर्ने। त्यो भन्दा अझै कम भएर अस्पताल आउनु भयो भने गाह्रो हुन सक्छ।

नेपालमा पछिल्लो समय कोरोनाका विरामीहरुको मृत्यु हुनेदर बढ्दो क्रममा छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ५ हजार १ जनाको ज्यान गएको छ। गत २४ घण्टामा मात्र कोरोनाका कारण मृत्यु हुनेकोसंख्या १ सय ४५ थियो।

कोरोनाका १ लाख १० हजार २ सय ६३ सक्रिय संक्रमित रहेका छन् भने, हालसम्म ४ लाख ५५ हजार २० जनामा कोरोना पुष्टि भएको छ। ३ लाख ३९ हजार ७ सय ५६ जना निको भएर घर फिर्ता भएका छन् भने, गत २४ घण्टामा मात्र ६ हजार ६ सय ४८ जना निको भएर घर फिर्ता भएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *